समाचार

संसारमा विभिन्न भयावह- आपद विपद, खुशी- नैराश्य, राम्रो- नराम्रो, उतार- चढाव जस्ता प्राकृतिक- अप्राकृतिक परिस्थिति आइरहन्छन्, यी सबैको सामना प्रकृतिसितै सम्पूर्ण मानवजातिले स्वीकार्नुपर्छ, भोग्नैपर्छ । सन् 2020- लाई कोरोनाकाल अथवा कोविड–19 भनेर पनि जान्न सकिन्छ । कोरोनाजस्तो महामारीले संसारलाई गाँज्यो अनि यो महामारीबाट हाम्रो देश भारत पनि अछुत रहन सकेन । देशका प्रत्येक नागरिक यसको चपेटामा पर्नु प–यो अनि सबैले सानो–ठूलो जेजस्तो भए पनि यसको सामना गर्नप–यो । धनी–गरीब, ठूलो–सानो छुट्याएन, लाखौँ–करोडौँको सङ्ख्यामा यसले हाम्रा आदरणीय प्रियजनहरू हामीबीचबाट थुतेर लग्यो, कसैले आफ्ना सहोदर र अग्रजहरू गुमाउन प–यो, कोही टुहुरा भए, कसैकसैले निसन्तान हुन प–यो, हामीले बिचरा भन्नसम्म पाएनौँ । वल्लो घर, पल्लो घरबीच आवतजावत बन्द भयो, कारागारका बन्दी भयौं । तल्लो घरको मित्र बित्यो, एउटा फूल चढाउने स्वीकृति दिइएन, शायद यस्तो परिस्थिति सृष्टिकालमा पहिलो पटक संसारका मानवजातिले भोगेको हुनुपर्छ। यस महामारीलाई विभिन्न अर्थहरू दिएर दार्शनिकहरूले आफ्नो वैज्ञानिक परिप्रेक्ष्यमा कामगरिरहे आखिर समस्याको समाधान बनाएर छोडे । विज्ञान र वैज्ञानिकहरूलाई सलाम गर्नुपर्छ, साधुवाद टक्र्याउन पर्दछ । वास्तवमा भन्नु हो भने विज्ञानले यस विकट परिस्थितिमाथि पनि विजय प्राप्त गरेको इतिहास लेखिनुपर्दछ।
कहिलेको गाली कहिलेको आशीर्वाद भनेजस्तो यो त्रासदीमा पनि फोन र सामाजिक सञ्जाल सक्रिय भए । साहित्य सिर्जनाहरू मुद्रणालय जान सकेनन् , सम्भव हुनसक्ने कामहरू सामाजिक सञ्जालबाट प्रचार–प्रसार हुन थाले, पाठकहरू पुस्तकमा भन्दा सामाजिक सञ्जालमा धेरै जोडिएका देखिन्छन् । कृतिहरू लेखेर खातामा बन्द गरे माऊलाई खुवाउनुभन्दा सामाजिक सञ्जालबाट साझा गर्न मनपराएका उदाहरण सबैसमक्ष प्रत्यक्ष छन् । यहाँ म कुनै सैद्धान्तिक ग्रन्थ तयार गर्न उपस्थित नभएर यस भयावह कोविडकालमा सिर्जना गर्न सफल नेपाली साहित्यमा आएको नवीन आयाम “रम्बास कविता विधा“–सित परिचय गराउन मात्र आएको छु, यसको मूल्याङ्कन अध्येताहरूले गर्नेछन् र गरिरहेका पनि छन् ।
पूर्वाञ्चल आसामको विश्वनाथमा सन् 1959–मा जन्मलिएका मिलन बोहोराले गाउँकै पाठशालाबाट स्कूली शिक्षा आरम्भ गरेर वाणिज्य र कानुनमा स्नातक पढे तापनि आफ्नो मातृभाषा नेपाली साहित्यमा नै कलम चलाउन पुगे । हुनत भाषा साहित्यको सेवागर्न आफ्नै मातृभाषाको विद्यार्थी हुनुपर्छ भन्ने छैन रहेछ जसको ज्वलन्त उदाहरण तेस्रो आयामका प्रणेता इन्द्रबहादुर राई अङ्ग्रेजी साहित्यका विद्यार्थी थिए, राजनारायण प्रधान वाणिज्य र सानु लामा विज्ञानका विद्यार्थी थिए तर पनि नेपाली साहित्यले उनीहरूको नाम बढो आदरसाथ लिएर पढ्नैपर्दछ । नेपाली साहित्यमा विभाषी भएर पनि आर एल टर्नर, टर्नबुल, सुनीतिकुमार च्याटर्जी, ओकियामा ग्वाइन, माइकल हट जस्ता हजारौं नेपाली साहित्यकारहरूको नाम नलिए हाम्रो साहित्य अधुरो रहनजान्छ । अहिलेको युग विज्ञानले बोकेको छ, नयाँ–नयाँ आविष्कार समयको माग हो, यही परिवर्तनशील समयले साहित्यमा पनि नवीन प्रयोग, नवीन आयामहरूको सिर्जना गर्दै जान्छ। नेपाली साहित्यमा पनि तेस्रो आयाम, लीलालेखन, उत्तरआधुनिकतावाद, कवितामा हाइकु, मुक्तक, रम्बास,छेस्का, तीनहरफे कविता आदिजस्ता धेरै प्रयोगवादहरू नेपाली साहित्यमा आएका छन् समय यसको प्रत्यक्षदर्शी छ । साहित्यमा अग्रगमनको एउटा उदाहरण कोरोनाकालको भयावह परिस्थितिलाई पर पन्साउँदै पूर्वाञ्चल आसामको विश्वनाथका साहित्यकार कवि मिलन बोहोराले सन् 2020–को अप्रेल महिनामा रम्बास कविताविधाको प्रयोगमा ल्याए । शुरुमा हुनसक्छ कुनै छन्द, नियम, सूत्रलाई बताउने कोशिश गरिएन , जे छ तुरून्त लेखेर सामाजिक सञ्जालमा छरिदिए । लेखक, कवि, साहित्यकारसँगै समालोचक, समीक्षक अन्योलमा परेको पनि देखियो तर शनैः शनैः देश विदेशका नेपाली साहित्य साधकहरूले यसलाई मनपराई दिए, रम्बास कविताविधामा कलम चलाउन थाले । केही अदूरदर्शी प्रतिक्रियावादीले आलोचना, प्रत्यालोचना पनि गरे तर नेपाली साहित्यमा आएको विकासक्रम र नयाँ प्रयोगलाई निरन्तरता पाइरहेको छ । जब पनि रम्बास कविताविधाको थालनीको प्रसङ्ग आउँछ मिलन बोहोराको नाम बढो आदरसाथ लिन पर्दछ जसरी तेस्रो आयाम, लीलालेखनमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ, बैरागी काईंलाहरूको लिइन्छ ।
मिलन बोहोराले आफ्ना रम्बास कविताहरूलाई सामाजिक सञ्जालमा मात्र सजाएनन् “तानाबाना“ नामक छप्पनवटा रम्बास कवितासङ्ग्रहको उत्कृष्ट कृति पनि सर्वप्रथम सन् 2021–को जनवरी महीनामा प्रकाशित गरेका छन् जसको विधिवत् लोकार्पण पनि 2021–मा गरिएको थियो । यसपछि तीनसुकियास्थित जागुनमा सन् 2022–को अप्रेल 23 र 24–का दिन ऐतिहासिक साहित्यिक समागमको आयोजनमा अन्य चौधवटा साहित्यिक कृतिहरूले पनि लोकार्पण हुने अवसर पाएका थिए जसमा रम्बास कविताविधामा लेखिएका कृतिहरूमा सिक्किमकी गीताश्री शर्माको “तिलस्मी“ रम्बास कवितासङ्ग्रह, मिलन बोहोरा र देवीचरण सेढाईंको संयुक्त सम्पादनमा प्रकाशित “बर–पीपल“ रम्बास कवितासङ्ग्रह, अर्जुन उप्रेतीको “घुम्तीमा नआउ है“ कवितासङ्ग्रह, डा. जगन्नाथ उपाध्यायको “कलनाद “ रम्बास कवितासङ्ग्रह, गिरिधारी उपाध्यायको “शालीग्राम“ रम्बास कवितासङ्ग्रह, अर्जुन उप्रेतीको “सयपत्री“ रम्बास कवितासङ्ग्रह आदि थिए भने यसपछि पनि निरन्तर शेषमणि आचार्यको “डाली“, एल पी पराजुलीको “काव्यसुधा“, शिवकुमार श्रेष्ठको “नियात्रा“ जस्ता स्तरीय रम्बास कवितासङ्ग्रहहरू निरन्तर प्रकाशित हुनु भनेको नै रम्बास विधाले आफ्नो उच्चस्थान प्राप्त गर्न सक्नु हो ।
रम्बास कविताविधा के हो ? कसरी शुरुआत भयो ! यसका नियमहरू, संरचना र पृष्ठभूमिबारे नेपालका वरिष्ठ समालोचक, साहित्यकार दीपक सुवेदीले लाइन लाइन, शब्द शब्द, अक्षर अक्षर केलाएर लेखिसक्नु भएको छ यहाँ हामीले पण्डित्याईं देखाउनु पनि सूर्यलाई टुकीबत्ती देखाउनुजत्तिकै हुनेछ । ज्यामितीय आकारको अंग्रेजी नाम रम्बास (Rhombus) चतुष्कोण आकारको हुँदा आकारभित्र वर्णहरू सजाएर स्वतन्त्र हरफमा लेखिने भावक्षेत्र विशाल भएर जानसक्छ । सयवटा वर्णहरूको शब्द शब्दले बटुलेको भावनाले पनि थोरैमा धेरै बुझाउन सकिन्छ ।
कवि बोहोराको रम्बास कवितासङ्ग्रह “तानाबाना “प्रकाशित हुन भन्दा पहिला यो विधाको सर्वसम्मत विधा पुरा तयार भएको थिएन। कवि बोहोरा आफैं प्रवर्तक भएको हुँदा प्रथम कृति प्रकाशित गरेर पाठक समक्ष पु–याउन कति कठिन प–यो र कति पीडा खप्न प–यो प्रशव पीडामा छटपटाइरहेकी आमालाई जस्तै कवि बोहोरालाई मात्र थाहा होला हाम्रो निम्ति त कल्पनाको विषय हो। नौलो आयाम बोकेको नवीन कृति सार्वजनिक गरिंदा आइपर्ने प्रत्येक आलोचनाहरूको प्रवाह नगरी कवि बोहोराले आफ्नो कृति लोकार्पण गर्न पनि दह्रिलो मुटु लिएका थिए भन्ने लख काटेका छौं । कवि मिलन बोहोराकृत रम्बास कविताविधा र उनको तानाबाना समयको माग थियो यसै कारण उक्त विधालाई स्वीकारेर रम्बास कविता लेख्नेहरूको नाम आज अग्रपङ्क्तिमा देखिएका छन् ।
साहित्यकारहरूको भीडभित्रबाट रम्बास कविताविधामा एक्लै फाल तोडेर मैदानमा उत्रिएका कवि मिलन बोहोराको रम्बास कवितासङ्ग्रह “तानाबाना“ भित्रका कविताहरू नियम बद्ध छन् वा छैनन् ! यो पनि पाठकले जान्ने अधिकार छ तर साँच्चै भन्ने हो भने पाणिले संस्कृत व्याकरणलाई सोह्र हजार सूत्रमा चौखु–याएर राखेजस्तो खासै यसको सीमारेखा त कोरिएको छैन, कविहरू प्रायः स्वतन्त्र भएर पनि स्वतन्त्र भने हुन सकिँदैन, केही न केही नियमले यसलाई सीमाभित्र राखेको हामीले अनुभव भने गरेका छौं, यहाँ साहित्यकार एवं समालोचक देवीचरण सेढाईंको भनाइलाई पनि हामीले मनन, अध्ययन गर्न नितान्त आवश्यक देखिन्छ। सुरुवाती समयमै उहाँले यसको नीति नियमलाई शृंखलाबद्ध पाराले तयार गर्नुमा ठूलो सहयोग पु¥याउनु भएकोछ ।
१) एउटा शीर्षक हुनुपर्छ ।
२) जम्मा अक्षरसङ्ख्या १०० हुनुपर्छ ।
३) जम्मा पंक्तिसङ्ख्या १९ हुनुपर्छ ।
४) एक अक्षरबाट शुरु भएर एक अक्षरमै समाप्त हुनुपर्छ ।
५) एकदेखि दश पंक्तिसम्म अक्षरसङ्ख्या क्रमशः एक, दुइ, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दशवटा हुनुपर्छ,
त्यसपछि क्रमशः नौ, आठ, सात हुँदै एउटा अक्षरमा टुङ्गिनुपर्छ।
६) आधि अक्षर र हलन्त लागेको अक्षरको गन्ती हुँदैन। सग्लो अक्षरको मात्रै गन्ती हुन्छ।
७) रम्बास कवितामा एउटा सिङ्गो कविताको अभिव्यक्ति हुनुपर्छ।
८) रम्बास कवितामा भावपक्ष जति महत्त्वपूर्ण हुन्छ संरचनापक्ष पनि उत्ति नै महत्त्वपूर्ण हुन्छ।
९) रम्बास कवितामा मानवमनका सबै खालका अनुभूति व्यक्त गर्ने क्षमता हुन्छ।
१०) रम्बास् कविता ज्यामितीय रम्बास (चतुष्कोण) आकारमा लेखिनुपर्छ।
एउटा उदाहरण का निम्ति कवि बोहोराकै रम्बास कवितालाई उद्धृत गर्दैछु
मृगतृष्णा
म
खेद्छु
अ ल भ्य
मृग तृष्णा।
जलभ्रम छ
अपूर्ण तृष्णा छ।
दिगन्तभन्दा टाढा
ईप्सित अभिलाषा छ।
लाग्छ विक्षिप्त बेलाबेला
लाग्छ दुनियाँ भ्रमको मेला ।
पछ्याउँदै हिँड्छु म छायाँ
माथि काला सेता मेघ
छन् वर्षा घाम दुवै ।
जीवनको बाटै
अतृप्त आत्मा
चिरप्यासा ।
जी व न
यस्तै
छ ।
तानाबानाभित्र छप्पनवटा रम्बास कविताहरु सुन्दर तरिकाले सुशोभित छन् । “तानाबाना“ शीर्षकको पहिलो कविता पृष्ठ सङ्ख्या १५–ले हाम्रै जिन्दगीको रस र रागलाई बिम्बित पारेर खूबै रोचक ढङ्गमा प्रस्तुत गरिएको छ। जब यो कविता लेखियो त्यस समय कवि पनि रम्बास कविताविधामा पठ्ठो युवा थिए, कुनै मन्त्रहरूले बाँध्न सकेन । यो उनको प्रयोग मान्नुपर्दछ । “तानाबाना“–को परिचयात्मक भूमिकामा साहित्यकार ज्ञानबहादुर छेत्री लेख्छन्– “कवि मिलन बोहोराका रम्बास कवितामा नवीन सोच, राष्ट्र, जाति र समग्रमा वैश्विक चेतना रहेको पाइन्छ। उनका निकैवटा कवितामा परिवृत्तीय सचेतता प्रस्फुटन भएको छ। “
हाम्रो देश प्रजातान्त्रिक भएर पनि पुरुषप्रधान रहिआएको छ , यसमा पुरुषहरूलाई मात्र दोष दिएर हुँदैन , नारीहरूले पनि प्रतिस्पर्धाबाट आफ्नो अधिकार खोसेर ल्याउन सक्ने योग्यता छ, ल्याउन पर्दछ भन्ने हाम्रो मान्यता छ । हामी अवला नारी हौँ, हामी हेपिएका छौँ, हामी पुरुषहरू बराबरमा पुग्न सक्दैनौं भनेर बस्यौँ भने पुरुषहरूले आफ्नो फाइदा उठाइरहन्छन् यसर्थ महिलाहरू पनि मानवजातिमा हाम्रो पनि बराबरीको हक छ भनेर अघाडि बड्नुपर्दछ, पुरुषहरू स्वयं आफ्नो जिम्मेवारी लिएर जाने समयले दिशा निर्देश गर्ने छ ।
कवि मिलन बोहोराले आफ्ना कवितामा पुरुषाभिमान,पुरुष्पीडा–ज्ञ, पुरुष्पीडा–द्द जस्ता शिक्षाप्रद कविताहरू लेख्नुभएको छ, हुनसक्छ कविताको धर्मलाई समक्षमा राखेर नारी र पुरुषहरूबीच समन्वयात्मक भावन देखाएका छन् । कवि स्वयं पनि पुरुष भएर कविता सिर्जना गर्नु साधारण लागे पनि कताकता समानुपातिक व्यवस्थाभित्र बसेर रम्बासका नियमभित्र बसेको पाइन्छ । पीडा नारी र पुरुषको समान हो र समान हुनपर्छ भन्ने कविको मान्यता रहेको छ भने रम्बासको एघारौँ र बाह्रौँ हरफ नौ र आठ अक्षरी हुन पर्ने नियम छ तर यी दुवै हरफ नौ नौ भएको हुँदा रम्बासको नियम भित्र परेको छैन भनेर रम्बासकारहरूभित्र प्रश्न उठ्नु स्वाभाविक भए पनि कविताको सिर्जनाकालमा सामान्य हेराफेरि र भूलचूक हुने गर्दछन् , साहित्यमा यी साधारण कुरा हुन् । अहिले आएर कविका रम्बास कविताहरू खारिएका मात्र छैनन् शिक्षाप्रद र पढिरहुँ लाग्ने भएका छन्, आलोचक तथा पाठकहरूले नवीनकृति हात परेपछि थाहा पाउनुहुनेछ ।
वरिष्ठ साहित्यकार ज्ञानबहादुर छेत्रीको “कवि मिलन बोहोराका रम्बास कविता ः परिचयात्मकभूमिका“ पढेपछि तानाबाना कविताकृतिभित्रका सबै मर्म, जिज्ञासा, रोमान्स, नैराश्यपन, कर्तव्यनिष्ठ सबै ऐनाजस्तै छर्लङ्ग हुन्छ । दुइ शब्दमा डम्बर दाहाल,कार्बीआङ्लाङ । इन्दुप्रभादेवी, गौहाटी । भवानीप्रसाद शर्मा,बगाइगाउँ । दुर्गा खतिवडा, गौहाटी । जगन्नाथ उपाध्याय, गहपुर । अनुप शर्मा, विश्वनाथ चाराली । कुञ्जदेवी उपाध्याय, शिवसागर । दीपक दवाडी, तेजपुर,आसाम । अर्जुन उप्रेती, बाक्सा । प्रकाश कुईंकेल, बाक्सा । विपाशा भारद्वाज, विश्वनाथ चाराली । गोविन्द शान्डिल्य, कोक्राझार । गुवाहाटीका डा देवेन सापकोटाले पठाउनु भएको शुभकामनाको गुच्छाले सुनमा सुगन्ध थपेको छ भने कविको आफ्नो “कविको उदगार“–कृतिमा सजिएको छ ।
आफ्नो कुरामा कविले लेखेका छन् – “समयसँग हरेक विषयमा परिवर्तन आउनु प्रकृतिको नियम हो। साहित्यमा पनि मानवीय प्राकृतिक प्रवृत्तिले गर्दा हर क्षेत्रमा परिवर्तन आइरहेको छ। प्रचलित धारादेखि केही ठाउँ सरेर अर्को बहावमा साहित्यको डुङ्गा हेलेर रमाउन खोज्ने चाहनाले नै होला हाइकु, पिरामिड जस्ता शैलीको जन्म भएको छ ।“ कुनै पनि नयाँ आयाम होस् या नवीन कृतिहरू हुन्– मूल्याङ्कन, आलोचना, प्रत्यालोचना, बहस, समीक्षा आउनु स्वभाविक हो । स्वस्थ आलोचना आउन पनि पर्छ तब मात्र त्यस कृतिको महत्त्व बडेर जान्छ। मिलन बोहोरका रम्बास कविताहरू निरन्तर सामाजिक सञ्जालको माध्यमबाट आउन थालेपछि पाठकहरूमात्र नभएर सर्जकहरूमा जिज्ञासा बढेर गयो । यसघरि पाठकहरूको वृद्धिसँगै रम्बास कविहरूको बढोत्तरी भएको छ ।
मिलन बोहोराको रम्बास कविताकृति “तानाबाना“ मा छप्पनवटा कविताहरू समावेश छन्, यी सबै कविताहरूमाथि यो छोटो लेखमा विशद चर्चा गर्न सम्भव छैन यसर्थ कविजीलाई आग्रह गर्दछु आफ्ना अन्य साहित्य सिर्जनासितै रम्बास कविता रचनामा पनि कलम निरन्तरत चलाउनु हुनेछ । कविले आफ्ना कविताहरूमा विडम्बना /वास्तुकार/जगजगी/पुरुषाभिमान/ सेक्युरिटिज / फ्युज बल्ब / मीठो जहर / त्याग / मुसा जस्ता रम्बासहरूले प्रत्येक मानवसमाजमा दैनन्दिन आइरहने, देखिरहने, भोगिरहने घटना र विचारलाई स्पष्टसँग ऐनाजस्तै छर्लङ्ग पारेर छोटा शब्दले धेरै अर्थ बुझाइएका छन् । आसामी मूल नेपाली भएका नाताले कताकता असमीभाषाको मिश्रित मिठास पनि पाइन्छ । यसरी हाम्रो नेपाली भाषामा अन्य भारतीय भाषाहरूको प्रवेश हुन्छ भने भूल भएको या हाम्रो भाषामा ती शब्द नभएर पैंचो लिइएको चाहिँ पटक्कै होइन बरू सकिन्छ भने ती शब्दहरू हामीले हाम्रै संस्कृतिमा हाराबारा खेलाउँदा कसैलाई आपत्ति आउँछ भने त्यसको टाउको दुखाइ प्रयोग गर्नेको पटक्क होइन ।
शब्दलाई सम्पूर्णता दिन रम्बास कविताविधाले परिपक्वता बोकेको छ । यदि शब्द आफैँ अपूर्ण, अनकनिएको वा बहकिएको भए रम्बास बन्ने थिएन यसैले कवि मिलन बोहोरा रम्बास कविताविधाका प्रणेता हुन् । रम्बास कवितालाई शिरोपर गरेर सर्जकहरू शब्दको चयन र प्रयोगमा सरलता अपनाएर कविता गर्छन् भने ऊ पक्का कवि हो । उदाहरणका निम्ति कवि मिलन बोहोराकृत एउटा रम्बास कविता हेर्नुहोस् उनी कति सफल छन् । यो कविताले सम्पूर्ण छेपारे नीति भएका हामीलाई सीधै तोपले उडाएका छन् भने यस्तो नीतिले हाम्रो समाज कदापि अघाडि बड्न सक्दैन भनेर खै पनि गरेका हुन् । हाम्रा तथाकथित नेताहरू आफू बाँच्नलाई चौबीस घण्टामा चौबीसैपल्ट रंग फेर्न पनि सक्छन् भनेर कविले सीधै इङ्गित गरेका छन्-
छेपारो
म
हुँ है
सतर्क
प्रजातिको
छली छेपारो
रङ्ग फेरिदिन्छु
समयअनुसार
हो मेरो चरित्र यही
तिमी पनि बनी हेर त !
सजिलो छैन अस्तित्व रक्षा
रङ्ग फेर्नु बाध्यता मेरो
मैले पनि बाँच्नुपर्छ
मार्न खोज्ने सर्वत्र
जोगिन साह्रो छ
उ पा या न्त र
बाँच्नलाई
छेपारो
ब नेँ
म ।
रम्बास कविताविधालाई कवितै होइन भन्नेहरूका निम्ति यो विधा लेखिन थालेको दुइ वर्षको अन्तरालमा भारतका विभिन्न प्रान्त आसाम, मेघालय, मणिपुर, दार्जीलिङ, सिक्किम, बनारस, डुवर्स, भुटान हुँदै नेपाल, बर्मा, अमेरिका जस्ता विकसित मुलुकहरूमा पनि व्यापकता पाएर एक दर्जनभन्दा ज्यादा रम्बास कविता कृतिहरू गाउँ–बस्तीको खाँटी दानेदार घिउ खारिएजस्तै प्रकाशित भइसकेका छन् । रम्बास कवि मिलन बोहोराको “तानाबाना“ रम्बास कवितासङ्ग्रह रम्बास विधाको माउ हो, आदिग्रन्थ हो, गुरुग्रन्थ हो ! भन्दा मतद्वय हुनसक्दैन ।
पुण्यप्रसाद शर्मा, गान्तोक, सिक्किम