• २०८१ बैशाख ७ शुक्रबार

(त्रिवि)को विस्तृत इतिहास वृत्तचित्र ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ सार्वजनिक

काठमाडौँ ।

नेपालको जेठो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को विस्तृत इतिहास वृत्तचित्र सार्वजनिक भएको छ । एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ । डकुमेन्ट्री २९ मिनेटको छ । एडुसञ्जालका व्यवस्थापक तथा डकुमेन्ट्रीका निर्देशक दिपेश आचार्यले नेपालको शैक्षिक इतिहासलाई सूचना प्रविधिसँग जोड्ने काम भएको बताए । किताब पढ्नेभन्दा सूचना प्रविधिको प्रयोग गरेर इतिहास जानकारी पाउने युग भएकाले वृत्तचित्र निर्माण गरिएको उनले बताए । ‘शैक्षिक इतिहासका लागि धेरैवटा किताब पल्ट्याइ रहनुभन्दा एउटै डकुमेन्ट्रीबाट त्रिभुवन विश्वविद्यालयको इतिहास तयार गरिएको छ,’ उनले भने ।

वृत्तचित्रमा समेटिएको अभिलेखअनुसार राणाकालमै विश्वविद्यालय स्थापनाको प्रयास भएको थियो । राणाशासन सकियो, प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र प्राप्तिको केही कालसम्म विश्वविद्यालय स्थापनाको विषय अगाडि बढ्न सकेन । अमेरिकाको ओरेगन विश्वविद्यालयको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा सुधारको प्रयास अगाडि बढाइयो । सोही सन्दर्भमा विश्वविद्यालय स्थापनाको कुरा अगाडि बढ्यो ।

नेपालको पहिलो शिक्षा आयोगले विश्वविद्यालय स्थापनाका लागि सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो । आयोगका अध्यक्ष सरदार रुद्रराज पाँडे थिए । तत्कालीन राजा त्रिभुवनको निधन भएपछि उनको नाम चिर सम्झनाका लागि विश्वविद्यालय स्थापनाको घोषणा गरियो । त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले गरेको घोषणाअनुरुप २०१३ सालमा कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थाना गर्ने निर्णय भयो । तत्कालीन शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा गठित समितिले कीर्तिपुर उपयुक्त ठान्यो । २०१६ सालमा त्रिवि ऐन जारी भएपछि सोही मितिलाई त्रिवि स्थापना समय मानिँदैन आएको छ ।

त्रिवि स्थापनाका सन्दर्भमा भएका केही महत्वपूर्ण घटनालाई समेट्ने प्रयास भएको र त्यसमा प्रयोग गरिएका अधिकांश तस्बिर हालसम्म सार्वजनिक नभएको दाबी गरिएको छ । महेन्द्र विद्याभूषण पाउने पहिलो विद्यार्थी, विद्यार्थी युनियनका पहिलो अध्यक्ष आदिका अन्तर्वार्तासमेत रहेका छन् । वृत्तचित्रमा त्रिविको हालसम्मको अवस्थालाई समावेश गरिएको छ । अहिले त्रिविको नौ वटा संकाय र संस्थान, चार वटा अनुसन्धान केन्द्र छन् । यसका ४० वटा केन्द्रीय विभाग, ६२ वटा आंगीक क्याम्पस र एक हजार ६२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यस विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत भार यसै विश्वविद्यालयले थेग्दै आएको छ ।