समाचार
काठमाडौं ।
लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी अभियन्ता सुनिलबाबु पन्तद्वारा लिखित पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै वक्ताहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र सामाजिक स्वीकार्यताका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेतृ डा. विन्दा पाण्डेले नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित गर्न पन्तले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। संविधानसभामा उक्त समुदायको पहिचान र अधिकारका विषयमा भएका छलफल स्मरण गर्दै उनले पन्तको सक्रियताले संवैधानिक व्यवस्थाका लागि योगदान पु¥याएको उल्लेख गरिन् । संविधानमा पहिचान स्थापित भएपछि त्यससम्बन्धी विषयलाई आम नागरिकसम्म पु¥याउन पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गर्दै पाण्डेले नेपाली समाजमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्ता अध्ययन आवश्यक रहेको बताइन्। उनले पूर्वीय दर्शनमा उल्लेखित तेस्रो प्रकृतिसम्बन्धी अवधारणालाई सकारात्मक रूपमा बुझ्न र शिक्षामा नेपाली समाजका ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई समेट्नुपर्नेमा जोड दिइन् ।
लेखक पन्तले पुस्तकका कमीकमजोरीबारे पाठकबाट खुला प्रतिक्रिया र सुझावको अपेक्षा गरेको बताए। प्राप्त प्रतिक्रियाले आगामी संस्करणलाई परिष्कृत गर्न तथा नयाँ विषयमा लेखन अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो। उनले पुस्तक प्रकाशन गर्ने शिखा बुक्स, सम्पादनमा सहयोग गर्ने सुशील रिजाल तथा अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे। साथै, संविधानसभाका तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ र डा. विन्दा पाण्डेलगायतको सहयोगले समुदायको संवैधानिक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुगेको स्मरण गरे ।
पन्तका अनुसार पुस्तकले लैङ्गिकता, यौनिकता र मानव प्रकृतिसम्बन्धी विषय बुझ्न सहयोग गर्नेछ। शिक्षक, प्रशिक्षक, नीतिनिर्माता तथा आम पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको पुस्तकमा नेपाली समाजका देवीदेवता, पुराण, चाडपर्व र ऐतिहासिक पात्रलाई महिला अधिकार तथा मानव विकासका दृष्टिले अध्ययन गर्नुपर्ने विषयसमेत उठाइएको छ । पश्चिमी दर्शन र सिद्धान्तको अध्ययनसँगै नेपाली समाजका ऐतिहासिक तथा सांस्कृतिक योगदानलाई पनि महत्त्व दिनुपर्ने उनको धारणा छ ।
पन्तले ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ शीर्षकको वृत्तचित्र निर्माण गरिसकेको जानकारी दिँदै मातृसांस्कृतिक दृष्टिकोणबाट महिला, समाज र मानवतालाई बुझ्ने विषयमा अर्को पुस्तक ल्याउने तयारी रहेको बताए। पुस्तकको अंग्रेजी संस्करणसमेत तयार पार्ने योजना रहेको उल्लेख गर्दै उनले यसलाई लैङ्गिकता र यौनिकतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका लागि उपयोगी स्रोतका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
