समाचार
काठमाडौं ।
गीतकार, कवयित्री तथा साहित्यकार पुष्पा खनाललाई ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२’को अवसरमा ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ प्रदान गरिएको छ । प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संगीतको संरक्षण, संवद्र्धन तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
वि.सं. २०५५ सालदेखि साहित्यिक यात्रामा सक्रिय खनाल हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दै गीत, कविता, कथा तथा अन्य साहित्यिक विधामा निरन्तर सिर्जनारत हुनुहुन्छ। उहाँले दुई सयभन्दा बढी गीत रचना गरिसक्नुभएको छ। आम–मैले पुज्ने देव, माया केवल माया, यो आँखाको पानी, एउटा माझी, जिउनै पर्छ, तिम्रो खुशी, प्यासी प्यासी र पिरतीको गीत लगायतका गीत लोकप्रिय छन्। उहाँका पोखिएँ यसरी र गह पोखिएर गीतसङ्ग्रह तथा प्रतिष्ठा र अभिनव एल्बम प्रकाशित छन् । खनाल यसअघि ज्योति फिल्म्स म्युजिक अवार्ड–२०७९ (सर्वोत्कृष्ट गीतकार–लोकपप), सगरमाथा म्युजिक अवार्ड–२०७८(सर्वोत्कृष्ट महिला गीतकार),योङ्गमाइण्ड इन्टरटेइनमेन्ट अवार्ड–२०७६ (सर्वोत्कृष्ट गीतकार–राष्ट्रिय भाव) तथा विश्व गीतकार अवार्डअन्तर्गत उत्कृष्ट १०(पप गीत बाट सम्मानित भइसक्नुभएको छ ।
सम्मानप्रति खुशी व्यक्त गर्दै खनालले यसलाई आफ्नो सिर्जनात्मक यात्राप्रतिको विश्वास र थप जिम्मेवारीका रूपमा लिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नेपाली भाषा, साहित्य र संगीतको संरक्षण, विकास तथा विश्वव्यापी प्रवद्र्धनमा समर्पित भएर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले म्युजिक खबर डटकम, निर्णायक मण्डल तथा सम्पूर्ण आयोजक परिवारप्रति आभार व्यक्त गर्दै उक्त सम्मान सम्पूर्ण नेपाली स्रष्टा, श्रोता, पाठक र आफ्नो सिर्जनात्मक यात्रामा साथ दिने सबैप्रति समर्पित गर्नुभएको बताउनुभयो ।

