समाचार
माता चण्डेश्वरीको चरणकमलमा भावना सुम्पिएर ।
जात्रा नौला सुनौला सुमधुर सपना-तीर्थमा गाँसिएर ।।
टोखाको दिव्य धर्ती अमरपुरसरी कान्तिले युक्त रम्य
देख्दा सौन्दर्य यस्तो हरिहर भगवान् पर्न थाले अचम्म ।।
गर्छिन् इन्द्रायणीले हरबखत यहाँ प्रेमले अङ्कमाल ।
छाती चौडा बनाई मुसुमुसु हँसिलो हाँस्दछन् भूतखेल ।।
थारू तामाङ खान्छन् मिलिकन सबले योमरी सेल बारा ।
नेवाः संस्कार राम्रो, जल गणपतिले गर्दछन् प्यार सारा ।।
रात्रीमा पूर्णिमाको झलल गगनझैँ चम्किलो यो बजार ।
पाएका छन् मजस्ता असल युवकले रोजगारी हजार ।।
कोही होलान् बिरामी, हरबखत यहाँ ग्राण्डीले दिन्छ आशा ।
बच्चा बूढा सबैको सरल हृदयमा बन्छ टोखा भरोसा ।।
धर्तीमा स्वच्छता होस्, सब मनुजहरू प्रेम गाँसून्, भलो होस् ।
हाम्रा भाषा कलाको अनुपम नगरी, शान्ति बाँड्ने थलो होस् ।
नेपाली सम्पदाको भुवनभर महान् कीर्ति राखौँ सबैले ।
आफ्नै माटो सिँगार्दै सुमधुर श्रमको स्वाद चाखौँ सबैले ।।
टोखाको चेतनाले मुलुकभरि यही सत्य सन्देश जाओस् ।
जल्दोबल्दो युवाले रगत र पसिना पोख्न खाडी नजाओस् ।
लड्दै सङ्घर्ष गर्दै रगत र पसिना देशभित्रै बगाओस् ।
टोखामै काम गर्ने अटल र बलियो स्वप्न आफ्नो सजाओस् ।।
करुण सुवेदी, विद्यानन्द पब्लिक स्कुल, टोखा
(टोखा नगरपालिकाले गरेको कविता प्रतियोगितामा प्रथम भएको कविता )