समाचार
काठमाडौं ।
साहित्यकार मोती शोभा श्रेष्ठको पाँच पुस्तक एकसाथ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. विमल कोइरालालगायत व्यक्तिहरूले ती कृति सार्वजनिक गरेका हुन् । साहित्यकार श्रेष्ठको कथाकृति ‘सपनाको उडान’, यात्रा संस्मरण ‘यात्राको वेग: अनुभूतिको संवेग’, नेपालीबाट नेपालभाषामा अनूदित ‘रंगीचंगी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ र नेपालीबाट अंग्रेजीमा अनुवाद गरिएको ‘मदर हु नेम्ड मी सत्य’ लोकार्पण गरियो ।
कार्यक्रममा डा. कोइरालाले कृतिकारको लेखन सक्रियताको प्रशंसा गर्दै सिर्जनात्मक लेखन कार्य कठिन भएको बताए । श्रेष्ठका कृति पाठकका निम्ति रुचिकर हुने उनले उल्लेख गरे । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रविधिको यो युगमा यसले जति सुविधा दिएको छ, त्यति नै परिवारबाट टाढा लैजाँदै गरेको प्रसंग उठाए । यस्तो समयमा पनि पाँच पुस्तकको सिर्जना गर्नु प्रशंसनीय भएको बताए ।
साहित्यकार भागीरथी श्रेष्ठ तथा ज्ञानेन्द्र विवशले दुई कृतिमाथि पाठकीय मन्तव्य राखे । साहित्यकार शंकरप्रसाद कोइरालाले पुराना दिन स्मरण गरे । ४० वर्षअघि आफू शाखा अधिकृतमा पदस्थापन हुँदा मोती शोभा श्रेष्ठले काम सिकाएको सन्दर्भ उनले सुनाए । निजामती सेवाबाट निवृत्त भए पनि मोती शोभाको साहित्य सेवा यथावत् रहेको भन्दै उनले निरन्तरताको कामना गरे ।
कृतिकार श्रेष्ठले मनमा आएमा भावना र विचारलाई लिपिबद्ध गर्दै जाँदा यी कृतिहरू जन्मिएको बताइन् । कृतिकार श्रेष्ठका १७ पुस्तक प्रकाशित छन् ।
