समाचार
काठमाडौँ ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले २०८३ सालमा प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।
प्रतिष्ठानका अनुसार यस वर्षको ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’ वरिष्ठ कवि कञ्चन पुडासैनीलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘दैवज्ञ साहित्य पुरस्कार’ वरिष्ठ कवि एवं नियात्राकार निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने), ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ वरिष्ठ साहित्यकार एवं बालसाहित्य स्रष्टा तेजप्रकाश श्रेष्ठ र ‘दैवज्ञ समाजसेवा पुरस्कार’ नेपाली शिक्षा परिषद्लाई प्रदान गरिने भएको छ । परिषद्का तर्फबाट अध्यक्ष एवं साहित्यकार रमा शर्मा सम्मानित हुनेछिन् ।
प्रेरणापुरुष कवि दैवज्ञराज न्यौपानेको ८५औँ जन्मजयन्ती तथा १५औँ स्मृतिदिवसका अवसरमा आगामी मंसिर २९ गते विशेष समारोह आयोजना गरी सम्मान तथा पुरस्कार समर्पण गरिने प्रतिष्ठानले जनाएको छ । सम्मानअन्तर्गत ५५ हजार ५५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ भने प्रत्येक पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ रहेको छ ।
