• २०८३ मंसिर ४, बिहीबार

नारी स्रष्टा समाज नेपालद्वारा ११ स्रष्टालाई सम्मानित

विराटनगर ।

नारी स्रष्टा समाज नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका ११ जना स्रष्टालाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा महिला र पुरुष स्रष्टालाई छुट्टाछुट्टै विधामा सम्मान प्रदान गरिएको हो । संस्थाले महिला स्रष्टातर्फ करुणा जोशी, तीला लेकाली, कविता केशरी, मञ्जु घिमिरे दाहाल, हीरा खड्का अधिकारी र शारदा भट्टराईलाई सम्मान गरेको छ । त्यस्तै पुरुष स्रष्टातर्फ रामचन्द्र महतो कुसवाहा, गोपाल निर्भीक, स्वयम्भूनाथ कार्की, गोपाल प्रयास श्रेष्ठ र शरद प्रधानाङ्ग सम्मानित भएका छन् ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार शंकर खरेलको पुस्तक ‘नरिसाउनुहोस् है’ उत्कृष्ट घोषित भएको छ । उक्त कृतिका लागि खरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ । त्यसैगरी रमेन्द्र कोइराला र केशु विरहीका पुस्तकले समेत सम्मान प्राप्त गरेका छन् । कवि विधान आचार्यलाई मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार, कवि हेमन्ती जोशीलाई कविराज स्रष्टा सम्मान तथा पुरस्कार, कथाकार लोचन रिजाललाई पारस काफ्ले स्रष्टा सम्मान पुरस्कार र बालकवि सफलता फुयललाई कालीगङ्गा बालसाहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको छ ।

संस्थाकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल प्रमुख अतिथि तथा देवी पन्थी, साहित्यकार गंगा सुवेदी र लक्ष्मी उप्रेती विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पुरस्कारका संस्थापक र अतिथिहरूले संयुक्त रूपमा स्रष्टालाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए । साहित्य सिर्जना, लेखन र सामाजिक योगदानमार्फत नेपाली साहित्यलाई समृद्ध बनाउन सक्रिय स्रष्टाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको    हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित सम्मान कार्यक्रमले महिला तथा पुरुष स्रष्टाको सिर्जनात्मक योगदानलाई एउटै मञ्चमा जोड्नुका साथै साहित्यिक गतिविधि र नयाँ पुस्ताको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने सन्देश दिएको   छ ।