समाचार
काठमाडौं ।
‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ यस वर्ष विकास प्रधान पत्रिकाका प्रधानसम्पादक तथा लेखक शरद पौडेललाई प्रदान गरिने भएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)बाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष पौडेललाई प्रदान गर्ने निर्णय भएको हो ।
उनले नेपालको विकास प्रक्रियामा म्यागेजिन पत्रिकाको माध्यमबाट विकासका बहुआयामिक विषयहरूमा आफ्ना लेखहरूमार्फत योगदान पु¥याउँदै आएका छन् । उनका तराई–मधेस विकास, दलित उत्थान लगायतका विषयमा अनुसन्धानात्मक पुस्तकहरू पनि प्रकाशित छन् । जनमुखी विकासका अभियन्ता पौडेल साहित्यमा समेत कलम चलाउँछन् । उनको ‘लिखे’ उपन्यास प्रकाशित छ ।
नेपानको ३२औँ वार्षिक साधारणसभाको अवसर पारेर आउँदो असोज २४ गते उक्त पुरस्कार प्रदान गरिने पुरस्कार संस्थापक चेतनाथ कणेलले जानकारी दिए ।अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना छोरा प्रसिद्धको असामयिक निधनपछि उनको स्मृतिमा उनका बुवाआमा डा. चेतनाथ कणेल र सीता भण्डारी कणेलले पुरस्कारको स्थापना गरेका हुन् ।
यसअघि पुरस्कार गम्भीरबहादुर हाडा, डा. मानबहादुर विश्वकर्मा, प्रा.डा. नरविक्रम थापा, डा. चण्डीप्रसाद चापागाईं, डा. अरुणा उप्रेती, सोमत घिमिर र सुलोचना मानन्धरलाई प्रदान गरिसकिएको छ ।
