समाचार
काठमाडौं ।
लघुकथा प्रतिष्ठान, नेपालको आयोजनामा सम्पन्न ‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता–२०८३’मा टङ्कबहादुर आलेमगर (उदयपुर) को ‘आर्तनाद’ सर्वोत्कृष्ट घोषित भएको छ । आलेमगरलाई नगद एक हजार एक सय एघार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा मित्र उराठी गौतमको ‘अन्तिम इच्छा’, मिसु श्रेष्ठ थपलियाको ‘निथार’, सुमन कडरीयाको ‘पुकार’, मणिराज भट्टराईको ‘टका बाला’ र शारदा दहालको ‘जन्मदिन’ उत्कृष्ट पाँचमा छनोट भएका छन् । उनीहरूलाई प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
दिवङ्गत लघुकथाकार स्वस्तिका सिम्खडाको स्मृतिमा आयोजित प्रतियोगिताको निर्णायक मण्डलमा इन्दिरा चापागाईं (संयोजक), रचना शर्मा (प्रतियोगिता संयोजक), मनोहर पोखरेल र नन्दलाल आचार्य सदस्य थिए । प्रतिष्ठानले लघुकथा लेखनमा महिलाको सहभागिता बढाउन ‘स्वस्तिका स्मृति लघुकथा सम्मान कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ ।
यसअघि २०८१ सालमा एन्जल निलु र २०८२ सालमा शारदा दहाललाई स्वस्तिका स्मृति सम्मान प्रदान गरिएको थियो। २०६१ वैशाख १६ गते जन्मिएकी स्वस्तिका सिम्खडाको २०८० साउन २० गते निधन भएको थियो । उनको स्मृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल र व्यवस्थापक मनोहर पोखरेलले जनाएका छन् । सर्वोत्कृष्ट लघुकथा ‘आर्तनाद’ ले भोटेकोशी बाढीबाट विस्थापित पात्रको पीडा र भविष्यमा देशले त्यस्तो विपत्ति भोग्न नपरोस् भन्ने कामनालाई प्रस्तुत गरेको छ ।
