कविता-हिन्दी
काठमाडौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतन परिसरमा आयोजित कार्यक्रममा निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको सालिकमा समेत माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिन् ।
कार्यक्रमअन्तर्गत आयोजित काव्यसभामा कविहरू यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले आआफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका कार्यवाहक संयोजक डा. यादव भट्टराई, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्रा. डा. महादेव अवस्थी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले त्रिमूर्तिले देखाएको साहित्यिक तथा सिर्जनात्मक मार्गमा अघि बढ्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।
कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान तथा स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले नइ एकेडेमीको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतन स्थापना गरिएको हो ।
