समाचार
ललितपुर ।
ललितपुर साहित्य समाज र ललितपुर महानगरपालिका वडा नं. ४ को साझेदारीमा शुभकामना आदानप्रदान तथा साहित्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ। मंगलबार आयोजित कार्यक्रममा करिब ७० जना साहित्यकार तथा साहित्यप्रेमीको सहभागिता थियो । समाजका अध्यक्ष रामकुमार पाँडेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृतिविद् एवं मदन पुरस्कार विजेता वीणा जोशी राजभण्डारी प्रमुख अतिथि तथा ललितपुर महानगरपालिका वडा नं. ४ का अध्यक्ष सन्तोष खड्का र सिनेनिर्देशक, रेडियोकर्मी एवं साहित्यकार प्रकाश सायमी विशेष अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा साहित्यकारहरूले कविता, गजल, मुक्तक, हाइकु तथा लघुकथा वाचन गरेका थिए। वाचन गर्नेहरूमा प्रा.डा. विकास देसार, मन भुजेल, किशोर बज्र बज्राचार्य, सुषमा चित्रकार, वशिष्ठ अधिकारी, भानुप्रकाश जोशी, बिटु केसी, सुधीर ख्वबी, रायन कविराज, सत्या अधिकारी, प्रा.डा. सविना श्रेष्ठ, मोतिशोभा श्रेष्ठ, राज रजक, प्रज्वल घिमिरे, दिव्या बज्राचार्य, विमलप्रभा बज्राचार्य, विक्रम भक्त जोशी, नरेश अमात्य, सफला ढुङ्गाना पोखरेल, समाश्री, रिता महर्जन ‘ऋतु’, ध्रुव जोशी, यादवप्रसाद ढुङ्गाना र रामकुमार पाँडे थिए। वाचित रचनामाथि समालोचकद्वय प्रा.डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले सारगर्भित टिप्पणी गरेका थिए। उनीहरूले रचनाको साहित्यिक पक्षमाथि विवेचना गर्नुका साथै कविता पनि वाचन गरेका थिए।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सन्तोष खड्का, साहित्यकार एवं सिनेनिर्देशक प्रकाश सायमी र प्रमुख अतिथि वीणा जोशी राजभण्डारीले मन्तव्य राखेका थिए। वडा सदस्य श्रद्धा थापाले कार्यक्रमको संयोजन गरेकी थिइन्। समाजका उपाध्यक्ष भानुप्रकाश जोशीले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष रामकुमार पाँडेले संस्थाका गतिविधिबारे प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन कवि सुषमा चित्रकारले गरेकी थिइन् ।
