• २०८३ कार्तिक १, शनिबार

काठमाडौं : संघर्ष, सफलता र रहरहरूको सहर

गोविन्द्र राज तिमिल्सेना

गोविन्द्र राज तिमिल्सेना

जिन्दगी आफैँमा एउटा यात्रा हो- यो यात्रामा कहिले उकाली त कहिले ओराली, कहिले उतारचढाव त कहिले संघर्षका अनेकौँ मोडहरू आउँछन्। रहरका पखेटा फिँजाएर सुनौलो आकाश छुने इच्छा सबैमा हुन्छ। कुनै सहर नक्सामा भेटिन्छन्, कुनै सहर आँखामा बस्छन् । काठमाडौं त्यस्तै एउटा सहर हो, जहाँ हजारौँ मानिसका सपना, संघर्ष र आशाहरू एउटै सहरका सडकसँगै हिँडिरहेका हुन्छन् ।

काठमाडौंको यात्रा:
करिब तीन साताअघि, असोजको पहिलो साता, साहित्यिक भेटघाट, आत्मीयता र मनमा उत्सुकता बोकेर काठमाडौं पुगेको थिएँ। मेरो एउटै उद्देश्य थियो—‘जिन्दगीको यात्रा’ पुस्तकको लोकार्पण समारोहमा सहभागी हुनु। आफ्नै कृति भएकाले मनमा विशेष उत्साह थियो। सुदूरपश्चिमको विकट जिल्ला बाजुराबाट संघीय राजधानी काठमाडौं पुग्न त्यति सहज भने थिएन।

बाजुरादेखि काठमाडौंसम्मको बसयात्रामा मनभरि अनेकौँ रहर र उत्साह थिए। पुस्तक लोकार्पणको कार्यक्रम बाहिरबाट हेर्दा सामान्य लागे पनि मेरा लागि त्यो शब्दसँग साक्षात्कार गर्ने, विचारसँग नजिकिने र जीवनका अनुभूतिलाई साहित्यको ऐनामा नियाल्ने विशेष अवसर थियो । काठमाडौं मेरो यात्राको एउटा गन्तव्य मात्र थिएन; यो मेरो रहर, साहित्यिक पहिचान, भेटघाट, संवाद र सम्झनाको आत्मीय सेतु थियो । त्यसैले काठमाडौंको यात्रा मेरा लागि भूगोल परिवर्तनको प्रसङ्ग मात्र बनेन, अनुभूति, साहित्य र स्मृतिको सङ्गम बनेर मनको गहिराइमा बसिरह्यो।

जाग्दै गरेको सहर र अनगिन्ती सपना:
काठमाडौं पुगेको पहिलो बिहान म उठ्नुअघि नै काठमाडौं निद्राबाट ब्युँझिसकेको थियो। घामका किरण धर्तीमा पर्न नपाउँदै सहरमा अनेकौँ रहरहरू जागिसकेका थिए । सडकमा मानिस र गाडीको भीडसँगै समय पनि दौडिरहेको थियो । व्यस्त मानिसहरू आआफ्नो गन्तव्यतर्फ लम्किरहेका देखिन्थे ।

कसैले सफलता खोजिरहेका थिए त कसैले पहिचान र सम्मान। कसैका आँखामा भविष्यका सपना थिए भने कसैका काँधमा जिम्मेवारीको भारी। कसैको मनमा समयमै पूरा गर्नुपर्ने रहरहरू थिए । भीडको महासागरमा उभिएर टोलाइरहेको म मनमनै सोच्थेँ—मानिसका यी अनगिन्ती रहरहरू साँच्चिकै पूरा होलान् त ? जीवनका कयौँ समस्या र बाध्यताहरू पार लाग्लान् त? मानिस सहरमा मात्र होइन, आफ्नै भाग्यको खोजीमा पनि यात्रा गरिरहेका हुन्छन्।

बिस्तारै सूर्य उदायो। घामका किरण धर्तीमा देखा परे। सडकमा मानिस र गाडीको चाप झन् बढ्दै गयो। सडक, चोक र गल्लीहरूमा कोलाहल सुनिन थाल्यो। लाग्थ्यो, यो सहर इँटा, ढुङ्गा र कङ्क्रिटले बनेको संरचना मात्र होइन; अनगिन्ती आकाङ्क्षाको आश्रयस्थल, अथक संघर्षको साक्षी र सम्भावनाको मूल हो । यहाँका प्रत्येक गल्लीले कुनै कथा बोकेको अनुभूति हुन्थ्यो। प्रत्येक मोडले कुनै यात्राको सङ्केत गर्थ्यो र प्रत्येक अनुहारभित्र जीवनका अनगिन्ती अध्याय लुकेका हुन्थे। गाउँको शान्त वातावरणमा जन्मिएर त्यहीँको माटोमा लडिबुडी खेलेको मलाई काठमाडौं निकै आकर्षक लाग्थ्यो। अग्ला भवन, फराकिला सडक, झिलिमिली बत्ती र आधुनिक जीवनशैलीले मलाई लोभ्याउँथे।

काठमाडौंका रहर, संघर्ष र सम्भावनाका कथा सुन्दा यो सपनाको सहरजस्तै लाग्थ्यो। यहाँ हरेक मानिस आआफ्नो लक्ष्य बोकेर आएका छन्। संघीय राजधानीसमेत भएकाले काठमाडौं अनेकौँ सम्भावना र चुनौतीको केन्द्र बनेको छ । यहाँका बिहानहरू आफ्नै किसिमको हतार बोकेर उदाउँछन्। घामका किरण धर्तीमा झर्न नपाउँदै सडकमा पाइला टेक्नेहरूको भीड लागिसकेको हुन्छ। कसैका आँखामा भविष्यको उज्यालो हुन्छ, कसैको मनमा परिवारको अनुहार र कसैको हृदयमा आफूले देखेको सपना पूरा गर्ने अदम्य अभिलाषा। सहरका सडकमा मानिस मात्र हिँडिरहेका हुँदैनन्; उनीहरूसँगै आशा, अभाव, विवशता र सम्भावनाका असङ्ख्य यात्राहरू पनि हिँडिरहेका हुन्छन्। यो यात्रा निरन्तर चलिरहन्छ। मानिस थाक्छन्, तर कतिपय परिस्थितिमा थाकेर रोकिने छुटसमेत हुँदैन।

समोसाको स्वाद र साउजीका तीन शब्द:
दिउँसोको करिब तीन बजेको थियो। कामको सिलसिलामा सडकमा हिँडिरहेको थिएँ। भोकले नास्ता मागिरहेको थियो। नजिकैको एउटा होटलमा छिरेँ। होटलका साउजी समोसा पकाउँदै हुनुहुन्थ्यो । मैले सोधेँ, “अङ्कल, खाजामा के छ ?” उहाँले तुरुन्तै जवाफ दिनुभयो, “चाउमिन, समोसा, मःम यस्तै छ। के खानुहुन्छ ?” मैले भनेँ, “तीनवटा जति समोसा राखिदिनुस्।”

मेरो आग्रहपछि उहाँले एउटा प्लेटमा चटनीसहित तीनवटा समोसा राखिदिनुभयो। म समोसा खाँदै थिएँ। त्यत्तिकैमा साउजीले सोध्नुभयो, “कहाँबाट, के-कति कामले पाल्नुभएको हो नि? घर कहाँ हो, हजुरको ?” मैले मुस्कुराउँदै जवाफ दिएँ, “घर बाजुरा हो। पुस्तक लोकार्पणका लागि आएको हुँ।” अलि खुसी हुँदै उहाँले भन्नुभयो, “शुभकामना छ, बाबु। रहर, संघर्ष र सफलताको सहरमा यहाँलाई हार्दिक स्वागत छ ।” उहाँका यी तीन शब्द-रहर, संघर्ष र सफलता—ले मेरो ध्यान ताने। साँच्चिकै, काठमाडौं एउटा सहर मात्र नभई रहर, संघर्ष र सफलताको सङ्गम रहेछ। हामीले काठमाडौंलाई केवल सहरका रूपमा लिने कि सपना, संघर्ष र सफलता खोज्ने गन्तव्यका रूपमा बुझ्ने भन्ने प्रश्न महत्त्वपूर्ण लाग्यो।

साउजीका ती शब्दलाई मनन गर्दै काठमाडौंका सडक, चहलपहल र जीवनको तीव्र गतिलाई नियाल्दा मनमा अनेकौँ विचार उठे । सहर जति विशाल देखिन्छ, मानिसका सपना पनि उत्तिकै विशाल हुन्छन् । तर ती सपनाको भार बोक्ने काँधहरू कति थाकेका छन् भन्ने कुरा भीडले देखाउँदैन। चम्किला भवनका छायामुनि कति संघर्ष मौन छन् भन्ने कुरा बाहिरबाट सहजै बुझ्न सकिँदैन । मैले सोचेँ, साउजीले भनेको कुरा धेरै हदसम्म सही रहेछ। काठमाडौं घरैघरको विशाल सहर मात्र होइन; यो अनगिन्ती नागरिकका सपना, उज्ज्वल भविष्य, सम्भावनाका ढोका र संघर्षका चौतारीहरूको सहर पनि रहेछ। यहाँका सम्भावनाले मानिसलाई आशा दिन्छन्, तर ती सम्भावनासम्म पुग्न निरन्तर प्रयत्न गर्नुपर्छ।

काठमाडौंमा बस्ने हरेक व्यक्ति केही न केही उद्देश्य लिएर आएका हुन्छन् । कतिपयले संघर्ष गर्दै आफ्नो भविष्य निर्माण गर्छन् र सफलता प्राप्त गर्छन् भने कतिपयले अथक प्रयास गर्दा पनि चाहेजस्तो परिणाम हासिल गर्न सक्दैनन् । सफलताका चम्किला दृश्यपछाडि असफलताका अनेकौँ कथा लुकेका हुन्छन्। यी सबै कुरा अनुभूत गर्न संवेदनशील र दृढ मन चाहिन्छ। सफलता वा असफलतालाई सहरको दोषका रूपमा मात्र बुझ्नु उचित हुँदैन। मानिसको मेहनत, अवसर, परिस्थिति र समयले पनि परिणाम निर्धारण गर्छन् । सायद यही कारणले काठमाडौं मलाई राजधानी मात्र लागेन; जीवनको खुला पुस्तकजस्तो लाग्यो, जहाँ प्रत्येक पृष्ठमा नयाँ कथा भेटिन्छ।

काठमाडौंले सिकाएको जीवनपाठ:
यस विशाल सहरले मानिसलाई छिटो हिँड्न, दुःख सहन र संघर्ष गर्न सिकाउँछ। बाध्यता, समस्या र परिस्थितिसँग जुध्दै दृढ बन्न प्रेरित गर्छ। हरेक रहर र अनुभवले जीवनको गहिराइ बुझ्न सघाउँछ । यही सहरले कसैका लागि अवसरका ढोका खोलिदिन्छ त कसैका सामु चुनौती खडा गर्छ। कसैलाई नयाँ परिचय दिन्छ त कसैलाई आफ्नै अस्तित्वबारे प्रश्न गर्न बाध्य बनाउँछ। तर अन्ततः प्रत्येक मानिसले आफ्नो बाटो आफैँ पहिल्याउनुपर्ने सत्य सबैका लागि समान हुन्छ । काठमाडौंमा मेरो बसाइँ लामो थिएन। छोटो समयमै सहरलाई नियाल्दा लाग्यो—यो रहरहरूको सहर त पक्कै हो, तर ती रहरभित्र अनेकौँ संघर्ष र सपना लुकेका छन्। ती सपना पूरा गर्न निरन्तर प्रयास गर्नु आवश्यक छ । त्यो छोटो बसाइँले मलाई साहित्यिक क्षेत्रमा आफ्नो परिचय स्थापित गर्ने अवसर दियो। वरिष्ठ साहित्यकारहरूसँग भेटघाट गर्ने अवसर जुरायो। त्यति मात्र होइन, त्यो अपरिचित सहरले मलाई संघर्षको पाठ पनि सिकायो।

जीवनका केही क्षणहरू छोटो भए पनि दीर्घकालसम्म स्मृतिमा बाँच्छन् । तिनलाई सम्झँदा समय फेरि पछाडि फर्किएजस्तो लाग्छ। दृश्यहरू आँखाअगाडि उभिन्छन् र मन फेरि त्यही परिवेशमा घुम्न थाल्छ । काठमाडौंसँग जोडिएको मेरो साहित्यिक यात्रा पनि त्यस्तै स्मरणीय अनुभूति बन्यो । फेसबुकमार्फत चिनजान भएका व्यक्तिहरूको अपार माया, साथ, सहयोग, प्रेरणा र हौसला मेरा लागि अविस्मरणीय बने। ती आत्मीय सम्बन्धले अपरिचित सहरलाई पनि आफ्नैजस्तो बनाइदिए । काठमाडौंले मलाई संघर्ष र सफलताको पाठ मात्र सिकाएन, आपसी सद्भाव, माया र अपनत्वको महत्त्व पनि बुझायो। मानिसले जीवनमा धेरै कुरा प्राप्त गर्छ, धेरै कुरा गुमाउँछ, अनेक ठाउँ पुग्छ र थुप्रै मानिससँग परिचित हुन्छ। तर ती सबैमध्ये केही अनुभवले मात्र मनको गहिराइ छुन्छन्। पुस्तक लोकार्पणको अवसर र काठमाडौंको परिवेशले मेरो जीवनयात्रामा यस्तै एउटा अर्थपूर्ण अध्याय थप्यो।

रहरको मूल्य र संघर्षको बाटो:
एउटै नाम, अनेकौँ कथा। एउटै भूगोल, अनगिन्ती अनुभूति। कसैका लागि सपनाको पहिलो खुड्किलो, कसैका लागि बाध्यताको लामो बाटो, कसैका लागि सम्भावनाको खुला आकाश त कसैका लागि आफ्नै रहरसँग सम्झौता गर्नुपरेको मौन अध्याय । त्यसैले काठमाडौं भवनहरूको सङ्ग्रह मात्र होइन; मानिसका अधुरा चाहना, सपना, पीडा, सम्भावना र नथाक्ने आशाहरूले निर्मित जीवन्त आख्यान हो । अपरिचित भीडमा मिसिनु ठाउँ परिवर्तन गर्नु मात्र होइन। यो आफ्नै जीवनको एउटा परिचित अध्याय बन्द गरेर अनिश्चित भविष्यको नयाँ पाना पल्टाउनु पनि हो। अपरिचित सहरमा आफ्नो परिचय आफैँ बनाउनुपर्छ, आफ्नो अस्तित्व जोगाउनुपर्छ र सपनालाई वास्तविकताको कठोर धरातलमा उभ्याउन संघर्ष गर्नुपर्छ ।

काठमाडौंले रहर देखाउँछ, तर रहरको मूल्य पनि माग्छ। संघर्षका पहाड खडा गर्छ, जसलाई पार गर्न सजिलो हुँदैन। यो सहरले समस्या मात्र होइन, थुप्रै अवसर पनि देखाउँछ। तर ती अवसर प्राप्त गर्न आफूलाई योग्य बनाउनुपर्छ । सपनाको आकाश फराकिलो छ, तर त्यहाँ पुग्ने भर्‍याङ सहज हुँदैन। बाहिरबाट सामान्य देखिने जीवनभित्र पनि आँधी चलिरहेको हुन सक्छ। त्यो आँधीको आवाज मनबाहेक अरू कसैले नसुन्न पनि सक्छ। त्यसैले काठमाडौंलाई रहर, संघर्ष, अवसर र सफलताको सहर भनिएको होला—जहाँ रहर पनि छ, अवसर पनि छ, संघर्षसँगै सफलता पनि छ ।

काठमाडौंको सबैभन्दा ठूलो पाठ यही हो-जीवनमा सपना देख्नु जति सहज छ, सपनाको भार बोकेर बाँच्नु त्यति नै कठिन छ। यहाँ मानिसले सफलताको चमक मात्र देख्दैनन्; त्यसका लागि तिर्नुपरेको मूल्य पनि बुझ्न थाल्छन् । घरहरू नजिक छन्, तर मनहरू टाढा हुन सक्छन् । समयको महत्त्व, सम्बन्धको आत्मीयता, अभावको पीडा र आत्मसम्मानको वास्तविक अर्थ यही सहरका गल्लीहरूमा हिँड्दै सिक्न सकिन्छ। काठमाडौंका प्रत्येक झ्यालभित्र एउटा कथा छ, प्रत्येक सडकमा एउटा यात्रा छ र प्रत्येक अपरिचित अनुहारभित्र छुट्टै संसार छ । बाहिरबाट हेरेर मात्र ती कथा बुझ्न सकिँदैन। एउटै सहरमा कोही हाँसिरहेका छन्, कोही रोइरहेका छन् । कोही आफ्नो सफलताको उत्सव मनाइरहेका छन् भने कोही असफलतासँग सम्झौता गर्न सिकिरहेका छन् । यी सबै अनुभूतिलाई एउटै आकाशमुनि अँगालेर बाँच्नु नै सायद काठमाडौंको नियति हो ।

सम्झनामा काठमाडौं:
अन्त्यमा मैले मनन गरेँ- काठमाडौं पुगिने ठाउँ मात्र होइन, अनुभूत गरिने जीवन पनि हो । यहाँ रहरले मानिसलाई तान्छ, संघर्षले परिपक्व बनाउँछ र सम्झनाले यात्रालाई अर्थ दिन्छ । सफलताले मानिसलाई छुट्टै पहिचान दिलाउँछ। यहाँ सबैका सपना पूरा नहोलान्, संघर्षले चाहेजस्तो परिणाम नदेला। तर हरेक अनुभवले मानिसको भित्री संसारमा केही न केही लेखेर जान्छ ।

साहस, धैर्य, संघर्ष, आत्मबोध र जीवनप्रतिको नयाँ दृष्टि नै सफलताका सारथि हुन् । काठमाडौंले सबैका सपना पूरा गरिदिँदैन होला, तर सपना देखिरहने र तिनका लागि संघर्ष गरिरहने साहस भने अवश्य दिन्छ । मेरो अनुभूतिमा काठमाडौं एउटा विशाल सहर मात्र होइन; संघर्ष, सफलता र रहरहरूको सहर हो । मानिसलाई आफ्नै मनभित्रका कथा खोज्न प्रेरित गर्ने माध्यम हो । समयसँग दौडिन, परिस्थितिसँग जुध्न र असफलताभित्र पनि सम्भावना खोज्न सिकाउने जीवनको एउटा अविस्मरणीय अध्याय हो ।


गोविन्द्र राज तिमिल्सेना