विषय प्रवेश:
प्रयोगात्मक नाटकको अध्ययनको क्रममा विशेष गरेर क्रान्तिकारी एवं राजनैतिक नाटकको थालनीमा दुईवटा अङ्ग्रेजी शब्दले बारम्बार स्थान पाएको देखिन्छ । ती हुन्- अभान्त गार्दे (Avant-Garde) र एजिट- प्रोप (Agit-Prop) । यी दुई अङ्ग्रेजी संयुक्तशव्दले क्रान्तिकारी एवं राजनैतिक विषयवस्तुमा आधारित नाट्य प्रस्तुतिमा महत्त्वपूर्ण स्थान ओगटेको छ । नाटकलाई जनपरिचालन गर्ने एउटा हतियारको रूपमा प्रयोग गर्नसक्ने सम्भावनावरे गरिएका विभिन्न प्रयास र प्रयत्नहरूमा नाटकलाई जनक्रान्तिअगाडि बढाउने प्रयास अनुरूप प्रचार- प्रसारको सशक्त माध्यमका रूपमा प्रयोग गर्न थालियो । यसै सन्दर्भमा अभान्त गार्दे र एजिट- प्रोप शब्दले ठाउँ पाएको देखिन्छ । यस लेखमा सामाजिक विरोधका क्रममा सिर्जनात्मक कार्यमा प्रयोग भएको अभान्त गर्देका बारेमा चर्चा गरिने छ ।
शाब्दिक परिचय:
फ्रान्सका सैनिकहरूले सीमा सुरक्षाका लागि अग्रिमरूपमा खटाउने सैैनिक टोलीलाई ‘भानगार्ड’ भन्ने गरिन्छ । जसको अर्थ हुन्छ एडभान्स गार्ड । अर्थात् अग्रिम सुरक्षा । यही ‘भानगार्ड’ शव्दलाई फ्रान्सेली विद्वानले सामाजिक सन्दर्भमा प्रयोग गरेर यसको प्रचारमा व्यापकता ल्याएको पाइन्छ । पहिलोपटक अभान्त गार्दे शव्दको प्रयोग Saint Simonion Olinde Rodrigues (सन् १७९५–१८५१) ले गरेको मानिन्छ । फ्रान्सको एउटा बैङ्कमा कार्यरत सेन्ट सिमोनियन गणित- शास्त्रीका साथै समाज सुधारक पनि थिए । उनले आफ्नो निबन्ध‘ ‘दि आर्टिस्ट, दि साइन्टिस्ट एन्ड दि इन्डस्ट्रिलिस्ट’ (सन् १८२५) मा अभान्त गार्दे शव्दको प्रयोग गरेका थिए । उनले अभान्त गार्दे शव्दको प्रयोग गरेर कलाको शक्तिका वरेमा व्याख्या गर्दै कलाको शक्तिले समाजमा, राजनीतिमा र अर्थतन्त्रमा समेत परिवर्तन ल्याउनसक्ने बताएका थिए । नयाँ प्रयोगकर्ता (अगाडि बढ्ने पहिलो प्रयास) लाई परिभाषित गर्ने शव्दको रूपमा सेन्ट सिमोनियनले अभान्त गार्दे शव्दको प्रयोग गरेका थिए । अर्थात् समाजलाई सुरक्षित गर्ने प्रक्रियाको थालनीलाई अभान्त गार्दे भनिन थाल्यो । उनले समाजमा नवीन विचारको प्रतिपादन र परिचालन सिर्जनाका प्रस्तोताले मात्र अगाडि बढेर नवीन सुधारको कार्य गर्नसक्ने बताएका थिए । यसरी सेन्ट सिमोनियनले अभान्त गार्देलाई अधिकारवेध गराउने सङ्घर्षसँग जोडेर यसवट आर्ट अफ आर्टिस्ट सेक’ अर्थात् ‘कलाको लागि कला’ को मान्यतालाई प्रतिपादन गरेका थिए । यसलाई निरन्तरता दिँदै सन् १८४५ मा गाब्रियल डिजायर लाभर्डेन्टले आफ्नो पुस्तक ‘डेला मिसन डे’ ल आर्ट एट डु रियोले डेस आर्टिस्टेस (Dela mission de l’art at du riole des Artistes) मा साहित्यमा अभान्त गार्देको आवश्यकतावरे प्रकाश पारेर अभान्त गार्देे शव्दको प्रयोग गरेका थिए । पछि सन् १८७८ मा वकुनिन (Bakunin) ले अभान्त- गार्दे प्रवृत्तिका नयाँ शैलीको नाटक सिर्जना गरेर अभान्त गार्दे प्रवृत्तिका नाटकलाई परिभाषित गरेको पाइन्छ । पछिगएर यो शव्द कला, संस्कृति र राजनीतिको क्षेत्रमा व्ढी प्रयोग हुनथाल्यो । विशेष गरेर नयाँ प्रयोग र नयाँ प्रस्तुति गर्ने सिर्जना वा समूहलाई जनाउने क्रममा अभान्त गार्दे शव्दको प्रयोग भएको पाइन्छ । नाम र विशेषण दुवैको प्रयोजनका लागि आउने गरेको अभान्त गार्दे शव्दलाई जनपरिचालन गर्दा राजनीतिक रूपमा प्रयोगसमेत गरिन्छ । वास्तवमा जव् कुनै कलाकर्मी (ललितकला र साहित्य तथा मञ्चन) ले आफ्नो सिर्जनामा नयाँ प्रयोग गर्छ त्यो अग्रिम (एडभान्स) प्रस्तुति हुनेगर्छ अर्थात् त्यो कला क्षेत्रको नवीनतम् प्रयोग भएर देखापर्छ । यही नयाँ शैली र प्रस्तुतिलाई प्रतिपादन गर्ने सर्जक वा समूहलाई कला- साहित्यको क्षेत्रमा अभान्त गार्दे भनिएको हो । सजिलोका लागि आफ्नो एउटा बेग्लै समुदायका कुनै क्रान्तिकारी कार्यको थालनी गर्ने व्यक्ति वा समूहलाई अभान्त गार्देका रूपमा परिचय गरिन्छ ।
प्रवृत्ति विस्तार:
यसरी जनअधिकार र समानताका लागि भएका सामाजिक आन्दोलनहरूमा अभान्त गार्दे प्रवृत्तिका नाटकहरूले स्थान पाउन थालेपछि अभान्त गार्देलाई परिभाषित गर्न धेरै नै लेखकहरूले प्रयास गर्दै गएको पाइन्छ । तर सन् १९६२ मा प्रकाशित पुस्तक ‘Dela mission de l’art at du riole des artistes’ का लेखक इटालीका निव्न्धकार Renato Poggioli ले आफ्नो पुस्तकमा अभान्त गार्देको ऐतिहासिक, सामाजिक, मनोविज्ञान, दर्शनशास्त्रका वरेमा चर्चा गरेर यस शव्दलाई विभिन्न कोणवट परिभाषित गर्न खोजेको पाइन्छ । अनि यसरी नवीन प्रयोग वा पहिलो प्रयोग वा प्रवृत्तिको पर्यायवाची शव्दका रूपमा अभान्त गार्दे शब्दको प्रयोगमा व्यापकता आउनथालेको पाइन्छ । पछिगएर अभान्त गार्दे कला–साहित्यको पहिलो प्रयास वा प्रस्तुतिको क्रममा व्ढी प्रयोग हुनथाल्यो । यो एक प्रकारले जनमानसमा प्रजातान्त्रिक चेतना अभिवृद्धि गराउने प्रयोगका रूपमा प्रस्तुत हुनथाल्यो । अमेरिकाका प्रयोगात्मक नाटककार अल्फ्रेड जेरीले आफ्ना नाटकमा नवीनतम प्रयोग भित्र्याउन थालेपछि प्रयोगात्मक नाटकहरू मञ्चन हुनथालेको मानिन्छ । अनि अभान्त गार्दे शव्दको प्रयोग नाटकमा एक प्रकारको प्रयोगात्मक (Experimental Theatre) नाटकका लागि हुनथाल्यो ।
अभान्त गार्दे नाटकले बुर्जुवा नाटकको विरोध गर्छ । त्यसैले विरोधमा आएको अभान्त गार्देले नाटकको मञ्चनमा भव्यताभन्दा सामान्यतामा बढी जोड दिइन्छ । अभान्त गार्दे प्रवृत्तिका नाटकमा शारीरिक भाषा, आङ्गिक चेष्टा, प्रयोगात्मक प्रस्तुति र चेतनामूलक भाषाको प्रयोग बढी हुनेगर्दछ । यसको प्रयोगकर्ता कलाकर्मी हुने गर्दछन् । चित्रकला, सङ्गीतकला, चलचित्रकला, नाट्यकला आदिसँग आवद्ध रहेका कलाकर्मी अभान्त गार्देका प्रयोगकर्ता हुनेगर्दछन् । सीमासुरक्षाका लागि सैनिकले पहिलो गार्ड (पहरेदार) पठाएजस्तै नाटकको सन्दर्भमा पनि जनसमुदायलाई चेतनाका कुरावट सुसूचित गराउने नाटकलाई अभान्त गार्दे नाटक मानिन्छ । अभान्त गार्दे प्रवृत्तिका नाटकले सामाजिक सुधारका प्रसङ्ग ल्याएर, शोषित वर्गको प्रतिनिधित्व गर्दै जनप्रगतिको वकालत गर्नेगर्दछ । नाटकलाई पनि नवीनतम प्रस्तुतिका माध्यमवट जनसमुदाय समक्ष ल्याउने गरिन्छ । त्यसैका लागि अभान्त गार्दे शव्द प्रयोगमा ल्याइएको देखिन्छ । नयाँ कुरालाई जनसमक्ष ल्याउने प्रक्रियालाई अभान्त गार्दे भनिएको हो । यसलाई उत्तर आधुनिकताको प्रयोग पनि मानिन्छ ।
अभान्त गार्देलाई निरन्तरता दिन डाडावादको पनि महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । डाडाइजमको सुरुवात जुरिचवट फरवरी सन् १९१६ देखि भएको मानिन्छ । जर्मन कवि ह्युगो बल शरणार्थी भएर जुरिच आएपछि उनले त्यहीँ बसेर राजनैतिक चेतनामूलक साहित्य सिर्जना गर्नथाले । उनले त्यहाँका स्थानीय साहित्यानुरागीलाई समेत समावेश गराउन जुरिचको एउटा रात्रिक्लव्लाई जमघटस्थल बनाएरपछि त्यहाँ कवि- साहित्यकारसँगै चित्रकारी र संवादात्मक अभिव्यक्ति दिनेखालका सिर्जनात्मक प्रस्तुतिहरूको आदान-प्रदान हुनथाल्यो । क्लब बाहिर खुल्ला ठाउँमा रङ्गमञ्चीय प्रस्तुतिको थालनी पनि सुरू भयो । कला- साहित्य एवं रङ्गमञ्चीय प्रस्तुतिको थालनी भएपछि यसलाई एउटा रूप दिने क्रममा जर्मन र फ्रेन्च शब्दकोशवट डाडा (Dada) शव्द निकालियो, जसको अर्थ हुन्छ शून्य । यसरी शून्यवाद (Dadaism) को थालनी भएको थियो । कलामा डाडावादको थालनीपछि युरोपभरि नै साहित्य र कला प्रस्तुतिहरूमा नयाँ शिल्प र शैलीको प्रयोग भएर अभान्त गार्दे शव्द आएको मानिन्छ ।
नेपालमा अभान्त गार्दे नाटकको प्रयास :
नेपालमा अभान्त गार्दे प्रवृत्तिको साहित्यका वरेमा कुरा गर्नुपर्दा पहलवान सिंह स्वाँरको ‘अटलव्हादुर’ (१९६३) नाटक अग्रपङ्क्तिमा देखापर्छ । राणाविरोधी यस नाटकको प्रकाशनपछि स्वाँरलाई देश निकाला गरिएको थियो भने यो नाटक १९६६ सालमा दार्जिलिङमा मञ्चन भएको थियो । त्यसपछि कृष्णलाल अधिकारीको ‘मकैंको खेती’ (१९७७) कवितालाई अभान्त गार्दे प्रवृत्ति भएको कविताका रूपमा लिन सकिन्छ । राणाशासकको विरोधमा लेखिएको अभियोगमा यसै कविताका लागि अधिकारीलाई फाँसी दिइएको थियो । यसलाई नेपाली साहित्यमा ‘मकैपर्व’ का रूपमा चिनिन्छ । त्यसपछि नेपाली साहित्यमा अभान्त गार्दे प्रवृत्तिका साहित्यिक आन्दोलनका रूपमा राल्फाली समूह, वेदना परिवार, इसास (इन्द्रेणी सांस्कृतिक समूह) र सडककविता- क्रान्तिलाई लिन सकिन्छ । यी सबै अभान्त गार्देका प्रयासहरू २०४६ साल अघि भएका थिए ।
नेपाली रङ्गमञ्चमा अभान्त गार्दे र एजिट- प्रोप प्रवृत्तिका नाटकको वरेमा अध्ययन गर्दा हामी अखण्ड भारतमा बेलायती शासकका विरुद्ध नाटक गर्ने ‘इप्टा’ (इन्डियन पिपुलस् थिएटर एसोसिएसन) वट मञ्चित नाटकहरूमा यी नाट्य प्रवृत्ति रहेको पाउँछौं । इप्टाका माध्यमवट सुरु भएको (एजिट प्रोप) विरोध र हल्ला तथा पहिलोपटक शासकविरुद्धको अभान्त गार्दे प्रवृत्तिका नाटकहरूले भारतको स्वतन्त्रता सङ्ग्राममा जनपरिचालन गर्न, गराउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सम्भवतः यही वास्तविकतालाई बुझेर नेपालको पञ्चायती तानाशाही शासन व्यवस्था विरुद्ध जनमत बटुल्न ‘खाल्डो’ सडकनाटकको मञ्चन भएको थियो । धेरथोर मात्रामा भए पनि सूचनाको हकवट वञ्चित भएका सर्वसाधारण जनतालाई तत्कालीन यथार्थतासँगै राष्ट्रप्रतिको नागरिक कर्तब्यबोध गराउँदै आफ्नो मौलिक हक र अधिकारका लागि आफैँ अगाडि बढ्नुपर्ने वास्तविकता बुझाउन सहयोग पुर्याउने विश्वास लिएर ‘खाल्डो’ सडकनाटक नेपालमा मञ्चन भएको मानिन्छ । दिल्लीमा भारतीय कथाकार कृश्न चन्दरको ‘खड्डा’ शीर्षकको कथालाई नाट्यरूपान्तरण गरी हिन्दी सडकनाटक देखाइएको थियो । दिल्ली भ्रमणको क्रममा रायनको नेतृत्वमा अनुवाद भएको ‘खाल्डो’ को नेपाली रूपान्तरणको नाटकीय मञ्चन सर्वप्रथम भारतमा सफल मञ्चन भएपछि यसलाई नेपालमा पनि देखाउनुपर्ने राय सल्लाहहरू सबैतिरबाट आउन थालेपछि साहित्यकार पारिजातको निर्माण- व्यवस्थापन एवं रायनको नेतृत्वमा ‘खाल्डो’ को नाट्यरूपान्तरण २०३६/०३७ सालतिर नेपालमा मञ्चन भएको थियो । यो नाटक मञ्चन गर्न हरिगोविन्द लुइँटेल र रायनले प्रमुख भूमिका खेलेको कुरा उनीहरू पनि स्वीकार्छन् । ‘खाल्डो’ खुलामञ्च-नाटकको मञ्चन काठमाडौँमा भएको वरे पुराना रङ्गकर्मीहरू स्वीकार्छन् । तर यसवरे कुनै लिखित दस्तावेजहरू प्राप्त भएको छैन । वरिष्ठ रङ्गकर्मी प्रचण्ड मल्ल पनि काठमाडौँको सडकमा खुलारूपमा नाटक- मञ्चन भएकोवरे आफूले सुनेको कुरा व्ताउँछन् । पहिलोपटक अभान्त गार्दे प्रवृत्तिलाई नेपालमा भित्र्याउने ‘खाल्डो’ नाटकको मञ्चन रायनको संयजोकत्वमा काठमाडौँको वसन्तपुर, त्रिचन्द्र क्याम्पस, तीनधारा पाठशाला लगायत कीर्तिपुर, बनेपाका विभिन्न चोकहरूमा अनि उपत्यकावहिर सिराहा, चितवन, विराटनगर आदि ठाउँहरूमा गरिएको थियो ।
खाल्डो कथा कृश्न चन्दरको प्रसिद्ध कथामध्येको एउटा कथा हो । कथाअनुसार एकजना व्टुवा खाल्डोमा खसेपछि ऊ आफू वहिर निस्कन वटोमा हिँड्ने सबै बटुवाहरूसँग हारगुहार माग्छ तर कसैले पनि उसलाई निकालिदिँदैनन् । अन्त्यमा ऊ आफैँ खाल्डोमा खसेकोले आफ्नै प्रयत्नबाट निस्कने अठोट गर्छ र विभिन्न चेष्टा, प्रयत्न र प्रयास गर्दै ऊ आफैँ वहिर निस्कन्छ । नाटकले मानिसले आफ्नो सङ्घर्ष आफैं गर्नुपर्ने र आफ्नो विपत्तिलाई आफैँले नै हटाउनुपर्ने जस्ता प्रेरणादायी कुराहरूलाई दर्शकमाझ छोडेको थियो । यसरी अभान्त गार्दे शैलीलाई आत्मसात् गर्दै ‘खाल्डो’ नाटक मञ्चन भएको देखिन्छ । तत्कालीन शासन व्यवस्थाका विरुद्ध जनमत व्टुल्न पहिलो प्रयासका रूपमा मञ्चन भएको ‘खाल्डो’ नाटकलाई अभान्त गार्देको पहिलो प्रयासका रूपमा लिन सकिन्छ । रायनका अनुसार उनले वि.सं. २०३८/०३९ सालतिर प्रसिद्ध रुसी कथाकार एवं नाटककार अन्तोन चेखवको कथामा आधारित नाटक ‘छेपारो’ लाई भावानुवाद गरी राजधानीलगायत अन्य विभिन्न ठाउँहरूमा मञ्चन गराएका थिए । यी नाटकहरू मञ्चन भएको वरे मौखिक जानकारी मात्र प्राप्त भएकाले यसलाई नेपालमा अभान्त गार्दे नाटकको प्रयासका रूपमा लिन सकिन्छ ।
पहिलो नेपाली अभान्त गार्दे नाटक:
वि.सं. २०३९ साल भदौ २० गतेका दिन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको कोरोनेसन गार्डेनमा कीर्तिपुर क्याम्पसका विद्यार्थीहरूलाई जम्मा गरेर पहिलो प्रयोगका रूपमा अशेष मल्लद्वारा लिखित एवम् निर्देशित सडकनाटक ‘हामी वसन्त खोजिरहेछौँ’ र ‘समाप्त- असमाप्त’ दुईवटा नाटक प्रदर्शन गरेर सर्वनामले सडकनाटकको थालनी गरेको पाइन्छ । सर्वनामको यस कार्यलाई कतिपय रङ्गसमीक्षकहरू आधुनिक सडकनाटकको जन्म सर्वनामवट भएको कुरा स्वीकारेका छन् । सर्वनामको आगमनपछि सडकनाटकले नियमितता पाउँदै गएको देखिन्छ । वि.सं. २०३५ अघिसम्म पञ्चायतको निरङ्कुश शासनव्यवस्था रहेको र ०३६ सालको जनमत-सङ्ग्रहपछि सुधारिएको पञ्चायती व्यवस्था भनिएकाले सञ्चारका माध्यमहरूमा केही खुकुलोपन देखापर्न थालेको थियो । सञ्चारको प्रगतिले विश्वलाई खुम्चाइरहेको वेलामा नेपालमा पनि सञ्चारको विकासले गति पाइरहेको थियो । यस्तो अवस्थामा नेपाली रङ्गमञ्चमा देखापरेको नव नाट्यशैलीले सञ्चारमा स्थान पाउनु स्वाभाविकै थियो । यही वास्तविकताले गर्दा ‘सर्वनाम’ को सडकनाटकले नेपाली छापाहरूमा राम्रो स्थान पायो, जुन यसअघिका रङ्गमञ्चीय गतिविधिले पाएको देखिँदैन । सडकनाटक- मञ्चनको समाचारले व्यापकता पाएपछि नेपालमा सडकनाटकका जनक भनेर सर्वनाम चिनिएको देखिन्छ । नेपाली छापाहरूमा पनि सर्वनामको ‘हामी वसन्त खोजिरहेछौँ’ पहिलो सडकनाटक र सर्वनाम नाट्यसमूह पहिलो प्रस्तुतिका रूपमा चर्चा भएको पाइन्छ ।
‘हामी वसन्त खोजिरहेछौँ’ नाटकले अभान्त गार्दे प्रवृत्तिलाई आत्मसात् गरेको छ । तत्कालीन सुधारिएको पञ्चायती व्यवस्थामा फितलो प्रजातन्त्र रहेको पहिलो आभास दिने काम यस नाटकले गरेकाले यस नाटकलाई अभान्त गार्देको पहिलो नमुनाका रूपमा लिन सकिन्छ । वसन्तलाई प्रजातन्त्रको प्रतीकका रूपमा प्रस्तुत गर्दै साह्रा जनता वसन्तको खोजीमा भौतारिरहेको र एकतान्त्रिक शासन व्यवस्थाको प्रचण्ड आगोमा देश जलिरहँदा पनि शासकहरू भने आगोमा पनि शीतलता रहेको भ्रामक आभास जनमानसमा पुर्याउँदै गएको तर जनताहरू एकजुट भएर तपस्वीका रूपमा देखापरेको दलको प्रतीकसँग मिलेर वसन्तको खोजीमा निस्केको प्रतीकात्मक सन्देश दिन खोजेको छ । प्रस्तुत नाटकले बहुला पात्रको प्रतीकात्मक प्रयोगबाट प्रजातन्त्र प्राप्तिका लागि जनता हतियार उठाउनसमेत पछि नपर्ने सङ्केत दिएको छ । नेपाली नाटकमा पहिलोपटक ‘अटलब । हादुर’ नाटकमा विरोधका स्वरहरू पाइएको थियो र राजनैतिक विरोधका कारण नाटकले मञ्च पाउन सकेन । पहलवानसिंह स्वाँरको ‘अटलबहादुर’ नाटकपछि राजनैतिक विषयवस्तुलाई प्रतीकात्मकरूपमा यस नाटकले प्रस्तुत गरेको छ । मञ्चित नाटकबाट राजनैतिक विसङ्गतिका बारेमा पहिलो चेतना दिने काम अर्थात अभान्त गार्देको थालनी ‘हामी वसन्त खोजिरहेछौँ’ नाटकबाट भएकाले यस नाटकलाई पहिलो नेपाली अभान्त गार्दे नाटकका रूपमा लिन सकिन्छ ।
सर्वनामले सडकनाटक जन्माउने काम मात्र गरेन, त्यसलाई व्यापक र उचाइमा पुर्याउने काम पनि जिम्मेवारीपूर्वक गरेको देखिन्छ । सडकनाटकको थालनीपछिे अभान्त गार्दे प्रवृत्तिका नाटकहरूको प्रस्तुतिमा सर्वनामले व्यापकता ल्याउँदै सप्ताहव्यापी सडकनाटक अभियानको थालनी गराएर सडकनाटकलाई काठमाडौँका विभिन्न क्याम्पस, सडक, गल्ली, चोक, डबली, चौर आदि खुला ठाउँहरूमा मञ्चन गर्नथाल्यो । मल्लकालपछि प्रायः सेलाइसकेको डबली परम्परालाई सडकनाटकले फेरि ब्यूँत्यायो । वि.सं. २०४० असोज महिनादेख सर्वनामले अभान्त गार्दे प्रवृत्तिका सडकनाटकलाई राजधानीबाहिर पनि मञ्चन गराउन थाल्यो । सर्वनामको सडकनाटक नेपालका अनकन्टार गाउँगाँउमा अभान्त गार्दे भएर देखापर्न थाले । ‘हामी वसन्त खोजिरहेछौँ’ नाटकका माध्यमबाट सर्वनामले मोफसलका दर्शकहरूको घरआँगनमा पुगेर मुलुकको वास्तविकतासँग परिचित गराउँदै मानवअधिकारका र प्रजातन्त्रका लागि जनमत बटुल्न थाल्यो । एकातिर तीसको दशकदेखि नै गीतसङ्गीतका माध्यमबाट राल्फाली समूह अभान्त गार्देलाई नेपालमा परिचय गराउँदै थिए भने त्यसलाई मञ्चबाट सर्वनामले निरन्तरता दिँदैगयो ।
सर्वनामको ‘हामी वसन्त खोजिरहेछौँ’ नेपाली रङ्गमञ्चमा देखापरेको पहिलो अभान्त गार्दे र एजिट- प्रोप नाटक हुनुका प्रमुख कारणहरूमा:
१. सत्ताको विरोध र हल्लाको शैलीमा लेखेर खुलारूपमा मञ्चन गरिएको पहिलो नाटक ।
२. खुलारूपमा नाटकका माध्यमबाट पहिलोपटक एकतन्त्रीय शासन व्यवस्थाको विरोध ।
३. पञ्चायती समर्थक पात्रका माध्यमबाट प्रजातन्त्रको भ्रामक प्रचार ।
४. एकतन्त्रीय शासन व्यवस्थाको विरोधीमाथि हुने गरेको मानसिक तथा शारीरिक यातनाको कुभावबाट उत्पन्न विकृति ।
५. प्रजातन्त्रको अभावमा राष्ट्र जलिरहेको प्रतीकात्मक सन्देश ।
६. समानताको लागि प्रजातन्त्र नै एक मात्र विकल्पको शङ्खघोष ।
७. क्रान्तिकारी एवं राजनैतिक विषयवस्तु भएको नाटकलाई खुलामञ्चमा प्रस्तुत ।
८. एकताका लागि आह्वान आदि रहेको छ ।
यी माथि उल्लेखित विशेषताहरूबाट नै ‘हामी वसन्त खोजिरहेछौँ’ नाटकलाई अभान्त गार्दे प्रवृत्तिको कसीमा राखेर हेर्दा प्रस्तुत नाटकले प्रजातन्त्रको स्थापनाका लागि खुलेआम शङ्खघोष गर्दै क्रान्तिकारी एवं राजनैतिक विषयवस्तुमा आधारित नाटकको मञ्चन खुला आकाशमा गरेर पहिलो बिगुल फुकेको छ । अभान्त गार्देले प्रतिपादन गर्दै जनमानसका लागि नौलो प्रयासको थालनी यस नाटकले गरेको छ भने विरोधको हल्ला फिँजाएर जनमत बढाउने काम पनि गरेको छ । सामाजिक परिवर्तनका लागि प्रस्तुत ‘हामी वसन्त खोजिरहेछौँ’ नाटकलाई नेपाली रङ्गमञ्चमा देखापरेको पहिलो अभान्त गार्दे नाटकका रूपमा लिन सकिन्छ । यही नाटकले एजिट- प्रोप नाट्यशैलीले प्रतिपादन गरेको विरोधका लागि जनमतको आवश्यकतालाई अड्कारो रूपले जनमानमा पु¥याउने काम गरेको छ । त्यसैले ‘हामी वसन्त खोजिरहेछौँ’ नाटकलाई नेपाली रङ्गमञ्चको पहिलो अभान्त गार्दे र एजिट- प्रोप प्रवृत्ति भएको नाटकका रूपमा लिन सकिन्छ ।
(सेप्टेम्बर २८, २०१२)
(हाल टोरोन्टो, क्यानडा निवासी डा. रावत चर्चित रङ्गकर्मी- साहित्यकार हुन्)
[email protected]