समाचार
काठमाडौं ।
साहित्यकार रवीन्द्र समीरको लघुकथा संग्रह ‘अणु र पहाड’ को दोस्रो संस्करण बजारमा आएको छ । पैरवी बुक हाउसले प्रकाशित गरेको यस संग्रहमा जीवनका सूक्ष्मता र विशालतालाई ५६ वटा मार्मिक लघुकथा मार्फत प्रस्तुत गरिएको छ ।
‘अणु’ ले जीवनको सूक्ष्मता र ‘पहाड’ ले विशालतालाई प्रतिनिधित्व गर्दछ। समीरले आफ्ना लघुकथाहरूमा जीवन र जगतका असंगत पक्षहरूलाई छोटो र प्रभावकारी शैलीमा उजागर गर्नुभएको छ। केही मिनेटको पठनमा पाठकलाई गहिरो प्रभाव पार्ने यी कथाहरूले समसामयिक विषयवस्तुलाई समेट्दै पाठकलाई सोच्न बाध्य बनाउँछन् ।
रवीन्द्र समीरका ‘मृत्युको आयु, ‘एकलब्यदृष्टि, ‘अर्जुनदृष्टि, ‘ईश्वरका कथा, ‘भूकम्पमा मल्हमपट्टी, ‘कोरोनातन्त्र, ‘पैसाको उडान’ लगायत १४ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उहाँ पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभुषण पदक जस्ता थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।
पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटीका अनुसार, थोरै शब्दमा धेरै कुरा भन्न सक्ने लघुकथा विधा आजको व्यस्त र डिजिटल युगमा धेरै पढिने विधा बनेको छ । ‘अणु र पहाड’ को दोस्रो संस्करणले समीरको साहित्यिक यात्रामा अर्को कोशेढुङ्गा थपेको छ र पाठकहरूमाझ यसको लोकप्रियतालाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
