समाचार
काठमाडौं ।
कवि तथा साहित्यकार राजेन्द्र शलभको नवीनतम काव्यकृति ‘अक्षर मनका’माथि चर्चा गर्दै ‘अक्षरसाँझ’ सम्पन्न भएको छ ।
शुक्रबार थापाथलीमा आयोजित कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठले आफ्ना कृतिको विमोचनमा खासै रुचि नराख्ने शलभलाई ‘अक्षरसाँझ’मा उभ्याउनु परेको प्रसंगको चर्चा गरे ।
कार्यक्रममा साहित्यकार वसन्त चौधरीले शलभको यो कविताकृति हातमा उचाल्दा ४० वर्ष पुरानो मित्रताको न्यानो अँगालोमा बाँधिएको सम्झना भएको बताए । उनले भने, “मित्रताको सुन्दरता नै यही हो ।” उनले शलभको सिर्जनशीलताका अनेक आयाम भएको उल्लेख गर्दै कृतिभित्रबाट ‘मौन’ शीर्षकको कविता वाचन गरे । साहित्यकार उषा शेरचनले ३० को दशकका कवि, कविता र तिनको आजको सक्रियताबारे चर्चा गर्दै पुराना दिनहरूको स्मरण गरिन् ।
कृतिमाथि विशेष चर्चा गर्दै डा. रजनी ढकालले ‘अक्षर मनका’मा समेटिएका कविताहरूको शक्ति, भाव र गहिराइ विशिष्ट रहेको बताइन् । डा. ढकालले भनिन्, “शलभ दाइको यस कृतिमा मनबाट समाजसम्म, समाजबाट चिन्तनको गहिराईसम्म पुगेका कविताहरू छन् ।” साहित्यकार अशेष मल्लले ल क्याम्पसको कोठामा कविता वाचन हुँदाको प्रसंग स्मरण गर्दै ‘आत्मबोध’ शीर्षकको कविता वाचन गरे । कवि शलभले आफ्ना तीन कविता वाचन गर्दै आफूले मनले कविता लेख्दै आएको बताए ।
एपेक नेपाल र साङ्ग्रिला मिडियाले आयोजना गरेको कार्यक्रममा कविहरू मञ्जिला अनिल, कमला रिसाल, एलिशा ढुंगाना, कल्पना काफ्ले, गीता कार्की, रञ्जना निरौला, यादव भट्टराई, रमण घिमिरे, रिता लम्साल र गणेशदेव पाण्डेले कृतिभित्रबाट कविता वाचन गरे ।
