• २०८१ कातिर्क ३० शुक्रबार

बबरसिंह देवकुमारी थापा सेवा गुठीद्वारा श्रेष्ठ र राईलाई सम्मान

बबरसिंह देवकुमारी थापा सेवा गुठीले स्रष्टाहरुलाई सम्मान गरेको छ । वि. स. २०७९को देवकुमारी थापा स्मृति सम्मान वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र सोही वर्षको बबरसिंह थापा स्मृति सम्मान संगीतकार एवम् संगीत प्रशिक्षक कुशेश्वर राईलाई विराटनगरमा आयोजित एक विशेष समारोहमा प्रदान गरिएको छ । बबरसिंह देवकुमारी थापा सेवा गुठीद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उक्त सम्मान प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथिलगायतका विशिष्ट अतिथिहरूले ‘देवकुमारी थापाका कथाहरू’ कृतिको विमोचन पनि गर्नुभएको थियो । सो कृतिमा देवकुमारी थापाका प्रकाशित सबै कथासङ्ग्रहमा रहेका ७२ र पत्रपत्रिकामा प्रकाशित ३ गरी ७५ वटा कथा रहेका छन् । कृति भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री बुद्धिकुमार राजभण्डारीले साहित्यले राजनीतिलाई पथ प्रदर्शन गर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार संस्थासँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष कविराज न्यौपानेले देवकुमारी थापाका कथाहरू नेपाली साहित्यका महत्त्वपूर्ण प्राप्ति भए पनि उहाँबारे अझै थुप्रै कुरा लेख्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

सम्मानित वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले आफूले नेपालको राष्ट्रिय झन्डाबारे धेरै पहिले अनुसन्धानमूलक ग्रन्थ लेखेको बताउँदै अब बाँकी २० वर्षको आयुमा खुकुरी र सगरमाथाबारे अनुसन्धानमूलक ग्रन्थ तयार गर्ने र सो काम थालिसकेको बताउनुभयो । अर्का सम्मानित प्रतिभा कुशेश्वर राईले आफ्नो सङ्गीत यात्राबारे चर्चा गर्दै शास्त्रीय सङ्गीतको महत्त्वबारे प्रकाश पार्नुभयो ।

देवकुमारी थापाका कथाहरूको सम्पादक एवम् साहित्यकार प्रमोद प्रधानले नयाँ पुस्ताका लेखक एवम् युवाहरूले पढ्न पाऊन् भन्ने उद्देश्यले विशिष्ट कथाकार देवकुमारी थापाका कथाहरूको सङ्ग्रह प्रकाशन गरिएको स्पष्ट पार्नुभयो । संस्थाका सचिव दिनेश श्रेष्ठले संस्थाका गतिविधिहरूबारे प्रकाश पार्दै आगामी दिनमा पनि संस्थाबाट सिर्जनात्मक काम गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा समालोचक दधिराज सुवेदीले देवकुमारी थापासँगका संस्मरण प्रस्तुत गर्नुभयो । सो अवसरमा कोषाध्यक्ष हरिमोहन श्रेष्ठ र सदस्य शोभन नेपालले पनि बोल्नुभएको थियो ।