• २०८१ चैत १२ बुधबार

एकलव्यको देशमा

कैलाश पाण्डे

कैलाश पाण्डे

हरेक दिन
शिष्यको बूढीऔँला काटिन्छ
गुरु क्रुर बन्दै गरु दक्षिणा माग्छन्
ब्रह्मा, विष्णु, महेश भनिएका गुरु
पूर्वाग्रही र स्वार्थी बन्छन्
गुरुको हेर्ने नजर
दिने शिक्षा
बोल्ने भाषा
माग्ने दक्षिणा
शिष्यपिच्छै फरकफरक हुन्छन्
एकलव्यको देशमा

अन्धा शासक रहेका छन्
जहाँ न्याय पनि अन्धो हुन्छ
द्रोणाचार्यहरू
अन्धाकै भाँती हरियो मात्र देख्छन्
सौर पराक्रमको शिरोच्छेदन गरी
शिर काटिएका मृत वर्वरिक मात्र
सत्य देख्छन्

छद्म रूपमा वीरताको
कुण्डल कवच खोसिन्छ
निरीह अभिमन्युमाथि एकहोरो खनिएको
अभद्र, क्रुरतालाई बहादुरी मानिन्छ
अधिकारलाई लाक्षागृहमा राखी
आगो लगाइन्छ
छल–कपटले सत्ताको पासा पल्टाइन्छ
कैयौंँ कन्याहरू
पटकपटक बलात्कृत हुन्छन्
पहिचान नपाएका सूतपुत्र जन्मिन्छन्
हरेकको हेराइमा छल छ
हरेकको बुझाइमा कपट छ
भावनामा स्वार्थ छ
हरेकको मनमा
दम्भ र अहंकार छ
एकलब्यको देश

जहाँदेखि स्वर्ग नजिक छ
हस्तिनापुर टाढा छ
जहाँदेखि गुरुकुल नजिक छ
गुरु टाढा छन्
जहाँ ध्वंस सजिलो छ
निर्माण कठिन छ
जहाँ भावनात्मक भक्ति काम गर्छ
स्थूल यथार्थ भत्काउँछ र
पौरखीको हात काटिन्छ
जहाँ नारायण भेट्न सजिलो छ
नर भेट्न गाह्रो छ
सत्ता, शक्ति, स्वार्थका लागि
मानवतालाई बन्धक राख्छन्
क्षमता भएका भीष्महरू
प्रतिज्ञाबद्ध अवाक् रहन्छन्
पुजनीय एकलव्य–चेतना
तिरष्कृत हुन्छ
दुर्योधन, दुःशासनको रजगज रहन्छ
निरन्तर विनाश हुन्छ, विनाश
कुरुक्षेत्रको रचना हुन्छ
यदुवंशीय विनाश हुन्छ
एक युगको अन्त्य हुन्छ
एकलब्यको देशमा ।


कैलाश पाण्डे