समाचार
काठमाडौं ।
प्रगतिशील लेखक संघ (प्रलेस) नेपालले पहिलो ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार, २०८३’ बाट रमेश विकललाई पुरस्कृत गरेको छ । नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पु¥याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ । आइतबार काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा वक्ताहरूले राजनीतिक जवाफदेहिता, सामाजिक न्याय, रूपान्तरण र समावेशी लोकतन्त्रका पक्षमा शक्ति लम्सालको उल्लेखनीय योगदान रहेको चर्चा गरे । उनीहरूले आदर्श र त्यागलाई राजनीतिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शक्ति लम्सालले नागरिक स्वतन्त्रता र देश विकासका पक्षमा कसैसँग सम्झौता नगरेको बताए । नेपाली नागरिकको हित र सार्वभौमसत्ताका सवालमा लम्साल सदैव अविचलित रहेको उनले उल्लेख गरे । खनालले समाजमा राजनीतिक विविधताको सम्मान हुनुपर्ने तथा राजनीतिक दर्शन, विचार र कार्यदिशाका विषयमा बहस निरन्तर चल्नुपर्ने बताए । निषेधको राजनीतिले नेपाली समाजलाई हित नगर्ने भन्दै उनले देशको हितलाई केन्द्रमा राखेर खुला विचार विश्लेषणको प्रवाह बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री देव गुरुङले विषम परिस्थितिमा समेत नेपाली राजनीतिमा न्याय, समानता र विकासका पक्षमा शक्ति लम्सालको अडान अविचलित रहेको बताए । लम्सालका विचार तथा योगदानको स्मरण गर्दै उनले राजनीतिकर्मीहरू सिद्धान्त र विचारको राजनीति गर्न लम्सालले देखाएको बाटोमा लाग्नुपर्ने बताए । लेखक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यिक र न्यायिक योगदानको कहिल्यै मृत्यु नहुने बताए । वामपन्थी धारका लेखक तथा विश्लेषक भए पनि शक्ति लम्साल अहिंसाका पक्षपाती रहेको र नेपालमा सामाजिक रूपान्तरणका लागि आजीवन लागिपरेको उनले उल्लेख गरे ।
वामपन्थी पत्रकार तथा विश्लेषक महेश्वर दाहालले नेपालको वामपन्थी आन्दोलन र राजनीतिमा शक्ति लम्साललाई सत्पात्रका रूपमा नेपाली समाजले लामो समयसम्म स्मरण गर्ने बताए । उच्च सेन्सरसीपको समयमा समेत लम्सालले कसैको दबाब र प्रभावमा नपरी निष्ठा, विचार र अडानको पत्रकारिता गरेको उनले बताए । आज देशमा अभ्यास भइरहेको स्वतन्त्र पत्रकारिता तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता शक्ति लम्सालजस्ता व्यक्तिहरूको त्याग र योगदानको परिणाम भएको उनले उल्लेख गरे ।
“शक्ति लम्सालको आदर्श र त्यागलाई नेपाली राजनीतिको संस्कार बनाउन र नयाँ पुस्तासँग समेत जोडेर लैजान सबै राजनीतिक दल तथा राजनीतिकर्मीको दायित्व रहेको छ,” उनले भने । कार्यक्रममा लेखक तथा विश्लेषक हिरण्यलाल श्रेष्ठ, वामपन्थी राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्वसांसद एवं राजनीतिकर्मी नारायण शर्मा, लम्सालकी धर्मपत्नी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्साल तथा पत्रकार एवं विश्लेषक अशोक सुवेदीलगायतले जवाफदेही राजनीति, सामाजिक रूपान्तरण र परिवर्तनका पक्षमा लेखक तथा विश्लेषकहरूले आज पनि निडर भएर कलम चलाउनुपर्ने बताए ।
प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १०० रुपैयाँ रहेको छ । स्वर्गीय शक्ति लम्सालको स्मृतिमा प्रगतिशील लेखक संघ, नेपालले प्रत्येक वर्ष पुरस्कार प्रदान गर्नेछ । वामपन्थी पत्रकार तथा विश्लेषक शक्ति लम्सालले लोकतन्त्र प्राप्तिको आन्दोलनका क्रममा पटकपटक जेलनेल भोगेका थिए । उनको २०७२ साल कात्तिकमा निधन भएको थियो ।
