• २०८१ फागुन ३ शनिवार

सिद्धिचरण श्रेष्ठका दुई कविता

सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ

१. मेरो पालि

मभन्दा पहिले कोही आई यसमा गाएथ्यो गान,
तनहूँ बस्ने यौटा बाहुन, उनी भानुभक्त महान ।

तरु, वन, खोला, गिरिको ध्वनिमा गाइगाई रामायन
बालीको घट–घटभित्र भरिदिएथ्यो नारायन ।

गाउन अब यो मेरो पालि उनकै बाटो अगुवाई
नारायन नै नर हो भन्ने चैतन्य नयाँ झल्काई ।

राम र रावण, बुद्ध र शङ्करबीचको भेद छुटयाई
डोरÞ्याउनु छ नेपालीको बाटो मैले पहिल्याई ।

युग–युग मिश्रित आर्य, अनार्य, शैल, फाँट सब एक बनाई,
यौटै लयमा, यौटै सुरमा ढाल्नु छ मैले अब गाई ।

२. व्यक्तिभित्र समष्टि

मैले नदेखेका र नपुगेका सारा गाउँ र सहरहरू
मेरो सलाम छ !
मलाई आएन र देखेन नभन ।
सबैलाई देखेको छु,
सबैलाई चिनेको छु,
मेरो यो जीवनमा सबैको प्रतिविम्ब परिरहन्छ ।
समस्त संसार म बसेको ठाउँ त हो नि
समस्त विश्वका मानिसहरू म नै त हुँ नि ।
देखेन नभन, आएन नभन,
समस्तको जित जित्छु, समस्तको जन्म म जन्मन्छु ।


सिद्धिचरण श्रेष्ठ