• २०८३ कार्तिक २१, शुक्रबार

गजल

विद्यानन्द वेदर्दी

विद्यानन्द वेदर्दी

आफू बा भएपछि सम्झिँदै छु बालाई फेरि
बलिदान दिनु पर्छ कयौँ सपनालाई फेरि

एउटै बोटको फूल टिप्न दुईले झगडा गर्छन्
आखिर चढाउँछन् एउटै देउतालाई फेरि

तिमी बस्छौ आँखामा, तिमी भएको मन पर्छ
गरूँ दान हर मृत्युपछि यी आँखालाई फेरि

बैनीलाई शिक्षा र सीप दिएँ अनि बैनी दिएँ
यति दिँदा दाइजो चाहिन्छ दुल्हालाई फेरि

मसँग भेट्न नदिई बाँधेर राख्छ मायालुलाई
कहिल्यै बाँध्न सकिन्छ र ! मायालाई फेरि ?

न त स्वर्गको लोभ छ, न त नर्कको कुनै डर
आफ्नै चिहानमाथि ठोक्दैछु प्यालालाई फेरि


अग्नीसाईर कृष्ण-सवरण-४, सप्तरी