काठमाडौं ।
समाजसेवी तथा राजनीतिज्ञ कर्मयोगी रत्नप्रसाद खरेलको जीवनवृत्त कृति ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कर्मयोगी रत्नप्रसादका मित्र तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले कृति सार्वजनिक गरे । कृति सार्वजनिक गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले रत्नप्रसाद खरेल दोस्रो चाणक्य भएको उल्लेख गरे ।
उनले भने, “सामाजिक तथा शैक्षिक विकासमा जीवनपर्यन्त क्रियाशील खरेलले तत्कालीन समयमा पञ्ञ्चायतलाई स्वाहा पार्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको सोच नै सर्वजन सुखाय, सर्वजन हिताय भन्ने थियो ।“ रत्नप्रसादसँगै १७ महिना जेल जीवन बिताएका भण्डारीले उनी महान कर्मयोगी भएको उल्लेख गरे । प्रा.डा. जयराज आचार्यले तत्कालीन समयमा राष्ट्रिय पञ्चायतमा रत्नप्रसाद एक्लो प्रतिपक्षीका रूपमा रहेको बताए । खरेल त्यो समयमा पनि खरो अभिव्यक्ति दिने राजनेता भएको उनले उल्लेख गरे ।
खरेलका भतिजा साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलले काकासँगको सम्बन्धबारे चर्चा गर्दै उनको जनसमर्थन व्यापक रहेको बताए । क्रान्तिकारी स्वभावका रत्नप्रसाद खरेलका कुरा त्यस भेगका मानिसका लागि मान्य हुने उनले बताए । डा. प्रकाशचन्द्र लोहनीले रत्नप्रसादसँगका केही सन्दर्भहरूको चर्चा गर्दै त्यो समयमा पनि उनले ‘राजदरबारले व्यापार गर्न हुँदैन’ जस्ता खरो मन्तव्य राख्ने गरेको बताए । रत्नप्रसाद कुशल वक्ता मात्रै नभएर जनताका पक्षमा बोल्ने राजनेता भएको बताए ।
कार्यक्रममा प्रकाशन संस्था लेखन कुञ्जका अध्यक्ष कमल ढकालले कर्मले बनाएको किताब आज सार्वजनिक भएको बताए । कृतिकी सम्पादक तथा रत्नप्रसादकी माहिली सुपुत्री डा. रमा खरेलले बुबा राष्ट्रिय पञ्चायत सदस्यमात्र नभई पाँच महिना मन्त्रीसमेत भएको चर्चा गर्दै पिताजी स्वाभिमानी भएको उल्लेख गरिन् । वि.सं. १९८१मा जन्मिएका रत्नप्रसाद खरेलको निधन २०३३ सालमा भएको थियो । आज निधनको ४८ वर्षपछि भए पनि पुस्तक प्रकाशित हुनु राम्रो काम भएको वक्ताहरूले बताए ।
खरेल पत्नी शिला खरेलले १० लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरेर विविध क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कारको व्यवस्थासमेत गरिने बताइन् । कार्यक्रममा डा. राम थपलिया, गंगाप्रसाद उप्रेती तथा रोशनी खरेलले पनि बोलेका थिए ।