समाचार
काठमाडौँ ।
११८ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा लक्ष्मीपूजाको अवसर पारेर ‘हिमालको आवाज’ पुस्तक लोकार्पण गरिएको छ । कार्तिक २२ गते आइतबार अमेरिकी पूर्वीय समयअनुसार बिहान ९ बजे जुममार्फत आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।
वाङ्मय विमर्श तथा साहित्य संवादले २०८३ भदौ १० गते भोटेकोशी क्षेत्रमा भएको विनाशबाट उत्पन्न शोक, पीडा, बिछोड र वेदनालाई समेटेर पुस्तक प्रकाशन गरेको हो । प्राकृतिक विपत्तिका क्रममा सिर्जना गरिएका रचनाहरूको सङ्ग्रहका रूपमा पुस्तक प्रकाशित गरिएको आयोजकले जनाएको छ ।
वरिष्ठ समालोचक प्राध्यापक डा. खेमनाथ दाहालको प्रमुख आतिथ्य तथा वाङ्मय विमर्शका सुरेन उप्रेतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. ध्रुव कार्की, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. कृष्ण न्यौपाने यात्रामा रहेका कारण कार्यक्रममा उपस्थित हुन नसके पनि सामाजिक सञ्जालमार्फत प्रत्यक्ष हेरिरहेको जानकारी गराइएको थियो ।
देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष तथा देवकोटा परिवारकी सदस्य मञ्जिला अनिलले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले देवकोटाको कवितांश प्रस्तुत गर्दै महाकविको साहित्यिक योगदानको चर्चा गर्नुभयो । प्राकृतिक विपत्तिका क्रममा साहित्यकारहरूले सिर्जना गरेका रचनाको सङ्ग्रह लोकार्पण हुनु ऐतिहासिक कार्य भएको उहाँको भनाइ थियो । त्यस अवसरमा कमला रिसालले देवकोटाको गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूले पुस्तक प्रदर्शन गरेर सामूहिक रूपमा लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि डा. गीता त्रिपाठी र डा. रमेश शुभेच्छुले समीक्षा प्रस्तुत गर्नुभएको थियो । उनीहरूले सङ्ग्रहमा समेटिएका कविताको विविध दृष्टिकोण र लेखनशैलीबारे चर्चा गर्दै छोटो समयमै प्रकाशित पुस्तकले विपत्तिका अनेक पक्षलाई समेटेको बताउनुभयो ।
पुस्तकको भाषा सम्पादन गर्ने नन्दु उप्रेती तथा प्रकाशनका लागि सल्लाह दिने प्राध्यापक मोहन सिटौला र प्रा. डा. हेमनाथ पौडेलले पनि आफ्ना धारणा राख्नुभएको थियो । त्यस्तै, होमनाथ सुवेदी, लालगोपाल सुवेदी, प्रा. डा. ध्रुव कार्की, डा. मुकुन्द पथिक र डा. छत्रपति दाहाललगायतले पुस्तक तथा कार्यक्रमबारे प्रतिक्रिया दिनुभएको थियो । कार्यक्रममा पुस्तकमा समेटिएको गीत नरहरि प्रेमीले देउसीको लयमा प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि प्रा. डा. खेमनाथ दाहालले ‘हिमालको आवाज’लाई ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गर्दै यसमा समेटिएका कविताबारे समालोचकहरूका थप विचार भविष्यमा आउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा डा. छत्रपति दाहाल, प्रा. डा. जिवलाल बस्याल, डा. मुकुन्द पथिक, पर्शुराम भण्डारी, प्रल्हाद पोखरेल, वासुदेव अधिकारी, निशा केसी, गङ्गा अभिलाषी, गोविन्दप्रसाद गौतम, तीर्थ अधिकारी, अनेसासका केन्द्रीय महासचिव राजु सिटौला, कृष्ण बाहुसे, पुण्य मैनाली, गोम विक्रम, नरोत्तम श्रेष्ठ, डा. भरतमान श्रेष्ठ, डा. ऋषि बस्ताकोटी, डम्बर पहाडी, शरद परासर मरठ्ठा, कमला उप्रेती, कुमारप्रसाद कोइराला, देवेन्द्र पराजुली, लक्ष्मी श्रेष्ठ, तारा उप्रेती, सहदेव कोइरालालगायतको सहभागिता थियो ।
साहित्यकार तथा सञ्चारकर्मी भगवती बस्नेतले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा अध्यक्ष सुरेन उप्रेतीले पुस्तक प्रकाशनको पृष्ठभूमिबारे जानकारी गराउनुभएको थियो । उहाँले ‘हिमालको आवाज’ चाँडै अङ्ग्रेजी भाषामा पनि प्रकाशन गर्ने तयारी भइरहेको बताउनुभयो । त्यसका लागि त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी विभाग र नेपाल प्रज्ञा–प्रतिष्ठानसँग समन्वय गरिने उहाँको भनाइ थियो । पुस्तकलाई विश्वभरका पाठकसम्म पु¥याउने उद्देश्यले साहित्यपोस्टले यसलाई पढ्न मिल्ने पुस्तकका रूपमा तयार गर्ने र पुस्तकका लेखकहरूलाई एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी पनि उप्रेतीले दिनुभयो । साहित्यपोस्टको एपमार्फत विभिन्न पुस्तक पढ्न र सुन्न सकिने सुविधा उपलब्ध गराएको भन्दै उहाँले साहित्यपोस्ट परिवार तथा प्रधान सम्पादक अश्विनी कोइरालाप्रति आभार व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन तथा लोकार्पणमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभएको थियो ।
