• २०८३ आश्विन ३०, शुक्रबार

मित्रप्रसाद दाहालको ‘केतकी’ महाकाव्य लोकार्पण

बिर्तामोड ।

महाकाव्यकार मित्रप्रसाद दाहालद्वारा लिखित ‘केतकी’ महाकाव्य शनिबार लोकार्पण गरिएको छ । साहित्य चौतारी झापाका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता र अर्जुनधारा जलेश्वरधामका मूल अर्चक तथा उपवाचक पण्डित अग्निप्रसाद सिग्देलको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा महाकाव्य सार्वजनिक गरिएको हो । कार्यक्रममा अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि सिग्देल, महाकाव्यकार दाहाल, प्रकाशक निर्मल दाहाल र समीक्षक सूर्यप्रसाद अधिकारीलगायतले कृतिको साहित्यिक महत्त्व, विशेषता र नेपाली वाङ्मयमा यसको योगदानबारे चर्चा गरेका थिए ।

प्रमुख अतिथि सिग्देलले धर्म र साहित्य दुवैले मानव जीवनमा सद्भाव, करुणा, नैतिकता र मानवीय मूल्यको स्थापना गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे । यसै अवसरमा साहित्य चौतारी झापाले पितृ विसर्जन तथा दिवङ्गत स्रष्टाहरूको सम्मान कार्यक्रमअन्तर्गत स्वर्गीय साहित्यकार सरोज ओलीकी धर्मपत्नी निर्मला ओलीलाई नगदसहित सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार अनिरुद्ध ओली, संयोजक राजेन्द्र सङ्ग्रौला, शिरो सान्दाई, जयप्रसाद आचार्य, निकेश भट्टराई, दीपेश सुवेदी, विनोद खनाल, सुमित्रा महरात, इलामे जेठो, लीलाप्रसाद खतिवडा, लोकनाथ पौड्याल, कृष्ण सुवेदी ‘निरकम’, शोभा बिमली, कृष्णमाया बुढाथोकी, शान्तादेवी पौडेल, भवानीप्रसाद गौतम, टङ्क विकल्प, चित्रा पौड्याल, तीर्थ दाहाल, मुना दाहाल, विमान लामा तामाङ, शिवकुमार श्रेष्ठ र मीना अधिकारीलगायतको उपस्थिति थियो । साहित्य चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले सञ्चालन गरेको समारोहमा साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।