समाचार
काठमाडौं ।
कथाकार रमेश विकलको ९९औँ जन्मजयन्तीका अवसरमा आरुबारीस्थित रमेश विकल साहित्य प्रतिष्ठानको प्राङ्गणमा स्मृति सभा आयोजना गरिएको छ । जयन्तीका अवसरमा विकल चोकमा रहेको उनको अर्धकदको प्रतिमामा माल्यार्पण गरी प्रतिष्ठान भवनमा स्मृति सभा आयोजना गरिएको थियो। कार्यक्रममा काठमाडौंको उत्तरपूर्वी भेगका साहित्यकार, प्राध्यापक, समाजसेवी तथा स्थानीयको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजको विश्लेषण गरेर कृति छाड्ने र सरकारले त्यस्ता साहित्यिक सम्पत्तिको अभिलेखीकरणमा सहयोग गर्नुपर्ने बताए। उनले रमेश विकलको योगदान र उनीसँगको आफ्नो निकटताबारे चर्चा गर्दै नगरपालिकाले विकलका ५२ कृति तथा विभिन्न फुटकर रचनासमेत समेटेर सात खण्डमा ‘रमेश विकल समग्र’ प्रकाशन तथा अभिलेखीकरण गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रमुख वक्ता भाषा आयोगका सदस्य मातृका पोखरेलले समाजका भुइँमान्छे र उनीहरूले भोगेका उत्पीडनलाई केन्द्रमा राखेर प्रगतिशील लेखनमा विशिष्ट उचाइ हासिल गर्न विकल सफल भएको बताए। उनले प्रगतिशील लेखक सङ्घले यस वर्षदेखि शक्ति लम्सालको स्मृतिमा स्थापना गरेको पुरस्कार मरणोपरान्त विकललाई अर्पण गर्न लागेको जानकारीसमेत दिए ।
कार्यक्रमका सभापति तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले विकलसँगको आफ्नो कलात्मक सामीप्य, प्रतिष्ठान स्थापनाकालदेखि विकलले पु¥याएको योगदान र उनको बहुप्रतिभाबारे चर्चा गरे। उनले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरे । प्रतिष्ठानका कोषाध्यक्ष शाम्बकुमार चालिसेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन आलोक चालिसेले गरेका थिए ।
