• २०८१ श्रावाण ११ शुक्रबार

रेखा

श्याम न्यौपाने

श्याम न्यौपाने

रसालस
सुन्तलाको दाना फोरेर
बालकले केस्रा-केस्रा छुट्याएझैं
मानिसहरूले
एउटै धर्तीलाई टुक्र्याएका छन्
धर्तीका केस्रा-केस्रा छुट्याएका छन्
बालकले
रसले लबालब भरिएको केस्राबाट
रस लथालिङ्ग बनाएझैं
मानिसहरूले
एउटै धर्तीलाई
एउटै संसारलाई
एउटै साझा घरलाई
देश, परदेशमा बाँडेका छन्

पिञ्जरामा बन्द चरीझैं
देशको सीमारेखामा
बन्द छन्, मानिसहरू
धर्मको सीमारेखामा
कैद छन्, मानिसहरू
राजनीतिकवादको रेखाभित्र
कैद छन्, मानिसहरू
गँजडी गाँजाको नशामा लट्ठिएर एकोहोरिएझैं
एकोहोरिएका छन्, मानिसहरू
अनेकवादमा
अहँ, उनीहरू मान्दैनन्
वादको लक्ष्मणरेखा उल्लङ्घन गर्न

वादका अन्धभक्तहरू
न्याउरीमुसो
मालिकको जति नै भक्त भएपनि
मालिकप्रति जति नै इमान्दार भएपनि
आखिर उसले
आफ्नै मालिकबाट
मारिनुपर्छ, बुझ्दैनन्

मानिसहरू मध्येकै
एकथरी छट्टुहरू
मानिस-मानिसमा
जात, धर्म र रङको
विभेद रेखा कोरेर
राजनीतिको नाउँमा
बेथिति सिर्जना गरेका छन्
सजातीय विपन्न बन्धुहरूलाई पछारेर
हरेक काममा
धुर्तहरू अगाडि सरेका छन्

सामर्थ्यवान् ठानिएकाहरू
शासक बनेका छन्
सामथ्र्यहीनहरू
शासित छन्
बीचमा विभाजनको
अदृश्य रेखा कोरिएको छ


श्याम न्यौपाने
[email protected]