लघुकथा–हिन्दी
काठमाडौँ
सन्थाल समुदायका प्रतिभाशाली दृष्टिविहीन गायक तथा संगीतकर्मी ३९ वर्षको उमेर जेठा मुर्मुको कार्तिक १३ गते शुक्रबार निधन भएको छ । सुगर तथा रक्तचाप बढेपछि उपचारका लागि इटहरीस्थित अस्पताल लगिएका मुर्मुको उपचारकै क्रममा निधन भएको परिवारजनले जनाएको छ । झापाको कचनकवल गाउँपालिका-२ निवासी मुर्मु दृष्टिविहीन भए पनि गायन तथा संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुन्थ्यो। उहाँले कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुका साथै संगीत विषयमा डिप्लोमा कोर्ससमेत गर्नुभएको थियो ।
जीवनका अनेकौँ कठिनाइ र अभावसँग संघर्ष गर्दै आउनुभएका मुर्मु रोजगारीको खोजीमा काठमाडौं पुग्नुभएको थियो । जीविकोपार्जनका लागि उहाँ सडक तथा सार्वजनिक स्थानमा गीत गाउने गर्नुहुन्थ्यो । गीत–संगीतप्रतिको गहिरो लगाव, निरन्तर मेहनत र संघर्षशील जीवन नै उहाँको विशेष पहिचान बनेको थियो । दृष्टिविहीन अवस्थाका बाबजुद आफ्नो प्रतिभा, लगनशीलता र मेहनतका माध्यमबाट संगीत क्षेत्रमा अघि बढ्नुभएका मुर्मु सन्थाल समुदायका लागि प्रेरणाका पात्र हुनुहुन्थ्यो । उहाँको संघर्ष र संगीतप्रतिको समर्पणले धेरैलाई प्रेरित गरेको थियो । दिवंगत जेठा मुर्मुको अन्त्येष्टि २०८३ साल कार्तिक १५ गते कचनकवल गाउँपालिका–२ मा गरिने परिवारजनले जनाएको छ ।
