आलस्य यो जीवन
रच्छ्यानमा फालिएको सालनालझैँ
बेबारिसे
घामले डडेको कुरूप गोरेटोझैँ
पहाडले घाइते बनाएको गुरासझैँ
नदीले छोडेको बगरझैँ
यो आलस्य जीवन
व्याधाको हिरासतमा
पीडाको राजमार्ग कोट्याइरहेका
पक्षीझैँ
गिरिकुञ्जमा
कुहिरोको खास्टो ओडेर
तारापुञ्जको चलचित्र हेर्दै
बाँचेको यो जिन्दगी
अक्सर वेदनाको कारखानामा
अर्धमूच्र्छित बाँचेको छ अक्षांशमा
प्राण फिँजाएर
यो आलस्य जीवन ।
दुङदुङती गन्हाइरहेको
सिनोको सुगन्ध सुँघेर
एक चौटा अँध्यारो रातमा
आँखाहरू निदाउँछन्
विलुप्त बस्तीमा
सिरूपातेको समवेदना च्यापेर
विस्तारवादीले चाटेका अनुहार
औँला चुसिरहेका
नवजात शिशुझैँ लाग्छन्
लहलह धानका बाला
बहेली खेल्ने बेँसीमा
पुँजीवादको तमासुक फलेपछि
मूर्दा जलेको धुनी तापेर
ब्यूँझाएको हो घाट
बूढो झरीले बलेँसीमा कोरेको
वक्ररेखा नामेट नहुँदै
गरिबीमा डडेलो लागेर
भोकमरीको मसाल
हिँडाएको हो जीर्ण सडकमा
आस्थाको त्यान्द्रा बटुलेर
तिलौराकोटमा अशान्ति बिछ्याएर
शान्तिको शङ्खघोष गर्छन् जल्लादहरू
धर्तीको गर्भाशयमा
शृङ्खलाको भ्रूण हुर्काएर ।
गजुरमा पक्षीले बिस्ट्याउँदा
पीपल उम्रने देश
मध्यरातमा थकाइ मार्छ
किनकि उज्यालोमा
किचिनु छ क्रन्दन दबाएर
शिरमा डोको नाम्लो भिरेर
भरियाको गीत गाउँछ
यो जिन्दगी खोई के जिन्दगी
चन्द्रसूर्य अङ्कित झन्डाको
साइनो बोकेर
वीर्यपात गरिरहेका जवानहरू हो
सूर्यास्त फर्काउनु छ
जङ्गे पिलर उठाउनु छ
अनि खाँडो पखाल्नु छ टिस्टामा
माटो फुकेर इतिहास जगाउनु छ
काकातालीले बीभत्स लुटिएको देश
चिहानघारीमा
रजस्वाला भएकी कुमारीझैँ
छट्पटाइरहेछ देश
प्रसव पीडाले
त्यसैले युद्धको स्मरण बोकेर
स्वाप्निल सिँढीमा
कालो दिन मनाइरहेछ यो जिन्दगी ।
विधवा रातले जसरी जन्माउँछ
नपुंशक ताराहरू
त्यसरी जन्मिन्छन्
दुराचारीहरू
अनि बलात्कृत हुन्छन्
निर्दोष किशोरीहरू
म देख्छु हिमपातले दाह्रा किटिरहेका
कुरूप अनुहार
विवशताले आलाप गर्दै
जिजीविषा बोकेर बाँचिरहेका
मठमन्दिमा सजिएका
यी गण्डकीका शिला
लाग्छ सहिदको मुटु-कलेजो
खुन चुसेका
कलिला ओठले
कहिल्यै घन्काएन
मुक्तिको आवाज
क्रान्तिको धुनी फुकेर
सडक तताउनेलाई
कैद नगरियोस्
आफ्नै मस्तिष्कमा ल्याप्चे लगाएर
अङ्गीकार छ आजैबाट
चन्द्रसूर्य अङ्कित झन्डाको फेरमुनि
एकताको सूत्रमा बाँधेर
राष्ट्रियता र
भाइचार
जोगाई राख्ने ।
(ओली चर्चित साहित्यकार हुन् ।)
[email protected]