समाचार
टोखा !
शिवपुरीको काखमा
समयले रोपेको एउटा पुरानो वृक्ष,
जसका जरामा इतिहास,
हाँगामा संस्कृति
र पातहरूमा भविष्य हल्लिरहेछन् ।
जहाँ इतिहासका पाइलाहरू
अझै पनि पुराना गल्लीमा
नेवारी कलाको सुवास बोकेर हिँड्छन् ।
यी ढुङ्गे बाटाहरूमा
अझै सुनिन्छन् पुर्खाका पाइला
पुराना घरका झ्यालबाट
आज पनि
नेवारी सभ्यताका आँखाहरू
चिहाइरहेछन समयको अनुहार
चाकुको मिठासमा
छैन उखुको रस मात्र
पुर्खाको पसिना,
ऋतुको प्रतीक्षा
र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको
छ मौलिक स्वाद
गुदपाकको सुवास
टोखाको आत्मीयता बोकेर
पुगेको छ दूरदेशसम्म ।
गणेशको घण्टीमा आस्था,
चण्डेश्वरीमा शक्ति,
सपनातीर्थको जलमा पवित्रता,
बोड़ेस्वोरको शान्तिमा साधना
र चन्द्रायणीका स्मृतिमा
प्रकृति, धर्म र लोकजीवनको
निरन्तर छ संवाद
झोरका हरिया पाखाहरू
त्यही संवादका प्राकृतिक विस्तार हुन्,
जहाँबाट ओर्लने हावाले
पुरानो टोखाको आँगनलाई
आजको शहरसँग जोडिरहन्छ ।
टोखा !
केवल बसोबासको भूगोल होइन,
संस्कृतिक नाम मात्र पनि होइन
यो स्मृति, स्वाद, संस्कार र सहअस्तित्व
एकअर्कामा मिसिएर बनेको
जीवित सभ्यता हो ।
यहाँ…
अधुरा छन् अझै बाटाहरू
खोज्दैछ विकासले पूर्ण आकार
हामी चाहन्छौँ
आधुनिक होस् टोखा,
आफ्नो आत्मासहित…
सफा, समुन्नत र शिक्षित होस्
आफ्ना पुराना ढुङ्गा,
जात्राका धुन
र पुर्खाका सपनासहित …
नयाँ संरचना बन्दा
पुराना पदचाप नमेटिऊन्,
स्मार्ट शहर बन्दा
स्मृतिको सुन्दर नगर नहराओस् ।
किनकि
टोखाको भविष्य
उसको मौलिकता जोगिएको ठाउँबाटै सुरु हुन्छ
र हरेक दिन
समयले गर्वसाथ पढिरहनेछ
भन्दै …आफ्नै माटोमा बाँचेको
एउटा जीवित इतिहास ।
केवरा भट्टराई
(टोखा नगरपालिकाले गरेको कविता प्रतियोगितामा दोस्रो भएको कविता )