• २०८३ मंसिर ९, मंगलवार

साहित्य शृङ्खलाको २९०औँ शृङ्खला सम्पन्न

पोखरा, मङ्सिर ५ ।

जनगायक खुसीराम पाख्रिनको नवौँ स्मृति तथा साहित्य शृङ्खलाका पूर्वउपाध्यक्ष एवं ‘आलोक शृङ्खला’का सम्पादक ताराप्रसाद तिम्सिनाको पहिलो स्मृतिमा साहित्य शृङ्खला, पोखराको २९०औँ नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रममा दुवै स्रष्टाको साहित्यिक तथा सांस्कृतिक योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जनगायक पाख्रिनको सङ्गीतमा रहेको ‘कालो वनको बिचैमा’ गीत सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले र सचिव विकास लुङ्गेलीले प्रस्तुत गरेर कार्यक्रमको सुरुआत गरेका थिए। सोही अवसरमा शृङ्खलाका सल्लाहकार नारायण परिश्रमीले तिम्सिनाको स्मृतिमा रचना गरेको गीतसमेत सुनाएका थिए ।

कार्यक्रममा शृङ्खलाका सल्लाहकार डा. कृष्णराज अधिकारीले प्रगतिशील लेखक सङ्घ, गण्डकी साहित्य सङ्गम र साहित्य शृङ्खलाको संयुक्त कार्यक्रम गर्ने साझा थलोका रूपमा संस्थाको स्थापना भएको स्मरण गर्दै समयअनुकूल कार्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे। अर्का सल्लाहकार यादवराज उपाध्यायले पाख्रिन र तिम्सिनाको योगदानको चर्चा गर्दै शृङ्खलाले निरन्तर उचाइ हासिल गर्दै गएकोमा खुसी व्यक्त गरे। उनले प्रगतिशील विचारधारामा कुनै सम्झौता गर्न नसकिने बताए । गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले जनगायक पाख्रिनको जीवनदर्शनबारे चर्चा गरेका थिए । ‘आलोक शृङ्खला’का सम्पादक निर्मल सापकोटाले शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतमको ‘भवानी’ खण्डकाव्यमाथि सङ्क्षिप्त परिचर्चा गर्दै लघुकथा सुनाएका थिए ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बराल, जनगायक पद्मराज ढकाल, गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावी, प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष छवि सुवेदी ‘विजयी’, गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारी, प्राज्ञ गायत्री पराजुली, शृङ्खलाकी पूर्वअध्यक्ष लक्ष्मी थापालगायत विजया सुवेदी ‘उदासी’, सुरज उपाध्याय, लोचना अधिकारी, जमुना कायस्थ, तेजनारायण अधिकारी, छविलाल आचार्य, विद्याविमल बराल र गीता तिवारीले आआफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा प्राज्ञ नारायण मरासिनी, कलाकार यादवचन्द्र भुर्तेल, रामजी थापा र लक्ष्मीप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।

शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’को अध्यक्षता तथा सचिव काजी गाउँलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव गाउँलेले संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार नियमित रचना वाचन कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।