• २०८३ कार्तिक ९, आईतवार

डा. मधुराज केरुङको ‘अब तमोर रातो बग्छ’माथि समीक्षा

ताप्लेजुङ ।

गजलकार डा. मधुराज केरुङको गजलसङ्ग्रह ‘अब तमोर रातो बग्छ’माथि शुक्रबार ताप्लेजुङमा समीक्षा गरिएको छ । मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा रेडियो ताप्लेजुङको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकारहरूले कृतिको समीक्षा गर्नुका साथै गजल वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले कृतिकार केरुङको परिचय प्रस्तुत गर्दै उनी पाँचथर निवासी तथा पाँचथर बहुमुखी क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत रहेको जानकारी दिए। ११२ पृष्ठको सङ्ग्रहमा १०५ वटा गजल समेटिएका छन् । उनका अनुसार कृतिमा लोकछन्द तथा लिम्बू मुन्धुमी छन्दको प्रयोगसमेत गरिएको छ ।

वरिष्ठ साहित्यकार लेकाली कान्छा (मुक्कुम)ले केरुङका गजलमा लिम्बुवानी माटोको सुगन्ध, स्थानीय जीवनशैली, भाषा र सांस्कृतिक मौलिकता सशक्त रूपमा अभिव्यक्त भएको बताए। सहअस्तित्ववादी चेतना र स्थानीय पहिचानको कलात्मक प्रस्तुतिले उनका सिर्जनालाई विशिष्ट बनाएको उनको धारणा थियो । कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका सचिव शान्तिराम नेपालले सङ्ग्रहमा विद्रोह, सामाजिक जागरण, मानवीय मूल्यको क्षय, अन्याय, गरिबी तथा संस्कृति र संस्कारका विषय समेटिएको बताए। साहित्यकार होमनाथ दाहालले गजलमा लिम्बुवानी माटो र पहिचानका पक्षमा सशक्त आवाज उठाइएको उल्लेख गरे। अक्सफोर्ड आवासीय माध्यमिक विद्यालय, फुङ्लिङका प्रधानाध्यापक तिरेष कार्कीले कृतिमा शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयसमेत समेटिएको बताए । कार्यक्रमका सञ्चालक तथा प्रतिष्ठानका सचिव नवराज आचार्यले कृतिमा मौलिकता, पहिचान र कलात्मकताको संयोजन रहेको टिप्पणी गरे। समीक्षकहरूले सामाजिक विसङ्गतिमाथिको प्रहार, अन्यायविरुद्धको स्वर र सांस्कृतिक चेतनालाई सङ्ग्रहका महत्त्वपूर्ण पक्षका रूपमा औँल्याएका थिए ।

केरुङका यसअघि ‘फक्ताङलुङको फेदिबाट’ र ‘साम्याङ्फूड’ प्रकाशित छन्। ‘अब तमोर रातो बग्छ’ उनको तेस्रो गजलसङ्ग्रह हो। यसमा जीवनदर्शन, राजनीति, समाज, प्रणय तथा जीवन र जगत्का विविध विसङ्गतिसँग सम्बन्धित गजल समेटिएका छन् । कार्यक्रममा मणि सेम्बु, सीता पिरती, (स्काई) नवीन लाम्गादे, अनिशा वि.क., रीता घिमिरे ‘घायल’, आईतराज खजुम, तेज मैनाली र प्रशान्त लेखकले सङ्ग्रहभित्रका गजल वाचन गरेका थिए ।