• २०८३ कार्तिक ९, आईतवार

दुर्गाहरू मुस्कुराइरहेछन्

सुशीला शर्मा (शिलु)

सुशीला शर्मा (शिलु)

यथार्थमा पुजिन नसकेका देवीहरू
तस्बिरमा भए पनि मुस्कुराउँदै छन् ।
यसैले एक थान
आफ्नैले टुक्राइएकी देवी
उठ्छिन् बिहानै,
उमङ्ग, आशा र दशैँको
रौनक लिएर ।

अघि भर्खर मुस्कुराउँदै दौडिरहेकी उनी,
आमाको पिँढीमा पहेँलपुर घाम
उदाइसकेछ ।
हतारहतार ओर्लिएकी
आफ्नो कोठाबाट,
आमाको न्यानो मुस्कानले
स्वागत गर्दै दशैँको लहर
आइसकेछ ।

त्यही आँगनमा एकछिन मुस्कुराउँदै,
उमङ्गका विचारसँगै
सिङ्गो हिमाल आँखैअगाडि
झलमल्ल देखेर
पुनः आत्मासम्मै प्रफुल्लित हुन्छिन् ।

सोच्छिन्,
ए, आज त दशैँ !
अब पिङ खेलेर,
सारा दौतरीसँग गफिँदै,
एक फन्को गाउँभरि घुमेर
रौनक हेरेर आउनुछ ।

प्रत्येक पिँढीको डिलमा
उभिइरहेका प्रियजनहरूको
मन्द मुस्कान हेर्दै,
बाटोभरि माया पोख्दै
हिँड्नुछ ।

आहा, आज दशैँ !
अब पिङ र खेलहरूदेखि
भेटघाटको मज्जा लिनुछ।
अझै तासका छेउबाट दौडिँदा
बुबा र अङ्कलहरूले
हाँस्दै जितौरी दिएपछिको खुसी-
ओहो !

त्यहाँसम्मको दशैँमा
मुस्कानको रङ बदल्न
कुनै लिङ्गको हुनुमा
विभेदको रेखा त्यति देखिँदैन ।

उमेरसँगै
यी स्नेह र पर्वका
प्रफुल्ल रेखाहरू
कति बेला, कति छिटो
वक्ररेखा बनिसक्ने रहेछन् !

यस्तो वक्ररेखा,
जहाँ खुसी खोज्न अब
सपनाको सहारा लिनुपर्छ-
अघि भर्खरकै जस्तै खुसी !

ओहो !
तमाम नैतिकता,
समाज र परिवारका नाममा
आफ्नै श्रमले मनमा बनाएका घाउहरू
बारम्बार कोट्याउँदै
आउँछन् यस्ता पर्वहरू
कतिका लागि, प्रायः धेरैका लागि ।

श्रमसँग मात्रै छ साइनो,
मानौँ एउटा रोबोट
भान्सामा वा भित्ताको वरपर
वर्षौंदेखि दौडिरहेछ ।

रीतिरिवाजको नाम दिएर
एउटा विवश स्त्रीको आकृतिमाथि
हावी हुँदैछ समय।
संस्कारको नाम दिएर
पन्छिएको छ समाज ।
कर्तव्यको नाम दिएर
विजयोत्सव मनाइरहेछ
पितृसत्ता
र त्यसको रक्षाकवच बनेका
नारीकै आकृतिमा उभिएका सत्ताधारीहरू ।

रातभरि सुक्सुकाएका
ओठहरूमा झुटो मुस्कान लिएर
अब कर्तव्य निभाउनुछ।
घरभित्रै अबुझपनका घाउले
ननिदाएका आँखाहरू लिएर
अब लर्खराउँदै
भत्किन आँटेको संस्कारको
भित्तो टाल्नुछ ।

आफ्नैले पर मिल्काएर,
झुटो मुस्कानले सजिएका ओठहरू
र भ्रमित मस्तिष्क बोकेर
फेरि पुग्नुछ त्यही आफन्तकहाँ,
खुसी खोज्दै ।

म्या-म्या गर्दै
एक्लै जङ्गलमा छाडिएको
र माउसँग बिछोडिएको
भयंकर पीडालाई लुकाउँदै,
केवल एक झल्को
विगतको आभा बल्झाउन,
आफ्नै छायाहरू चिहाउन
फेरि बन्जरको यात्रामा
फर्किनै छ ।

तमाम देवीहरू
थाकेर पनि नथाकेको अभिनय गर्न
देवीको तस्बिर काफी छ
र मानिसहरू पुज्छन् ।

हृदयभित्रको यथार्थको
सामना गर्न
यो अन्धकार समय
असमर्थ छ ।

तर पनि
परिवर्तनको आशाको दियो
मनमा बोकेर
देवी दुर्गाहरू
मुस्कुराउने कोसिसमा छन् ।


सुशीला शर्मा (शिलु), काठमाडौँ