• २०८१ माघ ९ बुधबार

आवाज

कात्यायन

कात्यायन

ओई ! तिमी मर्दैछौ हो ?
एकोहोरो हेर्दै थियो ऊ ।
आशा अलिकति ! विस्वास अपार ! ऊ चुपचाप !
छातीबाट रगत बगिरहेको थियो ।
सबेरै, साँझ झैँ !
अनकण्टार गाउँको आँगन ।
सरकारी बन्दुकको घेराले, घेरिएको थियो ऊ । अत्मग्लानी मिश्रित घेरा !
उनले फेरि सोधिन्, के, मर्दै छौ हो तिमी ?
सैनिक बुटहरूको बज्रप्रहार छिचोल्दै फेरि झकझकाईन्, आँखा नचिम्ल !
सोधिन्, के, हत्यारा हौ तिमी ?
आवाज थिएन उसमा । आँखा तेजिला थिए ।
( बलात्कारी हौ ? भ्रष्टाचारी हौ ? घुसखोरी हौ ? मानव ओसारपसार गर्थ्यौ ? जग्गा यताउता गर्थ्यौ ? उनले अनेक-अनेक सोधिन् ।
ओँठमा अपत्यारिलो मुस्कान ल्याएर हेर्यो उसले ।
फेरि झककाइन्, के, तिमीले सत्ता उलटपुलट पार्न खोज्दै थियौ ? हो ?
शिर ठाडो पारेर उसले कनिकुथी भन्यो, मैले जन-आवाज लेख्दै थिएँ र आवाज दिँदै थिएँ ! अँध्यारोविरुध्दको अनन्त यात्रामा थिएँ !
अङ्गालोमा बेर्दै, उसको छातीबाट बग्दै गरेको रगत थिच्दै, उनले भनिन्, आऊ, हामी संभोग गरौँ, म तिमीलाई आवाजको उत्तराधिकारी दिनेछु !


कात्यायन
चाबहिल, काठमाडौं – ७
२०८१/०८/१८