हिउँदको गाउँ
देखिन्छ, रङ उडेको सिम्रिकझैँ ।
हिउँदमा जब पुग्छु म गाउँ-
कुनै सिकारू सङ्गीत- सर्जकले
हावा कम तान्ने प्राचीन हार्मोनियममा
आफ्ना औँलाहरू चलाएर
नयाँ धुन निकाल्न मग्न भइरहेझैँ लाग्छ-
कहीँ हराएजस्तो
कहीँ चलमलाएजस्तो ।
पूरै सुस्ताएका हुन्छन् हिउँदमा
गाउँका डगरहरू पनि,
न कुनै ढुङ्गाले अभिवादनमा हात उठाउँछन्
न मुस्कुराउँछन्
बैँस निख्रिँदै गएका वनस्पतिका ओठहरू
फूलहरू त देखिन्छन्-
नाट्यशालामा थुनिएकी नर्तकीझैँ
शतप्रतिशत उदास ।
चिसा रातहरूमा
कुनै पूर्वसूचना नदिई
आकाशबाट एकोहोरो खस्ने
शीतका थोपाहरू ओढेर
गाढा निद्रामा सपनाका
अनगिन्ती रङ्गीन विम्बहरूसँग खेल्ने
हिउँदको गाउँ
तन्मयतापूर्वक प्रतीक्षा गरिरहेछन्-
न्याना स्वप्नहरू
न्याना अपेक्षाहरू
न्याना- न्याना रहरहरू ।
अबोध लाग्छ मलाई हिउँदको गाउँ-
कुनै नवजात शिशुले
पोखिरहेको सहज मुस्कानजस्तै ।
(वस्ती चर्चित साहित्यकार हुन्)
[email protected]