• २०८१ पौष २८ आइतबार

कोभिडको भोक र जीवनका सुन्दरताहरू

मुकुल दाहाल

मुकुल दाहाल

कोभिडले कान पक्रेर संसारलाई
उठबस गराइरहेको वेला
किन सुतिरहेछौ तिमी ?

यति बुझिराख कि
कोभिड हिमालका हिउँ पग्लेजसरी
बग्दै झरेको हैन बेँसीतिर
या पहाडी झरनाजसरी
बगेर आइपुगेको हैन तराईतिर

यो त यमराजसँगको
विशेष भेटघाटपछि निस्केको हो
ठूलै झोला बोकी आएको छ,
ठूलै भोक लिई आएको छ

मान्छेकै बस्ती खोजिहिँडेको
सिकारीलाई चिनेनौ तिमीले ?

हामी मानिसहरू त यति आत्मकेन्द्रित भएछौँ कि
यो सिकारी आई
हाम्रै आफन्तहरूलाई भटाभट ढाल्दा पनि
हामी आफैँ एकअर्काको घाँटी
अँठ्याइरहेका थियौँ
एकअर्कालाई थिचिबसेका थियौँ

त्यसैले बारीमा
बाक्लै उम्रिएका मकैका बिरुवाहरू
छाँटेजसरी हामीलाई छाँट्न आएको रहेछ कि कोभिड ?

पाखातिर रोपेका स्याउ र नास्पतीका बिरुवाहरूजस्तो
हामीलाई एउटा दूरीमा राख्न आएको रहेछ कि कोभिड ?

चुपचाप छ तर बजिरहेछ यसको आदेश
–प्रेम गर परपरैबाट
–सम्भोग गरपरपरैबाट
–चुम्बन गर अझ परैबाट

देख्नेहरूले देखिसके उसले भिरेको झोला
देख्नेहरूले देखिसके उसले भरिरहेको झोला

सुनेर कोभिडको स्वर
सन्तमान परैबाट हेरिरहेछ चिनमायाको
नाचिरहेको फरियाको फेर
ठाकुरदास परैबाट सुनिरहेछ देवकीको
पयरमा बजेको प्रेमको घुँगुरू
सुन्तली परैबाट सुनिरहिछे
हर्कबहादुरका चप्पल पड्कँदा
बजेको उसको नाम

कोभिडले आफ्नो झोला भरिरहँदा
विश्वकै धड्कन धिमा भएको छ

आवाजभन्दा तेज उड्ने जेटहरू
घाम तापेर बसिरहेछन्
जेट बनाउने दिमागहरू
हात धुँदै दिन काटिरहेछन्

तिमी दूरको यात्रामा निस्कने कुरा नगर यो वेला
किनभने जीवन र अस्तित्व जोगाइराख्ने
जिम्मामा छौ तिमी
तिमीले आफ्ना प्यारा वृद्ध बाबु–आमाहरूलाई
जोगाउनु छ कोभिडबाट
हजुरबा हजुरआमाहरूका
सेता आँखीभौँमुन्तिर
खुलिरहने आँखाहरूले देखेका कथाहरू जोगाउनु छ
धर्तीभरिका बालकहरूले
माटो खेलाइरहने हातहरू जोगाउनु छ

कोभिड कहिले फर्केर जाला त्यो उसकै कुरा भयो
तर तिमी र म नै हौँ
जो मिलेर उसको भोकलाई भुत्ते बनाउन सक्छौँ
उसको झोला खोसेर माटोमुनि गाडिदिन सक्छौँ

तिमी र म नै हौँ
जो मिलेर जीवनका सुन्दरताहरू
र समग्र अर्थहरू जोगाउन सक्छौँ ।

…………………………………………
( हाल स्कटल्यान्ड, बेलायत )
[email protected]