• २०८१ असोज २४ बिहीबार

राजाराम बर्तौलाको नियात्रा कृति ‘मेरा पाइला’ लोकार्पण

काठमाडौँ

राजधानीमा एक समारोहका बीच राजाराम बर्तौलाको नियात्रा सङ्ग्रह ‘मेरा पाइला’को वसुन्धरा- मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्री, साझाप्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेल र लेखक राजाराम बर्तौलाद्वारा संयुक्त रूपमा लोकार्पण गरिएको छ ।

कार्यक्रमका सभापति प्रदीप पोख्रेलले भन्नुभयो, ‘लेखकलाई मैले कृतिकारका रूपमा भन्दा पहिले निर्वाचन पर्यवेक्षण र अनुसन्धानका क्रममा चिनेको हुँ र यस कृतिले उहाँको परिचय अझ विस्तृत गरेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि प्रह्लाद पोख्रेलले कृतिकार राजाराम बर्तौलालाई शुभकामना दिँदै कार्यक्रमको गुणात्मकताले पनि कृतिको महत्वलाई प्रकाश पारेको बताउनु भयो । उहाँले साझा प्रकाशनको वर्तमान दयनीय अवस्थाको चित्रण गर्दै संस्थामाथि भरोसा गर्ने वातावरण बनाइँदै गरेको तथ्य माथि प्रकाश पार्नुभयो । नियात्रा सङ्ग्रहको लोकार्पणको सन्दर्भ पारेर उहाँले ‘यात्रा’ शीर्षक कविता पनि वाचन गर्नुभएको थियो ।

लोकार्पित कृतिको समीक्षा गर्दै समालोचक बद्री ढकालले भन्नुभयो, ‘यस कृतिमा लेखकले प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताका कुरालाई जोड्नुभएको छ । संस्कृति जोगाउन सके हामी बाँच्छौँ भन्ने सन्देश भित्री रूपमा दिनुभएको छ । विदेश भ्रमणमा जाँदा त्यहाँको चालचलन नजान्दाका पीडालाई पनि प्रस्तुत गर्नुभएको छ । यस कृतिबाट विभिन्न ठाउँका अभिवादन शैलीदेखि शिष्टाचारका कुरासम्म जोडिएको यो कृतिबाट पाठकले धेरै कुरा प्राप्तगर्न सक्छन् । समग्रमा कृति अत्यन्तै राम्रो छ ।’