समाचार
कहिलेकाहीँ गन्तव्यले भन्दा यात्राले बढी लोभ्याउँछ। आँखाले देखेका दृश्यभन्दा मनले अनुभूत गरेका क्षणहरू बढी सुन्दर हुँदा रहेछन्। छोराछोरीहरूले मिलेर पदयात्रामा जाने योजना बनाएका रहेछन्। उनीहरू हाम्रो अनुमतिसहित यात्रामा हाम्रो साथ पनि चाहन्थे। तसर्थ उनीहरूलाई अभिभावकको भूमिका प्रदान गर्न र आफूले पनि फरक अनुभूतिको खोजी गर्न जेन्जी पुस्ताका छोराछोरीसँग म पनि प्रकृतिको अनुपम सौन्दर्यले सजिएको पुनहिलको पदयात्रामा जाने मनस्थिति बनाएँ।
घोरेपानी–पुनहिल पदयात्रा अन्नपूर्ण पदमार्गको एक खण्ड हो। पहिलोपटक पदयात्रा गर्नेहरूका लागि मौसम र स्वास्थ्यका दृष्टिकोणले पनि पुनहिल सुरक्षित र उपयुक्त गन्तव्य हुन सक्छ। पुनहिल गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
(२०८३ कात्तिक १५, बुधबार) दिउँसो १२:१५ बजे बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै हाम्रो गाडी पोखराका लागि गुड्यो। गाडीमा नौ जना थियौँ। तर पदयात्रामा जाने जम्मा पाँच जना मात्र थियौँ। गोलपार्कबाट गाडी अगाडि बढेपछि शीतल महसुस भयो। अबका केही दिन तराईको उखुम गर्मीबाट अलिकति भए पनि राहत पाइनेछ भन्ने लाग्यो। हामी दोभान, झुम्सा, केराबारी र जोरधारा हुँदै डुम्रेतर्फ अगाडि बढ्यौँ। डुम्रेको बटुक र पकौडा नचाखी अघि बढ्न कसरी सकिन्थ्यो र? केही नास्ता गर्यौँ र फेरि गल्याङ पुगेर तातो चिया पियौँ अनि यात्रा जारी राख्यौँ।
जिल्ला पशुसेवा कार्यालय, कास्की, पोखरामा कार्यरत साढुभाइ डा. आशिष गौतमको क्वार्टरमा बास बस्यौँ। श्रीमती लक्ष्मी पनि पदयात्रामा जान अत्यन्तै उत्सुक थिइन्, तर घुमाउरो नागबेली बाटोका कारण उनलाई मोसन सिकनेस (यात्राका क्रममा हुने वाकवाकी तथा असहजता) को समस्या भयो। श्रीमती लक्ष्मी र छोरी काव्यालाई सालीबहिनी निशासँगै पोखरामा छोडेर हामी चार जना—कृशल, क्रिप्सन, क्रिस्टिना र म (उद्धव)—पदयात्रामा निस्कने निधो गर्यौँ।
भोलिपल्ट बिहानै उठेर नित्यकर्म सकियो। चिया खाएर पोखराको हरिचोकतिर लाग्यौँ। बिहान ७:२० बजे हरिचोकबाट स्कार्पियो चढेपछि हाम्रो यात्रा अघि बढ्यो। बनठाँटीसम्मको भाडा प्रतिगाडी रु. ८,००० रहेछ र यात्रुहरूले दामासाहीमा तिर्नुपर्ने रहेछ। पोखराबाट हेम्जा र लुम्ले हुँदै अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमाल र मनोरम प्राकृतिक दृश्य हेर्दै तथा क्यामेरामा कैद गर्दै हामी अघि बढ्यौँ।
नयाँपुल पदयात्राको प्रस्थानबिन्दु रहेछ। पुनहिल, घान्द्रुक, मर्दी, एबीसीलगायतका पदयात्रा गन्तव्यतर्फ जानेहरू यहीँबाट सँगसँगै अघि बढ्दा रहेछन् र निश्चित ठाउँमा पुगेपछि आ–आफ्नो गन्तव्यतर्फ छुट्टिँदा रहेछन्। नयाँपुलका साना पसलमा पाक्दै गरेका सेलरोटी र समोसा देखेपछि मन कहाँ थामिन्थ्यो र? तात्तातो स्वादिलो समोसाको मज्जा लियौँ। अघि बढेपछि बीरेठाँटीमा विदेशी पर्यटकको अनुमतिपत्र जाँच गर्ने चेकपोस्ट रहेछ। मोदी नदीको किनार हुँदै यात्रा अघि बढ्यो।
पदयात्रीहरूले आफ्नो चाहना र अनुकूलताअनुसार पदयात्राको आरम्भस्थल छनोट गर्दा रहेछन्। हामीले बनठाँटीबाट यात्रा आरम्भ गर्ने सोच बनायौँ। हिले, तिखेढुङ्गा र उल्लेरी बजार हुँदै करिब बिहान १० बजे हामी बनठाँटी पुग्यौँ। भोक लागिसकेको थियो। त्यहाँको फिस टेल पिक गेस्टहाउस एन्ड रेस्टुरेन्टमा कफी र नास्ता लियौँ। त्यहाँका सञ्चालकको सल्लाहअनुसार कफी, तिब्बतियन ब्रेड र तरकारी खायौँ। एकछिन फ्रेस भयौँ र तस्बिर खिच्यौँ।
हामी अत्यन्तै उत्साहित थियौँ। मौसम घमाइलो थियो। नीलो आकाशमा बादलका टुक्रा पनि देखिएका थिएनन्। मौसम राम्रो हुनु पनि यात्रा सफल हुने बलियो सङ्केत थियो। अब बल्ल बनठाँटीबाट हाम्रो पदयात्रा सुरु भयो।
बाटोमा चेक गणतन्त्रको एउटै परिवारका तीन पुस्ताका पदयात्री पनि हामीसँगै थिए। उनीहरू दस वर्षदेखि निरन्तर नेपाल आउँदा रहेछन्। उनीहरूसँग गफिँदै, आफ्ना विचार र अनुभव साट्दै हामी अघि बढ्यौँ। साँघुरो भिरको बाटो, नौलो परिवेश र प्राकृतिक सौन्दर्य सहरको भीडभाड, कोलाहल र व्यस्त दैनिकीभन्दा निश्चय नै अमूल्य थियो।
गुराँसको घना जङ्गलको बीचबाट अघि बढेको गग्रेटो बाटोमा कतै ढुङ्गे सिँढीहरू पनि थिए। कतै खोलाको सुसाहट त कतै चराचुरुङ्गीको मधुर आवाजले यात्रालाई सङ्गीतमय बनाइरहेको थियो। यात्राका हाँसो, ठट्टा, संवाद र अन्ताक्षरीले उकालोको कठिनाइलाई पनि सहज बनाइदिएका थिए। लाग्थ्यो, हामी केवल पहाड चढिरहेका थिएनौँ, नवीन अनुभवका असङ्ख्य खुड्किला चढिरहेका थियौँ।
बाटाका हरेक नौला दृश्यले मोहित बनाएका थिए। त्यस्तो कुनै ठाउँ थिएन, जहाँ तस्बिर नखिचूँ र टक्क अडिएर सौन्दर्यको रसास्वादन नगरूँ। नौलो अनुभव सङ्गाल्दै हामी नाङ्गेठाँटी पुग्यौँ। नाङ्गेठाँटी पदयात्रीले खाना खाने ठाउँ रहेछ। त्यहाँ केही होटल र पातलो बस्ती थियो। हिँड्दा गर्मी भएको थियो। चिसो पेय पदार्थ किनेर खायौँ र एकछिन विश्राम गरेपछि फेरि अघि लाग्यौँ।
करिब ३ बजे घोरेपानी पुगियो। प्रवेशद्वारमै प्रहरी चेकपोस्ट रहेछ। हामीले आफ्नो विवरण टिपाएर होटलको खोजीमा लाग्यौँ। शिखर गेस्टहाउस तथा रेस्टुरेन्टमा बस्ने निधो भयो। यहाँ खाना र बसाइको प्याकेज नै हुँदो रहेछ। छोराछोरीहरू त राम्रै मोलमोलाइ गर्न सक्ने भएछन्! बार्गेनिङ गरेर रु. १,४०० को प्याकेज रु. १,००० मा तय गरे। यो देखेर लाग्यो, नवपुस्ता आर्थिक रूपमा पनि मितव्ययी रहेछ।
साँझ ४:३० बजेपछि जाडो बढ्न थाल्यो। हामीले आफैँ कफी बनायौँ। होटलवालालाई चाउचाउको सुप बनाउन लगाएर कफी र चाउचाउको सुप पियौँ अनि आराम गर्यौँ। दिउँसोको हिँडाइले जिउ थाकेको रहेछ, मीठो निद्रा लाग्यो। साँझको खाना ज्यादै मीठो भयो। त्यसमा स्वाद मात्र होइन, होटलवालाको आत्मीय व्यवहार र हार्दिकताको न्यानोपन पनि मिसिएको थियो। खाना खाएर आगो ताप्यौँ र सुत्ने तयारी गर्यौँ।
त्यस दिन बिजुली रहेनछ। अँध्यारोमै रात बित्ने भयो। मोबाइलको चार्ज सकिन थाल्यो, पावर बैंक पनि रित्तियो र एउटा लाइटको चार्जसमेत सकियो। विद्युतीकरणले हाम्रो व्यवहारमा निकै परिवर्तन ल्याएको रहेछ। हामी बिजुलीमै पूर्ण निर्भर भइसकेका रहेछौँ। बिजुलीबिनाको एक रात साह्रै कष्टकर लाग्यो।
त्यही अँध्यारोमा म कृशलको ठट्यौली हाउभाउ, क्रिस्टिनाको परिपक्वता र क्रिप्सनको समन्वयकारी भूमिका नियालिरहेको थिएँ। बालबालिका कति चाँडो हुर्कँदा रहेछन्, कति चाँडो परिपक्व हुँदै जाँदा रहेछन्! समयले कति धेरै कुरा सिकाउँदै जाँदो रहेछ, पत्तै हुँदैन। कोठामा पुगेपछि हामीले हाँसखेल गर्यौँ, रमाइलो गर्यौँ र सुत्यौँ।
बिहान ४:४५ मै उठियो। नित्यकर्म सकेर सूर्योदय हेर्न उकालो चढ्ने तयारी गर्यौँ। बिहानको तापक्रम ७ डिग्री सेल्सियस रहेछ। न्यानो कपडा लगाएर, हातमा लाइट र लौरो बोकेर फेरि यात्रा सुरु गर्यौँ। चिसो, अँध्यारो, अपरिचित बाटो र एउटै लाइटको सहारामा हाम्रो यात्रा अघि बढ्यो। ठाडा सिँढीसहितको उकालो हिँड्न हम्मेहम्मे नै पर्यो। कृशल र क्रिप्सन त अघि दौडिहाले। क्रिस्टिना र मलाई चाहिँ अलि गाह्रो भयो। तैपनि थकाइ मार्दै गुराँसको जङ्गलबीचबाट माथि उक्लिँदै गयौँ।
बाटोभरि सिँढी चढ्नेहरूको लर्को थियो। पूर्वी आकाशमा लालिमा छाउँदै थियो। खुला आकाश र चाँदीझैँ टल्किएका हिमाल हेर्दै, दृश्य कैद गर्दै हामी अन्ततः पुनहिलको चुचुरोमा पुग्यौँ। त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको भीड जम्मा भइसकेको रहेछ। हामी पनि त्यही भीडमा मिसियौँ।
पुनहिल ३,२१० मिटरको उचाइमा अवस्थित छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि र हिउँचुलीजस्ता दर्जनभन्दा बढी हिमाल आँखैअगाडि देखिन्छन्। हिमशृङ्खलाको मनोरम दृश्य देख्दा सारा थकान छुमन्तर भएर गायब भयो। सूर्योदय भयो। सूर्यका किरण हिमालका चुचुरामा पर्न थालेपछि एकाएक चाँदीजस्ता हिमाल सुनजस्तै सुनौला देखिए। यो दृश्यले मन आह्लादित भयो। कवि हृदयले कविताको एउटा पङ्क्ति गुनगुनायो।
रहेछ स्वर्ग यहीँ नेपाली धरामा
सब गाउँबेँसी अनि कन्दरामा
पाउँदा दर्शन एक झुल्को घाम
भो धन्य जीवन हे ! राम राम ।
ती मनमोहक दृश्यलाई आँखामा, मनमा, मस्तिष्कमा र क्यामेरामा कैद गरेर हामी ओरालो झर्यौँ। मेरो पहिलो कविता कृति ‘समयको फन्को’ लाई पनि हिमाल देखाएर ल्याएँ। यसको सोच र चाँजोपाँजो पनि छोराछोरीले नै मिलाएका थिए।
होटलमा बिहानको नास्ता तयार थियो। सबैले नास्ता खायौँ। होटलमा फुलेका अनगिन्ती फूलहरू बिछट्टै राम्रा देखिएका थिए। होटलको हिसाबकिताब मिलान गर्यौँ। आ–आफ्नो सामान प्याक गरी एउटा सामूहिक तस्बिर खिचेर त्यहाँबाट बिदा भयौँ।
घोरेपानीबाटै सवारीसाधनको सुविधा भएकाले गाडी बुक गरेर फर्कने निधो गर्यौँ। हामी चार जना र अस्ट्रेलियाली नागरिक तीन जना गरी सात जना पोखरा जाने भयौँ। पोखरासम्मको जम्मा भाडा रु. ११,००० पर्यो। यात्राका सम्झनालाई ताजा पार्दै र वरपरका दृश्य मनमस्तिष्कभरि खाँद्दै हामी पोखरा आइपुग्यौँ।
पोखरामा श्रीमती लक्ष्मी, सालीबहिनी निशा र छोरी काव्या हाम्रो बाटो पर्खेर बसेका रहेछन्। हामी पुगेपछि फ्रेस भयौँ र खाना खायौँ। साढुभाइको अफिस छुट्टी भएपछि पोखराको व्यस्त रात्रिजीवन हेर्न फेवाताल किनार (लेकसाइड) तिर लाग्यौँ। रातिको खाना बाहिरै खायौँ र कोठामा फर्कियौँ।
यो पदयात्रामा साथ र सामीप्यता प्रदान गर्ने सबैप्रति मनैदेखि कृतज्ञता ज्ञापन गर्दै भोलिपल्ट बिहान ८:३० बजे बुटवलका लागि प्रस्थान गर्यौँ र करिब ३ बजे घर फर्कियौँ।
मनभरि अनौठो तरङ्ग सञ्चार भइरहेको थियो। औसतमा १८ वर्ष उमेरका युवाहरूसँग यात्रा गर्दा मैले आफूलाई पनि कम उमेरको पाएँ। सधैँ युवा रहिरहन युवाकै सङ्गत गर्नुपर्दो रहेछ। सायद सङ्गतले धेरै कुरा फरक पार्ने रहेछ। फरक भूगोल र सामाजिक परिवेशले थुप्रै कुरा सिकाउँदो रहेछ।
बालबालिकाहरू के सोच्छन्? कस्तो व्यवहार चाहन्छन्? कुन सामाजिककरण प्रक्रियाबाट हुर्किरहेका छन्? यी सबै प्रश्नको उत्तर बुझ्नका लागि पनि यो पदयात्राले सहयोग पुर्यायो। यो यात्रामा हामी सबैले ग्रामीण परिवेश, रहनसहन र जनजीविकालाई फरक धरातलबाट बुझ्न र अनुभूत गर्न पायौँ। त्यसैले पनि यो यात्रा फरक र नौलो प्रकृतिको थियो।
यो पदयात्रामा पाइला त मेरै थिए, तर यसपटक तिनलाई डोर्याउने काम नवपुस्ताको उत्साहले गरेको थियो। यही ऊर्जा र उत्साहसँग पाइला मिलाउन पाउनु नै मेरा लागि पदयात्राको सबैभन्दा ठूलो उपलब्धि रह्यो। जिन्दगी भन्नु अविश्रान्त यात्रा नै त रहेछ।
तिलोत्तमा, रूपन्देही ।