म समयको हिसाब किताब लगाइरहेछु
किन लम्बिन्छ आज भोली मेरो मुटुको आयातन ?
र धड्कनको तिब्रताले
किन उम्लिन्छ मेरो देब्रेपाटो ?
हिडिरहेकै थिए हिजो पनि
जीवन बोकेर एउटा बाटो
तर किन प्रिय लागिरहेछ अचानक
गन्तब्य नभएको यो यात्रा मलाई ?
खुशी उचालेर ओठ
किन मुस्कुराउनु भन्छ यो समय ?
मुक्त भएका छन् मेरा पदचापहरू
ब्यवहारको घेराबन्दीबाट
किन ठड्याउ भन्छ एउटा निलो पहाड ?
र उत्कर्षको रातोले छोपेर
नाप्नु भन्छ त्यसको अग्लाइ किन ?
सल्बलाउँछ छाति भित्र
आवेग र उत्साहको रगत किन
र तोडेर हिनताहरू
विजयको ध्वनी गुन्जन्छ त्यहीँ नेर ?
स्थापित भएर मन भित्र
स्वतन्त्रताको एउटा आकाशमा
खुशीको जून झुल्किएको छ
र त्यही उज्यालो बोकेर मन
दगुरिरहेछ आज भोली तिम्रो समीप
निमिट्यान्न भएका छन् पीडाका हपहपीहरू
र परिवर्तन भएर जीवनको धुन
म भित्र एउटा आभाष गुन्जिरहेछ ।
असाध्य सजिलो भएको छ निदाउन
देखेर एउटा सपना
र ब्युँझिन लालायित एउटा बिहान
कस्सिएको छ सम्भावनाको डोरी
र एउटा सुदुर आगत
मुस्कुराइ रहेछ आफ्नै सामुन्ने ।
किन उज्यालो लाग्छ धर्ती
फाटेर बादलहरू
मनको कुहिरो पराजित हुन्छ घामसँग ?
थपिएर एउटा उमङ्ग जिन्दगिमा
मन चुलबुले भएको छ ।
आजभोली
पराधिन भएर विरोध र नाइनास्तिहरू
हस्ताक्षर गरिदिन मन लाग्छ
तिम्रो हृदयमा आफुलाइ ।
समय बेहिसाब बगेको छ
समर्पणको सुस्केरा बोकेर।
तिमीले मेरो मनको मैदानमा
खेलेपछी प्रेमको खेल
परिवर्तन भएको छ
मेरो जिन्दगीको दर्शन पनि
साक्षात्कार भएर एउटा आनन्दी
मेरो साझ बिहान फुलेको छ
रातो गुलाबको रङ घोलेर
र उम्लिएर एउटा तरङ्ग
म भित्र
तिम्रै प्रेमको सम्पन्नता चुलिएको छ ।
लिला अनमोल, झापा
[email protected]