• २०८२ माघ २९, बिहीबार

नियात्राकार भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक तथा कवि विनोदीको उपचारार्थ सहयोग हस्तान्तरण

काठमाडौँ ।

नियात्राकार भवानी खतिवडाको चौथो नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’ लोकार्पण भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ कवि तथा नाटककार अशेष मल्ल, समालोचकहरू डा. अशोक थापा, महेश पौड्याल र नियात्राकार खतिवडाले कृतिको सामुहिक लोकार्पण गरेका हुन् ।

यस अवसरमा आयोजित अन्तरक्रियामा सहभागी नियात्राकार इल्या भट्टराईले भवानीको यस कृतिले उच्च हिमाली भेगको एक विशिष्ट अनुभूति पाठकसँग बाँड्न सफल भएको बताइन् । उनले भनिन्, ‘अन्यत्र पाइने सूचना शुष्क हुन्छ । यस कृतिले बाँड्ने अनुभूति सरस र विशिष्ट छ ।’ समालोचक पौड्यालले नियात्राबाट निजात्मकता हराउँदै गएको वर्तमान सन्दर्भमा भवानी खतिवडाले सरसता र निजात्मकताको सम्यक मिश्रण प्रस्तुत गरेको टिप्पणी गरे। उनले भने, ‘खतिवडाको लेखनमा उच्च हिमाली जनजीवन र हिमाली भव्यताका झिल्का पाइन्छन् । एक आम नेपाली नारीका लागि एक्लै यति दुष्कर भूगोलको यात्रा गर्नु र त्यसलाई कृतिको आकार दिनु आफैंमा एक विशिष्ट प्राप्ति हो ।’

परिचर्चाको मध्यस्थता समालोचक थापाले गरेको कार्यक्रममा सर्वनाम थिएटरले लोकार्पित कृतिको केही प्रसङ्ग समेटर नाटकको प्रदर्शन पनि गरिएको थियो । सर्वनामको एक्काइसौं ब्याचका विद्यार्थीले अभिनय गरेको उक्त नाटकमा उच्च हिमाली भेगमा भेटिने मौसमको अनिश्चितता, जीवनको जोखिम र त्यहाँ जीविका चलाउनकै लागि पर्यटकका भारी बोक्ने श्रमिक वर्गको कथा समेटिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नियात्राकार खतिवडाले भनिन्, ‘लेखन मेरो साधना हो । मैले परिवार र छोराछोरीप्रतिको जिम्मेवारी एउटा मुकामसम्म र्पुयाइसकेकी छु । मेरो बचेको समय भनेको साहित्य साधनाकै लागि हो ।’

उनले आफू एक श्रद्धालु बनेर हिमाली भेगको यात्रामा जाने र आफू स्पर्शित भएका प्रसङ्ग टिपेर त्यसलाई नियात्राको रूप दिने गरेको बताइन् । कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसअघि खतिवडाका ‘घामभन्दा पहिले’, ‘चारखोलाको आँगनीमा’ र ‘आकाश ओढेको डोल्पो’ प्रकाशित छन् । यसै कार्यक्रममा खतिवडाकै नेतृत्वमा प्रकाशन संस्था पेज टर्नरले क्यान्सरसँग लडिरहेका कवि गोविन्दराज विनोदीको उपचारार्थ चलाएको सहयोग अभियानमा जुटेको ४ लाख, ५५ हजार, ३ सय ५६ रुपैया कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरयो । रकमलाई वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरेका थिए ।