• २०८० मंसिर १३ बुधबार

दशैंको शुभकामना

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

दशैंको टीका थाप्नु छ हामी, साइत हेरेर
आसिक लिई मनको धोको, मजाले फेरेर ।

परिकार मिठो खाउँला हामी, रमाइलो गरेर
रोटे र लिङ्गे खेलौंला पिङ, अगाडि सरेर
इष्टमित्रको घरमा पुगी, आशीर्वाद लिनुछ
अनुजलाई जमरा टीका, आसिक दिनुछ ।

मनको मैलो पखाली, नयाँ लुगामा रमाउँ
हाँसेर आफू समाजलाई, बेसरी हसाउँ
भोकै र नाङ्गै नपरोस् देख्न, बाहिरी आँखाले
नाचौंला हामी गाएर गीत, त्यो मिठो भाकाले ।

बाढी र पैरो हट्यो नि अब, अन्न नि झुल्दैछ
गाउँ र सहर बगैंचाभरि, फूल नि फुल्दैछ
कोरोना पनि हुँदैछ बिदा, सताउनु सतायो
थाहा नै नदी सुटुक्क आयो, मुटुनै जलायो ।

स्वास्थ्य नै ठूलो रहेछ हाम्रो, बुझ्नु छ सबैले
सम्पन्न छु म हुँदैन केही, नभनौं कसैले
जिन्दगी रहे देखिन्छ विश्व, किनेर किनिन्न
सुख र सन्तोष भोगिन्छ तर, आँखाले देखिन्न ।

परिवार मिलन सबैको होओस्, गरौं न कामना
दुःख र पीडा समस्या सबको, गरेर सामना
दशैंको चाड महत्व  बुझ्ने, कर्तव्य हाम्रो छ
मित्रता बाँड्ने संस्कृति हाम्रो, विश्वमै राम्रो छ ।

दशैंको टीका थाप्नु छ हामी, साइत हेरेर
आसिक लिई मनको धोको, मजाले फेरेर ।


डा. मुकुन्द पथिक
email: [email protected]