• २०८३ मंसिर १०, बुधबार

पण्डित बुद्धिराज लामिछानेको स्मृतिमा तीनवटा पुस्तक लोकार्पण

काठमाडौं ।

स्वर्गीय पण्डित बुद्धिराज लामिछानेको स्मृतिमा तीनवटा पुस्तक लोकार्पण गरिएका छन् । सुमित्रादेवी लामिछाने तथा लामिछाने परिवारको आयोजनामा मङ्सिर ६ गते आइतबार काठमाडौंस्थित बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित स्मृतिविशेष समारोहमा तीन कृति सार्वजनिक गरिएको हो । समाजसेवी तथा शिक्षासेवी माधवप्रसाद लामिछानेको सभापतित्व तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’, ‘स्मृतिका प्रतिविम्बमा पण्डित बुद्धिराज लामिछाने’ र ‘बाका वाणी’ लोकार्पण गरिएका हुन् । तीमध्ये ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ तथा ‘बाका वाणी’ का स्रष्टा डा. मधुसूदन लामिछाने हुन् । ‘स्मृतिका प्रतिविम्बमा पण्डित बुद्धिराज लामिछाने’ स्मृतिग्रन्थ पनि डा. लामिछानेसहित विभिन्न व्यक्तित्वको सम्पादन तथा सहयोगमा तयार पारिएको हो ।

कार्यक्रमको प्रारम्भमा स्वर्गीय बुद्धिराज लामिछानेका सुपुत्र विष्णुप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसपछि प्रमुख अतिथिलगायत मञ्चासीन विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा तीनवटै कृति लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा रत्नराज्य माध्यमिक विद्यालयकी पूर्वप्राचार्य डा. गीता शिवाकोटी खरेलले पण्डित बुद्धिराज लामिछानेको व्यक्तित्व र उहाँका सन्तानमा प्रतिविम्बित असल संस्कारबारे चर्चा गर्दै समारोह सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै प्रा. रामहरि दाहालले भक्ति, ज्ञान र वैराग्यको त्रिवेणीका रूपमा रहेको भागवतका पात्र तथा तिनका सन्देशलाई डा. लामिछानेको कृतिले समुचित रूपमा व्याख्या गरेको बताउनुभयो । उहाँले अनासक्त कर्मको अभ्यास र अनात्माको त्याग गरी परमात्मालाई आत्मसात् गर्नुपर्ने शास्त्रीय सन्देशबारे पनि चर्चा गर्नुभयो । त्यसैगरी प्रा. केशव सुवेदीले ९४ वर्षको उमेरमा दिवङ्गत भएका पण्डित बुद्धिराज लामिछानेको स्मृतिमा तयार पारिएको ग्रन्थले सल्यानको दमाचौर र जुगार क्षेत्रमा शिक्षाको ज्योति फैलाउने व्यक्तित्वलाई उजागर गरेको बताउनुभयो । स्मृतिग्रन्थमा उहाँको जीवनका प्रारम्भिक २५ वर्षका स्मृतिहरू पनि समेट्न सकेको भए पूर्ण जीवनवृत्त बन्ने उहाँको सुझाव थियो ।

प्रा. डा. मुकुन्दप्रसाद लामिछानेले ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ माथि टिप्पणी गर्दै भागवतका पात्रहरूमाथि विमर्श गरिएको यो पहिलो ग्रन्थ भएको बताउनुभयो । यसले आध्यात्मिक भावबोध र मोक्षको मार्गबारे पाठकलाई मार्गदर्शन गर्ने उहाँको भनाइ थियो ।

कवि प्रह्लाद पोखरेलले ‘बाका वाणी’ स्मृतिकाव्यमाथि काव्यात्मक समीक्षा प्रस्तुत गर्दै मातापिताको सेवा नै सन्तानको तपस्या भएको सन्देश कृतिले दिएको बताउनुभयो । कार्यक्रममा बालकवि आर्या घिमिरेले काव्यका केही श्लोक वाचन गर्नुभएको थियो । आफ्ना कृतिको रचनागर्भबारे जानकारी दिँदै डा. मधुसूदन लामिछानेले वृद्ध मातापिता र श्रीमती कोरोना सङ्क्रमित भएको समयमा प्रा. वेणीमाधव गुरुको प्रेरणाबाट भागवत अध्ययन सुरु गरेको र त्यसैको परिणामस्वरूप ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ तयार भएको बताउनुभयो ।

पिताको निधनपछि काजक्रियाका क्रममा बहिनी बुनु लामिछाने तथा कवि प्रह्लाद पोखरेलको हौसला र आमाको आशीर्वादबाट ‘बाका वाणी’ तयार भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी छ महिनाको मासिकपछि दाङबाट प्राप्त दाजुको प्रस्तावअनुसार परिवारका सदस्य तथा आफन्तहरूको सहयोगमा विभिन्न स्मृतिलेख सङ्कलन गरी स्मृतिग्रन्थ प्रकाशन गर्न सम्भव भएको उहाँले बताउनुभयो । सो अवसरमा उहाँले ‘बाका वाणी’ का २६औँ र २७औँ श्लोकसमेत वाचन गर्नुभएको थियो । कार्यक्रममा पण्डित बुद्धिराज लामिछानेको जीवन र व्यक्तित्वमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले आफ्नो मन्तव्यका क्रममा विद्या, अविद्या र कुविद्या तथा पात्र, सुपात्र र कुपात्रका सन्दर्भ प्रस्तुत गर्नुभयो । सुपात्रमा परेको शिक्षाले समाजलाई सही मार्गदर्शन गर्ने तर कुपात्रमा परेको शिक्षाले विघ्न निम्त्याउने उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख अतिथिले लेखक तथा स्रष्टाहरूलाई रुद्राक्षको माला र पुस्तक प्रदान गरी सम्मान गर्नुभएको थियो ।

समारोहमा प्रा. डा. केदार न्यौपाने, डा. शैलेन्दुकुमार नेपाल, प्रा. महेश्वर न्यौपाने, भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्याल, प्रा. ध्रुवकुमार न्यौपाने, साहित्यकार बुनु लामिछाने, डा. गीता खरेल, सुधा न्यौपाने, सुधीरकुमार रिजाल, शशिविक्रम राणा र कुलप्रसाद पराजुलीलगायत साहित्यकार, शिक्षासेवी, समाजसेवी तथा परिवारका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन स्वर्गीय बुद्धिराज लामिछानेका सुपुत्र नारायण लामिछानेले गर्नुभएको थियो । अन्त्यमा ज्येष्ठ सुपुत्र वासुदेव लामिछानेले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेपछि सभापति माधवप्रसाद लामिछानेले कार्यक्रम समापन गर्नुभएको थियो ।