• २०८१ असार १ शुक्रबार

नेपाल प्रज्ञा–प्रतिष्ठानमा तिज कार्यक्रम सम्पन्न

काठमाडौँ ।

आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो ।
यसअवसरका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले महिला सशक्तीकरण र मुक्तिसँग जोडेर तिज मनाउनु पर्दछ भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घका केन्द्रीय अध्यक्ष अमृता थापा मगरले ’तिज नारी स्वतन्त्रता र अधिकारसँग जोडिएको छ ।तिजको व्रत स्वास्थ्यका लागि उपयुुक्त छ । फेरिएको तिजलाई अन्धविश्वासबाट मुक्त गर्नुपर्ने छ । पुरुष सरह समानताको अधिकारसँग जोडिनुपर्छ । महिलाहरू श्रमसँग जोडिएर समाजवादी संस्कृतिमा पुग्नुपर्छ । अबका तिजहरू महिला हिंसा र सामन्तवादी संस्कृतिविरुद्ध उभिनुपर्छ’ भन्नुभयो ।

यसैगरी कार्यक्रमका अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष माणिरत्न श्रेष्ठले पुरुष र महिला दुवै समान हुन । एकसाथ आँटिलो र दरिलो भएर परिवर्तनको सन्देश दिने गरी तिज मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का अतथि प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले’उपभोक्तावादी संस्कृतिका कारण तिजमा देखिएका विकृतिलाई हटाउँदै न्याय र समताका लागि यस पर्वलाई आत्मसात् गर्नुपर्दछ’ भन्नुभयो ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले ’तिज परम्परागत संस्कृति हो । तिज पनि समय सापेक्ष रूपान्तरित हुँदै छ ।यसलाई सबैले आत्मसात् गर्नुपर्दछ’ भन्नुभयो ।

यस्तै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले ’तिज किसान र खेतिपातीसँग पनि जोडिएको छ । प्राकृतिक र पारिवारिक प्रभाव तिजमा परेको छ । तिज नारी स्वतन्त्रतासँग जोडिएको छ ।अबका तिज लगायतका चाँडपर्वहरूलाई समाजवादी संस्कृतिअनुरूप स्थापित गर्न सक्नुपर्छ’भन्नुभयो ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका कर्मचारी नानु सुवेदीले तिजका गीत र नृत्य प्रस्तुत गर्नुभयो । साथै प्राज्ञलगायत कार्यक्रममा उपस्थित व्यक्तिहरूको तिज गीत गायन र नृत्य भव्य रह्यो ।

यसैगरी आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा भएको तीज कार्यक्रमको स्वागत मनतव्य उपाध्यक्ष महेश्वर थापाले र उद्घोषण युनियनका सचिव रामकुमार बोहराले गर्नुभयो ।