• २०८१ कातिर्क २८ बुधबार

आज मैले ऐना हेँरे

आर्यश

आर्यश

आज मैले ऐना हेरेँ
आफैँभित्र अनेक देखेँ

हेर्न त हेरेको हो ऐना
धेरैपटक
पटकपटक
हतार हतारमा काममा जानुअघि
सर्टको टाँक लगाउँदा
गला मिलाउँदा
फुर्सदमा प्रेमिका भेट्न निस्कनुअघि
कपाल मिलाउँदा
टाउकोमा तेल र जिउमा
अलिकती सुगन्ध छर्कंदा

आगोले पोलेको ओठ
बाहिर टल्किएर भित्र
निकोटिनको कस बसेका दाँत
आँखामुनि जमेको अँध्यारोको आदिम दाग
हृदय बाफिएर निस्किएका चिसा सुस्केरा
उही नाक-कान-घाँटी
उही मुख-जुङ्गा-दाह्री
देखेको हुँ आफूलाई सधैँ
केवल एउटा पुरुष आकृती

आज मैले ऐना हेरेँ
के के गर्दा कस्तो देखिन्छु सबै देखेँ

गाला पुरै फुलाएँ
हनुमानको जस्तो मुख बनाउँदा कस्तो देखिन्छु हेरेँ
उल्लूका जस्ता आँखा बनाउँदा कस्तो देखिन्छु हेरेँ
छुचुन्द्रोकोजस्तो चुच्चो मुख बनाइ हेरेँ
कालीको जस्तो लामो जिब्रो निकाली हेरेँ

सबैभन्दा रिसाउँदा कस्तो देखिन्छु हेरेँ
सबैभन्दा मुस्कुराउँदा कस्तो देखिन्छु हेरेँ

कविता सुनाए
संवाद गरेँ
अभिनय गरेँ
कुकुर – बिरालो – चराहरूको
थरिथरीका आवाज निकाली हेरेँ
बब मार्लीको गीत गाएँ
चार्ली चाप्लीनको मिमिक्री गरेँ
इरफान खानको डायलग बोलेँ

आफैँसँग आँखा जुधाएँ
आफैँलाई आँखा झिम्काए
चुम्बन गरेँ
थप्पड हाने आफ्नै गालामा
रोइदिएँ केहीछिन
आफैँले कान समाएँ

कपाल कोरेँ फरकफरक अन्दाजले
जुँघालाई बटारेर मुगल शैलीको बनाएँ
जिब्रोले नाकको टुप्पो छुन खोजेँ
केही नखाई केही चपाए जस्तो गरेँ
केही नपिई केही निलेजस्तो गरेँ

एकनास टोलाइरहे एकछिन
लगातार हेरिरहे केहीछिन
आज मैले ऐना हेरेँ
अरुले नदेखेको मलाई आफूले देखेँ ।


आर्यश