समाचार
काठमाडौँ ।
नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता सिटी लाइट्स (CITY LIGHTS) का लागि इटालीको प्रतिष्ठित IL MELETO DI GUIDO GOZZANO LITERARY AWARD-GRAND JURY PRIZE ITALY प्रदान गरिएको छ। मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट यो कविता छानिएको हो । विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक र कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्याङ्कन गरी यो पुरस्कारको निर्णय गरेको हो ।
वैदेशिक लेखक जुरी (Foreign Authors Jury) मा ओमानकी अमिता सङ्घवी, संयुक्त अधिराज्य (UK) की दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो(हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए। जुरीको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए। अमिता सङ्घवी ओमानको सुल्तान काबुस विश्वविद्यालयसँग सम्बद्ध छिन् । दाना नेरी बेलायतमा आधारित पत्रकार, अनुवादक, सम्पादक तथा कन्टेन्ट म्यानेजर हुन्। जान्थी होन्द्रो(हिल पुरस्कार विजेता ग्रीक कवि तथा अनुवादक, पेन ग्रीसकी सदस्य र नाउसा अन्तर्राष्ट्रिय कविता महोत्सवुकी संस्थापक तथा निर्देशक हुन् ।
फ्रान्सका मार्को पेर्ना साहित्य र दृश्य कलामा सक्रिय कवि तथा कलाकार हुन् भने अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा दृश्य कलाकार, लेखिका तथा क्युरेटर हुन्। लिडिया कियारेली अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा सक्रिय कवि, अनुवादक र वेबमास्टर हुन्। निरौलाले यो पुरस्कारलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा वर्णन गरेकी छन्। उनले यस पुरस्कारले आफ्नो साहित्यिक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको बताएकी छन् ।
साथै, उनले यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति र यात्राको पहिचानका रूपमा लिएको उल्लेख गरेकी छन् ।
