समाचार

तीसको दशकदेखि
अहिलेसम्म निरन्तर कविता नै लेख्दैछु
त्यो बेला लेखिएको
‘म भात जोरूँ कि कविता लेखूँ ?’
वा अहिले लेखिएको–
‘हो ! यो देश बनाएर पृथ्वीनारायण शाहले
अपराध गरेको भन्छौ भने
त्यो अपराधी पनि मै हुँ,
यो देश बनाउने अपराधी मै हुँ !’
आजसम्म त्यही कुराहरू नै छन्
पञ्चायत होस् वा प्रजातन्त्र
मनभित्र देश दुखेकै छ
गाँस, बास र कपासका लागि
आमनागरिक पिरोलिएकै छन्
सत्तासिनले सुविधा–दोहन गरेकै छन्
र हामी एक चिम्टी उज्यालोका लागि
छटपटिरहेका छौँ
र त्यही करुणा लेखिरहेका छौँ
एउटा सर्जकका लागि
एउटा नागरिकका लागि
योभन्दा दुःखको कुरा अरू के हुनसक्छ ?
०००
४४ सालमा
म भात जोरूँ कि कविता लेखूँ
६० सालमा
एउटा गन्तव्यको खोजीमा
र ६२ सालमा
अँगारका धमिला धर्साहरू
कवितासङ्ग्रह प्रकाशित भए
त्यस्तै भएको छ
खोजिएको गन्तव्य
धमिला धर्साहरू मात्र बनेका छन्
अझै खोजी नै रहेका छौँ ।
अचेल नयाँहरूले हामीलाई सम्झिँदैनन्
हामीलाई बिर्से पनि
गर्न त हामीले गरेकै काम गर्दैछन्
हामीले कोरेको गोरेटोमै छन्
सुविधाहरू बढे अहिले
तर नयाँ कुरो के बढ्यो ?
०००
कविताबाहेक
गीतहरू पनि लेखेको छु
नातिकाजी, अम्बर गुरुङदेखि
न्ह््यू बज्राचार्यले सङ्गीत भरेका छन्
यो यात्रा थालेको पनि
पाँच दशक पूरा हुन आट्यो
कविताको यात्रा अझै जारी छ
पहिले कवितालाई
काठमाडौँबाहिर पु¥याउनलाई
‘कविता यात्रा’ थालियो
अहिले पनि कवितालाई
आममानिससम्म पु-याउने काममै छु
सुुरु गर्ने कुरा नै सम्झिने हो भने
०३८ सालमा ‘मैनाली कथा पुरस्कार’
प्रारम्भ गरेको हिजोजस्तै लाग्छ
चैत्र १९ लाई कथा दिवसका रूपमा
अझै मनाउँदै नै छौँ
हो आफैँ लागेर स्थापना गरिएको
‘साहित्यिक पत्रकार सङ्घ’
सेलायो
त्यसले मन पोलिरहन्छ ।
०००
स्नातक पढ्दा–पढ्दै
जागिर खान थालेको हुँ
पहिले नेपालगञ्ज अनि पछि
नेबिकोमा आफ्नो जागिरे जीवन बिताएँ
कुनै पछुतो छैन
किनभने त्यहाँ रहँदा पनि
साहित्य र कलाका क्षेत्रमा
सहयोग गर्न पाइन्थ्यो
कहिले विज्ञापन र कहिले नगद दिएर ।
पछुतो एउटै कुरामा छ–
समयको सदुपयोग गर्न सकिएन
‘केयरलेस’ भएर हिँडियो
आफ्ना रचना र प्रमाणपत्रहरू नै
सम्हालेर राख्न सकिएन ।
यसको कारण श्रीमतीको बिरामी पनि हो
डाक्टरको लापरवाहीले
उनले दृष्टि गुमाउनुप-यो
घरकी मूलीको यस्तो हालतले
घर मात्र होइन साथी !
जीवन नै लथालिङ्ग हुँदोरै’छ ।
यो सबभन्दा पनि
साहित्यिक पत्रकार सङ्घमा
बीस वर्ष त्यत्तिकै खेर फालेँ कि ?
सबै व्यावसायिक छन्
आफू मात्र किन निःस्वार्थ लागिरहेँ ?
०००
तर पनि सन्तुष्ट छु जीवनसँग
श्रीमतीसँग, छोराहरूसँग
जेठो बेलायतमा छ, नातिनातिनीसँगै
कान्छो यहीँ छ– हामीसँग
सानो नाति छ– मेरो साथी
समय बिताउने माध्यम ।
थोरै साथीहरू छन्
तर सबै सहयोगी छन्
सबैभन्दा प्रिय साथी– कविता छ
आक्रोश, अभिलाषा र जिजीविषाहरू
व्यक्त गर्ने माध्यम छ ।