• २०८१ माघ २७ आइतबार

विराटनगरका कवि र कविता कृति विमोचन

काठमाडौं । विराटनगरमा आयोजित विशेष कार्यक्रममा ‘विराटनगरका कवि र कविता’ कृतिको विमोचन गरिएको छ । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित उक्त कृतिमा वि.सं. १९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरू समावेश गरिएको जनाइएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कवि राज न्यौपानेले सार्वजनिक कृतिले विराटनगरको साहित्यिक इतिहासलाई उजागर गरेको बताए ।

साहित्यकार विवश पोखरेलले कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको १०० औँ कृति भएको र यो विराटनगरको साहित्य अध्ययन गर्नेहरूका लागि गौरवमय दस्तावेज बन्न सफल भएको उल्लेख गरे । साहित्यकार, समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्त्वपूर्ण अभिलेखका रूपमा रहेको बताए । कार्यक्रममा कवि गोकुल अधिकारी, सम्पादक लक्ष्मी पोखरेल, भूषण ढुङ्गेल, लक्ष्मी उप्रेती, दिपक चापागाईलगायतले बोलेका थिए ।

कार्यक्रममा कविहरू सीमा आभास, राधिका गुरागाई, सविता गौतम दाहाल, भरत गुरागाई, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वम्भुनाथ कार्की, गोपाल निर्भीक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा तथा स्वीकृति रेग्मी मुनालगायतले कृति भित्रका कवितावाचन गरेको प्रतिष्ठानका महासचिव गोकुल अधिकारीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।