• २०८३ कार्तिक १, शनिबार

आशाको फूल

कृष्ण बाउसे

कृष्ण बाउसे

शिष्य वसन्तको स्वरमा
जब गुरु दुर्गालाल फेरि जन्मिए,
फूलहरूले मात्र होइन
रूखहरूले समेत
गुरुलाई सम्झिए ।

बागमतीको पानीलाई
सायद लाज लाग्यो
आफ्नो मैलो अनुहार देखाउन
नत्र त
उसले पनि थपिरहेको हुन्थ्यो होला
आफ्नो कलकल स्वर त्यहाँ ।

जसको हृदयमा
सय थरी बाजा एउटै तालमा बज्थे ,
जसको मुखाकृतिमा
बालकको हाँसो
र वृद्धको स्मृति समाहित हुन्थ्यो
ती जनकवि अक्षरमहर्षिको
स्मृति भन्नु नै
साहित्यको स्मृति
भाषाको स्मृति
र संस्कृतिको स्मृति मात्र हो
नभन्नुहोला कसैले ।
उनको स्मृतिमा
रुख, नदी, हिमाल
र मान्छेभित्रका बोधिसत्व पनि
उपस्थित भएको देखें मैले ।

बागमती सुक्यो भने
हिमाल ढल्यो भने
र वन रूखका जराहरुसम्मै जल्यो भने
उनको स्मृति पनि मेटिन्छ भन्ने कुरा
ऋतु वसन्तलाईजस्तै
मान्छे वसन्तलाई पनि थाहा छ ।

गुरु भेटीको रूपमा
उनको आँखाबाट झरेको आँसु
यसबेला
माटोमा परेको देख्दै छु म ।

विश्वास छ –
अब यहींकतै हुर्किरहेको हुनेछ
हरियो आशाको फूल ।


(जनकवि अक्षरमहर्षि दुर्गालालको सम्झनामा लेखिएको कविता)