• २०८१ पौष २९ सोमबार

हाम्रो राम्रो नेपालमाझ

बाबुराम श्रेष्ठ ‘यात्री’

बाबुराम श्रेष्ठ ‘यात्री’

सपनै सपनाहरूको नीलो आकाश बन्छ
कहाँ हो, कहाँ जस्तै लाग्ने
मनले एकनास बिस्कुन सुकाउँछ
त्यो पारिलो- भरिलो घाममा
यी रहरहरू
कुनै एउटा सपनाको शिखर चुम्न
के रात के दिन गनिरहन्छ
सपना देखाइदिएको छ यहाँ कसैकसैले
अरूलाई भुलाएर आफ्नो माना भर्नेहरू
अरूलाई झुक्याएर- छक्याएर आफ्नो जिन्दगी सपार्नेहरू
म पनि यो चङ्गुलमा फसेको छु
कोही आऊ र उतारिदेऊ
हाम्रो राम्रो नेपालमा ।

हेर !
मेरो कोठाहरू रङ्गीन- रङ्गीन
टेबुल भरिभराउ
ओछ्यान- ओछ्यानमा सिरानी कापी, कलम, किताब छरपस्ट
मेरै रूप हेर  !
चुस्स दारी, ख्यौटे शरीर, दुब्लो अनुहार
म पाजी
कसले गन्छ र  !
दिनहरू यसरी बिताइ रहेछु
हालखबरहरू छोटकरिमा दिइरहेछु
एकएक पैसा हिसाब गरेर महँगीमा
बीउ जोहो गरिरहेछु
आमा- बा जगिर खा भन्नुहुन्छ
इष्टमित्र केही गरेन भन्नुहुन्छ
पढ्दै छु भन्छु म
भोलि- भोलि भन्दै दिन गनाउछु- ढाँटेर
आखिर कतिन्जेल चल्छ यसरी ?
आभावले मलाई थिचिरहेछ
सेवा आयोगले मलाई लडाइ रहेछ
यो हिसाब- किताब कसले गर्ने ?
क्षतिपूर्ति कसले बेहोर्ने  ?
हाम्रो राम्रो नेपालमा ।

पढ्न बसे
देशको भूगोल घुमिरहन्छ
परिस्थिति बदलिरहन्छ
राजनीति चलिरहन्छ
अभाव नाचिरहन्छ
कुकर्म बढिरहन्छ
छियाछिया मन
कसरी बाँधिरहनु….
बिचरो ! मजस्ता किताबी- कीरोहरू
भूतहरू पढेर भविष्य जमाउँछु भन्छ
तीन घन्टामा बजारको सबै किताब ओकेल्नु भन्छ
टाउकाका रौँ  झारेर भाग्यमानी बन्नु भन्छ
आसहरूमा आस थोपर्दै
सगरमाथाको उचाइ र समुद्रको गहिराइ नाप्छु भन्छ
लोकसेवा पास गरेर
लोकको मान्छे बन्छु भन्छ
हाम्रो राम्रो नेपालमा ।

तर लोकसेवाहरू हामी र हामी जस्तालाई चिन्दैनन्
झुक्याएर कसरी लडाउने
बढीभन्दा बढी कसरी राजस्व उठाउने
बजारका किताब कसरी बिकाउने
बजारका सेन्टरहरू कसरी मालामाल बनाउने
र अन्त्यमा
सर्टिफिकेट सिरानीमा राखेर
बेरोजगारीहरू खडा गरेर
विदेशका भिसा लगाइदिने सोच्छन्
हाम्रो राम्रो नेपालमा।


(पेशाले शिक्षक मरिण, सिन्धुलीनिवासी यात्री विगत एक दशकभन्दा लामो समयदेखि सिर्जनाफाँटमा कलम चलाउँदै आएका स्रष्टा हुन् । उनको ‘देश स्वप्न’ कविता-सङ्ग्रह प्रकाशित छ ।)
[email protected]