• २०८१ चैत ३ सोमबार

काठमाडौंमा विश्वप्रसिद्ध भारतीय गीतकार समीर अन्जानलाई अभिनन्दन

काठमाडौँ ।

बलिउडका लोकप्रिय गीतकार समीर अन्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंमा लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर उनलाई अभिनन्दन गरेका हुन् । समीरले विश्वमै सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका छन् ।

समारोहमा बोल्दै गीतकार समीरले प्रकृतिको अनुपम सुन्दर देश, पशुपतिको यो भूमिमा आएर सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । हिमालय र पहाडका बिचबाट काठमाडौं उत्रिने क्रममा आउँदा एउटा गीत फुरेको अनुभूति सुनाउँदै नेपालबाट आफूले धेरै सिकेर र लिएर जाने बताए ।

उनले गीतकार संघ नेपाललाई अभिनन्दन कार्यक्रम आयोजनाका लागी धन्यवाद दिए । त्यस्तै कार्यक्रममा बोल्दै गीतकार तथा कवि बसन्त चौधरीले विश्वका सबै कुनामा बस्ने हिन्दी फिल्म र गीत मन पराउनेहरुका लागि समीर ‘अन्जान’ नभएको बताए ।

त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले यसपटक समीर अन्जानलाई अभिनन्दन गर्ने अवसर प्राप्त भएको भन्दै त्यसका लागि लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरलाई धन्यवाद दिए । गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय छन् ।