• २०८१ माघ २ बुधबार

अनि यस्तो भयो

भोजराज न्यौपाने

भोजराज न्यौपाने

‘मलाई जिन्दगीदेखि सारै पट्यार लाग्दैछ ।’
‘किन र ? के भयो केजिया ?’ मैले उसको जिन्दगीप्रतिको निराशाको भाव बुझेँ ।
‘मैले जीवनमा स्वतन्त्रताको उपभोग त गरेँ तर मृत्युको उपभोग गर्न सकिनँ’ ऊ भन्दै थिई– ‘के मृत्युवरण गर्न पाउनु मेरो स्वतन्त्रता होइन ?’
‘मृत्यु स्वतन्त्रता र नियन्त्रणबाहिरको कुरा हो केजिया ।’ म उसलाई सम्झाउने मुडमा आएँ ।
‘किन मृत्यु मेरो वशमा नभएको होला ?’ ऊ अझै जिद्दी बन्दै गई ।
‘तिमीले भनेजस्तै सबैको ‘मृत्यु–इच्छा’ ले स्वतन्त्रता पाउने भए समाजको स्वरूप अराजक बन्नेछ केजिया ।’ म पनि ऊसँगै बहसमा उत्रिएँ ।
‘कसरी बन्छ अराजक ? मानिसले चाहेर मृत्यु वरण गर्दा त समाज झन् सभ्य हुनुपर्ने होइन र !’ ऊ पनि के कम ?
‘रोग र आयु पर्खिनुपर्ने बाध्यताले कम तनाव दिएको छ ।’
प्रकृतिमा कुनै पनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ ? फेरि मान्छेका चाहना सधैँ एउटै अवस्थामा रहिरहन्छ र ? अहिले एक पल पनि बाँच्न नचाहने मानिस केही दिनपछि भेट्दा मृत्युको कुरै गर्न नचाहने हुन्छ । त्यसैले पनि इच्छा–मृत्युको इतिहास नभएको हो । म बोल्दै थिएँ– ‘महाभारतमा भीष्मको जस्तो स्वमरणको बरदान हामीले पाउँदैनौ केजिया ।’
रानीपोखरीमा सूर्यको मधुरो प्रकाश देखिन्थ्यो । क्रमशः साँझ पर्दै थियो । अफिस छुटेर आ–आफ्नो वासस्थानमा जानेहरूको लर्को थियो सडकभरि । यो व्यस्तता हेर्दा लाग्थ्यो, यात्रीहरू कुनै विशेष समारोहको भव्य तयारीमा जुटेका छन् ।
रेष्टुरेन्टमा बत्तीहरू बल्दैथिए । ब्रेयन एडम्सको ‘एट्टिन टिल आई विल डाई …’ बोलको गीत बज्दैथियो । त्यही गीतले भावुक भएकी ऊ इच्छा–मृत्युको कुरामा जोड दिइरहेकी थिई । ह्विस्कीसँग लट्ठिँदै गरेका नीला आँखामा गहिरो भावुकता झल्किइरहेको थियो । गोरो अनुहार, सुनौला केशराशिबीचमा अडिएका तिनै गहिरा आँखाले घरिघरि मलाई हेर्थे । उसको हेराइमा मैले एउटा उदासी अनुभव गरिरहेको थिएँ । जीवनप्रतिको उदासी, हुनसक्छ प्रेमप्रतिको उदासी ।
खिरिला औँलामा मार्लबोरो चुरोट च्यापेर उसले मलाई एक पेग थप्ने आग्रह गरी । उसको आग्रहलाई मैले स्वीकारिदिएँ ।
‘जीवनमा एकचोटि मात्रै वसन्त छाउँदो रै’छ विजय ! मलाई लाग्छ जीवन पनि वसन्तपछिको फूलझैँ यौवनपछि लगत्तै मर्नुपर्ने ।’
‘यही नमर्नुमा त जीवनको आनन्द छ ।’
‘यस्तोे रुखो जीवन ? छि ः बाँचेर पनि दिनदिनै मर्नुभन्दा यौवन नसकिँदै मर्न पाएको भए कति मज्जा हुन्थ्यो । मलाई यस्तो अर्थहीन जीवन बाँच्नै मन लागेको छैन ।’ ऊ मृत्युकै कुरामा अड्किरही ।
हुनसक्छ एउटा खतरनाक निरासाले उसलाई गाँजेको छ । र कुनै पनि बेला उसले आत्महत्या गर्नसक्छे ।
केजियासँग मेरो परिचय भएको धेरै भएको छैन ।
केजिया र साकुरा दुवै साथी हुन् । .उनीहरूलाई मैले भक्तपुरको दरबार स्क्वायरमा केही महिनाअघि भेटेको थिएँ । केजिया अस्ट्रेलियन हो । साकुराले आफूलाई डच बताएकी थिई ।
उनीहरू दुवै जना एउटा गैरसरकारी संस्थामा भोलेन्टिएरका रूपमा नेपाल आएका हुन् । त्यति बेलै उनीहरूसँग मेरो मित्रता सुरु भएको थियो । छोटो समयमा नै हामी निकै घुलमिल भैसकेका थियौँ । अक्सर साँझपख हामीहरू भेट्थ्यौँ । पिउथ्यौँ र आ–आफ्ना जिन्दगीका कुरा गथ्र्यौं ।
‘नेपाल बसाइको क्रममा केही दिन मसँग बिताइदेऊ न !’ केजिया सधैँ भन्नेगर्थी ।
म हाँस्थे र भन्थेँ– ‘बसेका त छौ नि !’
‘नो, यसरी होइन ।’
‘अनि कसरी त ?’
‘यी यसरी’, उसले मेरो हात समाउँथी र किस खान्थी । म हाँस्थे । र टारिदिन्थेँ ।
उनीहरूको नेपाल वसाइ सकिन लागेको थियो । हामी केही महिनामा नै मज्जाले घुलमिल भैसकेका थियौँ । यसबीचमा उसलाई अस्ट्रेलिया फर्केर जाने मन थिएन । तर उसलाई यहाँबाट जानु नै थियो ।
अस्ट्रेलिया फर्कनु दुई दिनअघि हामी पोखरा गयौँ । हामीसँगै साकुरा पनि थिई । फेवातालको किनारमा फागुन महिनाको सुन्दर साँझ । सिङ्गै प्रकृति त्यहीँ ओइरेजस्तो लाग्थ्यो । साँझ छिप्पिँदैगएपछि फेवातालमा चन्द्रमा पौडिन थालेकोथियो । तर तालको सौन्दर्यमा केजिया रम्न सकिरहेकी थिइन । ऊभित्र केही कुरा उर्लिरहेको थियो । यस्तो अवस्थामा ऊ ननस्टप ह्विस्की पिउँथी । चुरोट सल्काउँथी ।
‘केजिया तिमी अस्ट्रेलियामा पनि यत्तिकै पिउँछ्यौ ?’ उसको पियाइलाई लक्षित गरी मैले सोधेँ ।
‘पिउँछु ! लाग्छ मान्छेको जिन्दगी नै रक्सी हो ।’
‘तिमीले कसैलाई प्रेम गरेका छौ ?’ उसले अचानक गम्भीर भएर सोधी ।
‘म जीवनमा प्रेमको लायक बन्न सकिनँ केजिया ! न मैले प्रेमको अर्थ बुझ्न सकेँ न प्रेम नै गर्न सकेँ ।’ मैंले अलिकति दार्शनिक पारामा भनेँ ।
जब तिमी प्रेमको परिभाषा नै बुझ्दैनौ भने रक्सीको परिभाषा कसरी बुझ्छौ ? रक्सीको परिभाषा बुझ्न प्रेम गर्नुपर्छ । किनभने यो रक्सी त्यही प्रेमसँग जोडिएको सत्य हो । उसले गिलासको बाँकी रक्सी देखाउँदै भनी । म एकछिन घोरिएँ । र, सोधेँ– ‘के तिमी प्रेममा छ्यौ ?’
उसले रक्सीको घुड्को स्वाट्टै पारी र भनी– ‘थिएँ तर जसको प्रेममा थिएँ ऊ नै यो संसारमा छैन ।’ उसले दुवै हातले आफ्नो अनुहार छोपी र आकाशतिर फर्किई ।
‘सरी !’ म मौन भए ।
‘वाल्टर एक अफ्रिकन हो । म जर्मन गएको बेला त्यहीँ हाम्रो परिचय भएको थियो । वाल्टर जर्मनमा कृषि विशेषज्ञको रूपमा कार्यरत थियो । ऊ समुद्र अति मन पराउँथ्यो । बिदाको समय महिनौँ सामुद्रिक जहाजमा घुम्नु उसको सोख थियो ।
‘म जर्मनमा बसुन्जेल हामीसँगै बस्यौँ । वाल्टर भावुक थियो । मलाई असाध्यै प्रेम गथ्र्यो र सधैँ भन्थ्यो– ‘तिमी मेरी अर्की समुन्द्र हौ । तिमीसँग रहनु र पानीजहाज सयर गर्नु दुवै प्रिय लाग्छन् मलाई…!’ ऊ मौन भई र आफूभित्र उठिरहेको पीडाको ज्वारलाई केही शान्त बनाई ।
‘पछि कामको सिलसिलामा म अस्टे«ेलिया फर्कें । हामी टेलिफोनमा निरन्तर कुरा गथ्र्यौं । दिनैजसो इमेल गथ्र्यौं । तर, करिब चार वर्षअघि मात्र ऊ एउटा डुङ्गा दुर्घटनामा प-यो ।
‘भन त विजय जिन्दगी त्यति सजिलै सकिदँो रहेछ । फेरि प्रेम किन सकिँदैन ?’
उसका आँखाभरि आँसु भरिएका थिए ।
मलाई नमीठो अनुभूतिले सतायो । सान्त्वना दिँदै भनेँ– ‘जीवन भनेको गुलाफ, आँसु र खरानी हो केजिया । जीवनमा तीनै चीज कुनै न कुनै रूपमा पार गर्नैपर्छ ।’
‘वास्तविकता र दर्शन एक हुन सक्दैन विजय । किनभने मेरो जीवन सवै आँसु र खरानी मात्र हो ।’
‘त्यस्तो होइन केजिया ! जीवन नयाँ सुरुवात पनि हो । त्यो सुरुवात अर्को गुलाफ बन्न सक्छ । तिम्रो प्रेम बन्न सक्छ ।’
‘त्यसो हो भने हिँड न त यो दुई दिन तिमी मसँग बाँच ! म तिमीसँग नयाँ सुरुवात गरेर फर्किन चाहन्छु ।’ उसले मेरो हात समाती र उसै गरीं चुम्बन गरी । जीवनप्रतिको निराशाले उसलाई पूरै निलिसकेको थियो । मैले उसलाई त्यो दुई दिन पूरै साथ दिएँ ।

०००
दुई दिनपछि हामी काठमाडौँ फर्कियौँ । त्यही दिन उसको फ्लाइट थियो । उसलाई विदाइ गर्न म एयरपोर्ट पुगेँ । जानुअघि उसले मलाई अस्टे«लिया पुग्नासाथ इमेल गर्ने, बाबु–आमालाई मेरो परिचय दिने भनेकी थिई । उसँग साकुरा पनि गई । उनीहरू दुवैलाई मैले विदाइको हात हल्लाएँ ।
केही दिनपछि केजियाको इमेल पाएँ । लेखिएको थियो– ‘मैले तिमीसँगको भेटपछि वाल्टरसँगको बिछोडलाई भुल्न थालेकी छु । म फेरि नेपाल आउन चाहन्छु । तिमीसँगको मीठो मिलनलाई मैले जिन्दगीभर सँगाल्ने विचार गरेकी छु । यदि तिमी मलाई स्वीकार्छौ भने म सदाका लागि तिमीसँगै रहनेछु ।’
उसको इमेल पढ्नासाथ म अलमलिएँ । मैले प्रत्युत्तरमा लेखिदिएँ– ‘केजिया म तिमीलाई एक राम्रो साथीको रूपमा सदा लिनेछु । यदि तिमी हाम्रो यही मित्रतालाई साथ दिन आउने भए तिमीलाई स्वागत छ…।’
त्यसपछि लामो समय ऊ सम्पर्कविहीन भई । मैले पनि खोजिनँ ।

०००
केही महिनाअघिको एक दिन । घरमा इमेल हेर्दैथिएँ । एउटा नयाँ मेल आयो । जसमा लेखिएको थियो–
‘प्रिय विजय !
केजियाले सुसाइड गरी । आफ्नो जीवनलाई निरर्थक छ भन्दै उसले सुसाइड गरी । सुसाइड नोटमा सबैभन्दा बढी उसले तिमीलाई सम्झेकी थिई । प्रेम गरेकी थिई । तिमीसँग बिताएका हरेक क्षण अविस्मरणीय रहेको उल्लेख गरेकी थिई । अन्ततः हामीले उसलाई सदाका लागि गुमायौँ विजय । अब उसले तिम्रो हात चुमेर मलाई प्रेम गर कहिल्यै भन्ने छैन…!’
साकुरा

०००
पढेर एकछिन म शून्य भएँ ।
त्यसपछि केजियासँगका प्रत्येक क्षण मेरा आँखाअगाडि घुम्न थाले । उसले सधैँ मेरा हातहरू निकै सुन्दर छन् भन्दै चुम्ने गर्थी । म तिमीसँग केही पल बाँच्न चाहन्छु भन्ने गर्थी ।
मभित्र एउटा प्यास बल्झिएझैँ भयो । म छटपटाउन थालेँ । केजियासँगका प्रत्येक तस्बिर ल्यापटपमा हेर्नथालेँ । एकएक गरी नियाल्न थालेँ । उसले एउटा फोटो प्रिन्ट गरेरै दिएकी थिई । एल्बममा राखिएको त्यो तस्बिर झिकेर हेरेँ । त्यसको पछाडि लेखिएको थियो– ‘विजय मेरो मृत्युपछि मलाई सपनामा देख्ने प्रयास नगर्नू । म सपनामा पनि मृत देखिनेछु । उदास देखिनेछु ।’
यति बेला मलाई उसका उदास आँखाहरूमा चुम्बन गर्न मन लाग्यो । एकपटक अँगालोमा लिएर छातीमा टाँस्न मन लाग्यो ।
तर केजिया अब यो संसारमा थिइन । उसले इच्छा–मृत्युलाई सार्थक बनाइसकेकी थिई ।
‘केजिया तिमीलाई एक साथी भन्नु के मेरो गल्ती हो ?’ अचेल म आफैँलाई सोधिरहन्छु । किनभने जवाफ दिन केजिया अब फर्केर कहिल्यै नआउने भएकी थिई ।